रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगातार निर्वाचित हुँदै आएको रौतहट–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । १८ दल र २१ स्वतन्त्र गरी ३९ जना प्रतिनिधि सभा सदस्य पदका लागी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनाव जितेका नेपालको यसपटक ४ जना निकटम प्रतिद्वन्दी रहेका छन् । मधेसी समुदायको मतदाताको बाहुल्य रहेको यो क्षेत्रमा रोचक भिडन्त छ भने कसले बाजी मार्छन् भन्ने आंकलन गर्नै कठिन छ ।
एक लाख आठ हजार ७२६ मतदाता रहेको रौतहटको क्षेत्र नं. १ मा १८ दल र २१ स्वतन्त्र गरी ३९ जना प्रतिनिधि सभा सदस्य पदका लागी प्रतिस्पर्धारत छन् । उम्मेदवारहरूले घरदैलो, कोणसभा र आमसभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् भने विशेषगरी रोजगारी, कृषि, सडक पूर्वाधार, शिक्षा स्वास्थ्यलाई नै मुख्य चुनावी एजेन्डा बनाइरहेका छन् ।
रौतहटको क्षेत्र नं. १ मा २०५६,२०७० र २०७९ मा विजयी भएका पूर्वप्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाललाई मधेशी दल त्यागेर कांग्रेसबाट उम्मेदवार बनेका पूर्वमन्त्री अनिल झा र एमाले उम्मेदवार पूर्वमेयर अजय गुप्ता, राजपा नेपालका योगेन्द्र यादव र रास्वपाका उम्मेदवार राजेश चौधरीले चुनावी ‘घेराबन्दी’ मा पारेका छन् । तर यस अघिको निर्वाचनमा ३३ हजार ५ सय २२ मत पाएका नेता नेपाल आफू पुनः जित्नेमा ढुक्क हुँदै घरदैलो र मतदाता भेटघाट अभियानलाई तिब्रता दिइरहेका छन् ।
क्षेत्र न. १ मा पर्ने गौर नगरपालिकामा माधब नेपाल नेतृत्वको तत्कालीन पार्टी एकीकृत समाजबादीबाट शम्भु साह निर्वाचित मेयर छन् भने राजदेबी नगरपालिकामा सोही पार्टीको भिखारी यादब मेयर छन् ।त्यसैगरि दुर्गाभगवति गाउँपालिकामा तत्कालीन नेकपा माओवादीको शम्भु सिंह गाउँपालिका अध्यक्ष छन् । यो पालिकाबाट आफुलाई राम्रो मत आउने आश नेता नेपालले गरेका छन् ।
आफु यस क्षेत्रको पुरानो अनुहार रहेको र आफुले गरेको बिकास र बदलिदो परिस्थितिमा जेनजीहरुबाट समेत ठूलो समर्थन भइरहेको नेता नेपालको दाबी छ ।
त्यस्तै एमालेका उम्मेदवार अजय गुप्ता गौर नगरपालिकाका पूर्वमेयर हुन् । विगतका निर्वाचनमा माधवकुमार नेपालसँग उनी दुईपटक झिनो मतले पराजित भएका थिए । नेता नेपालको निकटम प्रतीद्वन्दी मानिएका गुप्ताले गत चुनावमा २६ हजार ९ सय २२ मत पाएका थिए ।
आफुले निर्वाचन हार्दा पनि जनताका सुखदुःखमा साथ दिएको भन्दै ३० वर्ष देखी गरेको सेवाको ज्याला माग्दै गुप्ता चुनावमा होमिएका छन् । सहजै भेटघाट हुने, अहोरात्र पनि फोन उठाईदिने, बेलाबखत निस्वार्थ सहयोग गर्दै आएका कारण आफ्नो पक्षमा माहोल रहेको उनी दाबी गर्छन् ।
विगतमा भएका स–साना र छरपस्ट विकासका कामलाई मात्रै घिसार्दै चुनावी मैदानमा उत्रिनु माधव नेपालको राजनीतिक दिवासपना रहेको उनको टिप्पणी छ । नेपालको नाम जोडिएको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार आरोपलाई गुप्ताले चुनाबी एजेन्डा बनाएका छन् ।
अर्को तिर मधेशकेन्द्रित दलबाट लामो समय राजनिति गरेका अनिलकुमार झा यस पटक कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन । पुरानो पार्टी र मतबुद संगठन भएकोले नेता झालाई चुनावी रणनीति बनाउन सहज र सहयोग पुगेको धेरैको बुझाइ छ ।
नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री रहेका कृष्णप्रसाद यादव र रौतहट –१ “क“ बाट निर्वाचित प्रदेश सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नागेन्द्र साह , माधबनारायण नगपालिकाको मेयर बैजु यादव, गढिमाईका मेयर श्याम यादव काङ्ग्रेसबाट निर्वाचित भएकोले पनि झा आफ्नै जित हुनेमा निश्चिन्त देखिन्छन् । दुर्र्गा भगवतीका पुर्व अध्यक्ष अरुन साह, राजदेबी नगरपालिका पुर्वमेयर धिरेन्द्र साह, गौरबाट युवा नेता मोहन यादवको साथ पाएपछि झा झन शक्तिशाली उम्मेदवारको रुपमा मैदानमा देखिएका छन् ।
बरिस्ठ नेता बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि बढि रहेको रास्वपाले रौतहट –१ मा राजेश चौधरीलाई उम्मेदवार बनाएको छ । बालेनकै पोष्टरहरुको प्रयोग गर्दै रास्वपाले स्थानीय उम्मेदवारका लागी मत बटुल्ने प्रयास गरिरहेको छ । पुराना नेताहरुबाट आजित भएकाहरु परिवर्तनका लागी एकजुट हुने चौधरीको बुझाइ छ ।
रौतहट –१ मै मधेसी र मधेसको मुद्दा उठाउदै आएका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादव पनि अर्का प्रतिस्पर्धीका रूपमा खडा भएका छन । यादव मधेश प्रदेशसभामा राज्यमन्त्रीका रूपमा रहेर काम गरिसकेका व्यक्ति हुन । मधेशकेन्द्रित दलको विद्यार्थी नेताकै रूपमा राजनीति सुरु गरेका यादवले जातीय मतलाई पनि जितको आधार मानेका छन् ।
रौतहटमा राप्रपाले मदन साह, जनमतले देवेन्द्र मिश्र, नेपाल मजदुर किसान पार्टीले वैद्यनाथप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले राजाराम मुखिया, जय मातृभूमि पार्टीले रञ्जित कुमार पटेललाई चुनावी प्रतिष्पर्धामा उतारेको छ । त्यसका अतिरिक्त राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट मोहम्मद तनवीर अख्तर मिकरानी, राष्ट्र निर्माण दल नेपालाट प्रभाकुमारी सिंह, आम जनता पार्टीबाट त्रिभुवन साह, जनअधिकार पार्टीका तर्फबाट संजयकुमार यादव चुनावी मैदानमा छन् ।
