News 24 Television
देउवा देखाउदै भ्रष्टाचार रोक्ने गगनको अस्त्रले काम गर्ला ?

काठमाडौं । भ्रष्टाचार सहनै नसक्ने दाबी गर्दै आएका कांग्रेस सभापति गगन थापाले टिकट वितरणमा देखाएको व्यवहारले संसय पैदा गरिदिएको छ । 

गगनले नवलपरासी २ मा वितरण गरेको टिकटकै कारण तनाव उत्कर्षमा पुगेको हो । गगनले पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र थापालाई थमाएको टिकटमा पहिले पुग्नेले बाजी मारेपछि यो गगनको उद्देश्यमाथि नै प्रश्न गर्न थालिएको छ । 

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालबाट विष वमन रोक्ने प्रयासमा आफू जुटेको दाबी गर्दै भ्रष्टाचारको अन्त्य गर्ने खाका पेश गर्ने गरेका छन् । 

भ्रष्टाचारको छानविनको प्रसंगमा गगनले कांग्रेसको सरकार बनेको पहिलो दिन नै निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविनबाट काम थाल्ने जिकिर गरे । 

गगनले यस्तो दाबी गर्नुमा राजनीतिक वा भ्रष्टाचार अन्त्यको उद्देश्य छ भन्ने कुरा भने समयक्रमसंगै खुल्नेछ । तर, कपिलवस्तु २ मा गगनले भ्रष्टाचार अन्त्यको निशानामा देउवालाई उभ्याउदै गर्दा न्यायको अनुभूति हुने गरि काम गर्न सकेको भने देखिन्न । जसमा, आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी– २ बाट नेपाली कांग्रेसको उम्मेदवार छन्, विवादीत ब्यापारी भरत भनेर चिनिने भिम बहादुर थापा ।

थापाको उम्मेदवारीलाई राष्ट्रिय वन अतिक्रमण र करोडौँको भ्रष्टाचार मुद्दामा अदालत धाइरहेका व्यक्तिलाई ‘आर्थिक प्रभाव’ का आधारमा उम्मेदवार कांग्रेसको इतिहासकै ‘ठुलो बेइज्जती’ र ‘नैतिक पतन’ को रूपमा व्याख्या गर्न थालिएको छ । भ्रष्टाचार र वन अतिक्रमणका मुद्दा खेपिरहेका थापा उम्मेदवार  बनेपछि नेपाली कांग्रेस र गगन थापाको अभिव्यक्तिमाथिको प्रश्न अझ रोचक बन्दै गएको छ ।

’निलम्बित’ विगत र भ्रष्टाचारको दाग

थापाको पृष्ठभूमि राजनीतिक भन्दा बढी विवादास्पद छ । यसअघि सुनवल नगरपालिकाको नगर प्रमुख हुँदा कार्यकालको एक वर्ष वाँकी हुदा उनी भ्रष्टाचार मुद्दामा निलम्बन परेका थिए । 

सार्वजनिक पदमा रहँदा अख्तियारको फन्दामा परेर निलम्बन भोगिसकेका पात्रलाई पुनः नीति निर्माण गर्ने सर्वोच्च निकाय ’संसद’मा पठाउन खोज्नुले कांग्रेस नेतृत्वको नैतिकतामाथि ठुलो प्रश्न उठाएको छ ।

प्राकृतिक स्रोतको दोहनः ५ वर्ष कैद सजायको व्यवस्था

थापामाथि पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित राष्ट्रिय वन क्षेत्र विना इजाजत अतिक्रमण गरेको र अवैध रूपमा ढुङ्गा–गिट्टी उत्खनन गरेको गम्भीर अभियोग छ । 

पाल्पा जिल्ला अदालतमा थापा र उनका साझेदार गोपाल प्रसाद भट्टराईसहित ६ जनाविरुद्ध मुद्धा चलिरहेको छ । वन ऐनअनुसार राष्ट्रिय वन विनाश गरेको ठहर भएमा ५ वर्षसम्म कैद र भारी जरिवाना हुने प्रावधान छ । 

यस्तो स्थितिमा १५ लाख धरौटी तिरेर रिहा भएका थापाले सफाई पाउलान वा नपाउलान तर, सुशासनको प्रत्याभूति दिलाउने पार्टीले रोज्ने पात्रै यस्तै हुन्छन ? गगनमाथि प्रश्न तेर्सिएको छ । थापा र  भट्टराई  कन्चन क्वेरिज प्रा.लीका शेयर धनी हुन् ।  

अख्तियारको मुद्दा र सर्वोच्चमा सुनुवाइ

वन मुद्दा बाहेक थापामाथि तिनाउमै अवैध खानी उत्खनन गरी राज्यको सम्पत्ति हानी–नोक्सानी गरेको अर्को गम्भीर भ्रष्टाचार मुद्दा समेत छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई दोषी ठहर गर्दै मुद्दा दायर गरेपछि विशेष अदालत हुँदै उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । 

राज्यको करोडौँको सम्पत्ति दोहन गरेको आरोप लागेका व्यक्तिले संसद छिर्ने महत्वकांक्षा राख्नुले नैतिकताको प्रश्न खडा गरेको छ। उसोतः गगनले यो निर्वाचन क्षेत्रमा पूर्वगृहमन्त्री देवेन्द्रराज कंडेललाई पनि टिकट दिएका थिए । तर, थापाको उम्मेदवारीलाई नै आयोगले वैधता दिएपछि यो विषयले कांग्रेसमा तरंग नै पैदा गरिदिएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update