News 24 Television
चुनावी सभा कि घोचपेच सभा ? रविको चर्चा गर्दा अन्य उम्मेदवारबारे मौनता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा चुनावी सभा सम्पन्न ग¥यो । चितवनलाई केन्द्रमा राख्दै रास्वपाले आयोजना गरेको चुनावी सभा रविमय बन्न पुग्यो । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा किन रबिलाई केन्द्रमा राख्दै नेताहरुले मत मागे ? के रविको प्रभाव कमजोर बनेका कारण यस्तो बन्न पुगेको हो ? विपक्षीमाथि घोचपेचमै सकिएको सभामा रास्वपाले आफूलाई अब्बल सावित गर्ने प्रयास भने जारी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा चुनावी सभा सम्पन्न गरेको छ । सभामा नेताहरुले गरेको सम्बोधनले घोचपेचसभामा परिणत भएको रास्वपाको चुनावी सभामा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापाविरुद्ध आक्रोश पोखे । आफुलाई अत्यधिक मत दिनुपर्ने दाबी गरेका रविले गगनलाई प्रमाण खोई भन्दै प्रश्न गरे । 

रविले  घोचपेच गर्दै राष्ट्रिय राजनीतिमा रास्वपाको उल्लेख्य प्रसंसा गरेपनि वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’ले देश हेटौडा सिमेन्ट उद्योग जस्तो बन्न पुगेको भन्दै कांग्रेसमाथि कटाक्ष गरे । कांग्रेसको वाइवाइ भन्दै डलर अर्बपति विनोद चौधरीमाथि आक्षेप लगाएका बालेनले चितवन निर्माणको खाका पनि पेश गरे। 

यस्तै, चुनावीसभालाई सम्बोधन गरेका उपसभापति डा स्वर्णिम वाग्लेले पनि पुराना राजनीतिक दलप्रति आक्रोशको स्वरलाई नै प्राथमिकता दिए । लामो समय कांग्रेसमा रहेर सत्ताको स्वाद लिएका स्वर्णिमले पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाए ।

नेताहरुले चितवनमा पुगेर रास्वपाका अन्य उम्मेदवारकोबारेमा भने खास प्रचार गरेनन् । रविलाई अंगालो मारेका बालेनले सामान्य प्रसंसा गरेपनि रवि केन्द्रित बन्न पुगेको रास्वपाको चुनावी सभाले आक्रोश र घोचपेचभन्दा धेरै कुरामा ध्यान भने दिएको देखिन्न । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update