News 24 Television
संसद छिने तरखरमा जेनजी, कोही पर्ख र हेरको स्थितिमा

काठमाडौं । भदौं २३ र २४ गतेको आन्दोलनमा फरक फरक समुह बनाएर जेनजीहरु सडकमा आएका थिए । मुलुकमा ब्याप्त भष्ट्राचारको बिरोध गर्दै  सुशासन कायम हुनु पर्ने उनीहरुको माग थियो ।

ओली नेतृत्वको सरकार ढाल्ने देखि आजको दिन सम्म आउँदा आन्दोलनमा एक भएको जेनजी समुह टुक्रा टुक्रामा विभाजन भएको छ । केही निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भन्दै चुनावी मैदानमा छन् भने केही अझै सडकमा छन् । 

भदौं २३ गते सडकमा भष्ट्राचारको बिरोध गर्दै सुशासनको माग राखेको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारको घुडाँ टेकायो । आन्दोलनबाट मानवीय क्षति मात्रै भएन, मुलुक भित्र रहेका ऐतिहासिक संरचनाहरुमा समेत क्षति पुग्यो ।

जेनजी आन्दोलनयता नेपाली राजनीतिकमा निकै फरक दृश्यहरु देखिएका छन् । पुराना राजनीतिक दलहरुप्रति वितृष्णा र आक्षेप बढ्दो क्रममा छ । जेनजी आन्दोलनपछिमो मानवीय र भौतिक क्षतिको केन्द्रमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली छन् । 

शान्तिपुर्ण भनिएको जेनजी आन्दोलन कसरी सरकार ढाल्ने र विध्वंस मच्याउने स्थितिमा पुग्यो भनेर गरिने प्रश्न र आशंकाहरु स्थापित हुनै सकिरहेका छैनन् । आन्दोलनका बेलामा एक भएका जेनजीहरु समेत अहिले फरक धारणा राख्दै विभाजित बनेका छन् । 

अब के ? 

यही विषम परिस्थितिका बीच संसद विघटन गर्दै बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराउँदैछ । निर्वाचनले नयाँ म्याण्डेटबाट विवाद समाधान गर्दै मुलुकलाई नयाँ बाटोमा लैजाने भन्द झन धेरै द्वन्द्वतर्फ धकेल्दैछ भनेर विभिन्न कोणहरुबाट समेत आशंका भइरहेका छन्। 

निर्वाचनलाई लिएर जेनजीहरु नै एकमत छैनन् । जेनजी आन्दोलनको म्याण्डेट एक प्रतिशत पनि पुरा नभएको भन्दै जेनजी समूह असन्तुष्ट देखिन्छन् भने आफुहरुको आन्दोलन हाइज्याक भएको आरोप पनि उनीहरु विभिन्न सार्वजनिक मञ्चहरुमा लगाइरहेका हुन्छन् । 

रक्षा बम लगाएतको जेनजी समुह अहिले राजनीतिक घटनाक्रमहरु नियाली रहेको देखिन्छ भने मिराज ढुङ्गाना सहितको समुह सरकार र निर्वाचनको बिरोध गरिरहेको छ ।  

त्यस्तै घाइते भएका केही जेनजीहरु माइतीघर मण्डलामा निर्वाचनका लागि आन्दोलन भएको होइन भन्दै अड्डी कसिरहेको पनि देखिन्छ । 

जेनजी को कता ? 

फरक फरक ब्याख्या र बुझाई सहित अलमलमा रहेको जेनजीहरुमध्ये कतिपय चुनावी मैदानमा उम्मेदवार बनेर प्रतिष्पर्धा गरिरहेका छन् । जेनजी समुहका मुख्य नेताको प्रतिनिधि बनेका बालेन शाह रास्वपाबाट झापा ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै छन् भने अर्का नेता सुदन गुरुङ गोर्खा एकमा रास्वपाबाटै मैदानमा उत्रिएका छन् । जेन्जी आन्दोलनका घाइतेहरुलाई सहयोग गरेर चर्चामा आएकी आशिका तामाङ धादिङबाट निर्वाचनमा छिन् । 

खेलकुदमन्त्री भएका बब्लु गुप्ता सहित धेरै नेताहरु अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । यसरी एउटा समूह निर्वाचनमामा होमिदा धेरै जेनजीहरु फरक कित्तामा छन् । 

रक्षा बम, भावना राउत लगायतका जेनजीहरु विकसित राजनीतक घटनाअनुसार प्रतिक्रिया दिदै बसेका छन् । निर्वाचनपछि मुलुकका समस्याहरु समाधान गर्न संविधान संशोधन गर्नु पर्ने तर्कहरु पनि सतहमा छन् । यद्यपी दलहरुका एजेण्डामा यो विषयले प्रवेश पाएको देखिदैन । संविधान संशोधन गर्न नसके संविधान नै धरापमा पर्ने नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे बताउँछन् । 

यसैबीच बीबीसीले सार्वजनिक गरेको जेनजी आन्दोलन सम्बन्धी वृत्तचित्रले नेपालको राजनीतिको रापताप झनै बढाइदिएको छ । बृत्तचित्रले सार्वजनिक गरेको विषयले तत्कालिन सरकार प्रमुख केपी शर्मा ओली थप दबाबमा परेका छन् भने कार्की आयोगले कस्तो प्रतिवेदन बुझाउँछ भन्ने आशंका समेत बढेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update