News 24 Television
भावी प्रधानमन्त्रीको उम्मेदवारका एजेण्डा कस्ता ?

काठमाडौं । प्रतिनिधिसभा चुनाव आउन अब आठ दिन मात्रै बाँकी छ । उम्मेदवारहरु मतदाता रुझानमा व्यस्त छन् । निर्वाचन आयोगले फागुन १८ मध्यरातसम्म चुनावी प्रचारप्रसार गर्न समय दिएको छ । शहरका गल्ली र गाउँका बस्तीबस्तीमा भोट माग्न उम्मेदवारको हतारो छ ।  घोषणा तथा प्रतिवद्धता पत्रका साथ चुनावी मैदानमा होमिएका राजनीतिक दलले यसपटक प्रधानमन्त्रीका उम्मेदवार तोकेरै लागि परेका हुन् । यतिबेला प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारको एजेण्डा बहसको केन्द्र बनेको छ । 

नेपाली राजनीतिमा यसपटक चुनावमा होमिने राजनीतिक दलले केहि भिन्न अभ्यासको सुरुवात गरेका छन् । त्यो हो, चुनाव अघि नै भावी प्रधानमन्त्रीको घोषणा । सामान्यतया यो नेपाली राजनीतिमा नौलो अभ्यास हो । भदौ २३ र २४ को जेनजी आन्दोलनले ल्याएको परिवर्तनको उभारमा रुपमा लिनुपर्ने विश्लेषण भइरहेका छन् । 

प्रस्तावित प्रधानमन्त्री को को छन् ? 

–नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा

–नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली 

–नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल 

–रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाह

–श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क राज राई

चुनाव अगावै राजनीतिक दलले भावी प्रधानमन्त्रीको घोषणा गरिएपछि नागरिकले उनीहरुबीचको बहसको अपेक्षा गरेका थिए । तर रास्वपाका बालेन्द्रले अस्वीकार गरेपछि सामुहिक बहस हुन सकेन । यद्यपी चुनावअघि उनीहरुले प्रस्तुत गरेको चुनावी एजेण्डाबारे बहस चुलिएको छ । 

१. गगन कुमार थापा

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न चुनावमा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । काठमाडौँ ४ छाडेर मधेश ओर्लिएका थापाले प्रधानमन्त्री भएर देश चलाउन तयार रहेको दाबी गरिरहेका छन् । यसअघि स्वाथ्यमन्त्री भएर काम गर्दा रेकर्डधारी काम गरेको दाबी गर्ने सभापति थापाले मुलुकको विकास र निकासका लागि संस्थागत सुधारलाई मुख्य एजेण्डा बनाएका छन् ।

उसो त उनकै पालामा सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम यतिबेला अलपत्र अवस्थामा छ । तीन दर्जन बढि कानुन परिमार्जन नगरी मुलुक बन्न नसक्ने उनले मुख्य एजेण्डा बनाएका छन् । सार्वजनिक मञ्चमा बोल्दा उनले स्वास्थ्य र निजी क्षेत्रलाई पनि बढि महत्व दिने गरेका छन् । 

२. केपी शर्मा ओली 

तीन पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । उक्त क्षेत्र उनको किल्ला मानिन्छ तर यस्पटक उनलाई रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले चुनौती प्रस्तुत गरेका छन् । भावी प्रधानमन्त्रीका दावेदार ओलीले देश जलाउने र बनाउने विषयलाई मुख्य एजेण्डाका रुपमा अघि सारेका छन् । साथै, सार्वभौमसत्ताको रक्षा र डिजिटल सुधारलाई मुख्य एजेण्डा बनाएका छन् । उनले आफ्नो कार्यकालमा बाँकी रहेका काम पूरा गर्न पुनः एकपटक प्रधानमन्त्री हुनुपर्ने अड्डी कसेका छन् । 

३. पुष्पकमल दाहाल ‘प्रचण्ड’

तीन पटक प्रधानमन्त्री बनिसकेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्दैछन् । अन्य दल भन्दा अगावै घोषणापत्र सार्वजनिक गरेका प्रचण्डले भ्रष्ट्राचार नियन्त्रण र सुशासनलाई मुख्य एजेण्डा बनाएका छन् ।

पछिल्लो कार्यकालमा भ्रष्ट्राचार विरुद्ध निर्मम भएको दाबी गरिरहेका उनले संघीय गणतन्त्रको रक्षा र समावेशितालाई मुख्य प्राथमिकतामा राखेका छन् । नेकपाका संयोजक प्रचण्ड मुलुकमा समाजवाद स्थापना गर्न पुनः प्रधानमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन् । 

४. बालेन्द्र शाह ‘बालेन’

काठमाडौँ महानगरका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ मा एमाले अध्यक्ष ओली विरुद्ध चुनावी मैदानमा छन् । महानगरको मेयर हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाएका बालेन केहि हदसम्म सफल भएका उनका समर्थकको दाबी छ । भावी प्रधानमन्त्रीको स्वघोषित उम्मेदवार बालेनले शिक्षा, स्वास्थ्य, कृषी र पुर्वधारलाई मुख्य एजेण्डा बनाएका छन् । स्टक्चरल इन्जिनियर बालेनले भौतिक तथा पूर्वाधार सुधारमा बढि महत्व दिएका छन् । परिवर्तनको रापतापले ओली परास्त गर्ने संकल्प बोकेका बालेनले चुनावी सभामा जाँदा भाषण भन्दा पनि काम मागिरहेका छन् । 

५. हर्क राज राई 

धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई उर्फ हर्क साम्पाङ सुनसरी–१ बाट चुनाव लड्दैछन् । हर्कले श्रम संस्कृतिलाई जोड दिँदै आएका उनले प्रकृति प्रेमको मुद्दा अघि सारेका छन् ।  

जसलाई उनले हर्कवाद समेत भन्ने गरेका छन् ।  बोलेर भन्दा काम गरेर मुलुकको विकाश हुने दाबी गरिरहेका उनले बन, जंगल, माटो र श्रम जस्ता विषयलाई प्राथमिकतामा राखेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update