काठमाडौं । फागुन २१ को चुनाव नजिकिँदा राजनीतिक दलहरु मतदाता रुझानमा व्यस्त छन् । भौगालिक र विकासका हिसावले दुर्गम मानिएको कर्णालीमा पनि चुनावी रौनकता बढेको छ ।
राजनीतिक दलहरुले गोष्ठी, भेला, सभा र सम्मलेनमार्फत् मत मागिरेहका छन् । प्रदेश राजधानी सुर्खेेतलाई केन्द्रविन्दु बनाएका दलहरुले चुनावी सभामार्फत् कर्णाली अव दुर नहुने दाबी गरेका छन् । तर विडम्बना राजनीतिक दलहरुले कर्णालीलाई अहिलेसम्म भोट बंैकका रुपमा मात्रै प्रयोग गरेको दृष्टान्त छ ।
भौगोलिक रुपमा विकट तर प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण प्रदेश हो, कर्णाली । रारा ताल, कर्णाली नदि र काक्रेविहार मन्दिर अनि जुम्ला सभ्यताले कर्णाली प्रदेश अलौकिक मानिन्छ ।
१० जिल्लामा १२ वटा निर्वाचन रहेको यस प्रदेशमा आसन्न फागुन २१ को चुनावका लागि ३ सय ३४ उम्मेदवारी परेको छ ।
चुनाव आउन एकसाता भन्दा कम समय बाँकी हुँदा नेपाली कांग्रेस र रास्वपाले प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगरमा ठुला चुनावी सभाको आयोजना गरेका छन् । कांग्रेस र रास्वपाको सभामा मतदाताको बाक्लो सहभागिता पनि देखिन्थ्यो ।
संघीय राजधानी काठमाडौँबाट दुर रहेको कर्णालीमा विकास र निकासको मुल जुन तहसम्म फुट्न पर्ने हो त्यो तहसम्म देखिएको छैन । अहिलेपनि राष्ट्रिय राजनीतिको लिक भन्दा बाहिर रहेको कर्णालीमा गगन र बालेनको नजर परेको छ । के अव कर्णालीले मुहार फेर्ला चिन्ता र चासो बढेको छ ।
रास्वपाको सभा र कांग्रेसको सभा
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा चुनावको मुखमा नेपाली कांग्रेस र रास्वपाले ठुला सभा गरेका छन् । कांग्रेसले सभापति गगन थापाको उपस्थितिमा फागुन १४ अर्थात् विहिबार ठूलो सभा आयोजना ग¥यो ।
जहाँ हजारौँ नागरिकको सहभागिता देखिन्थ्यो । अर्काेतर्फ रास्वपाले फागुन ७ गते सुर्खेतबाटै चुनावी बाचापत्र सार्वजनिक गरेको थियो । सभापति रवि लामिछातने सहित उपस्थिति भएका रास्वपा प्रस्तावित भावि प्रधानमन्त्री बालेन शाहले कर्णाली जनतालाई थुप्रै आश्वासन दिएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीका मतदाताले सुन्नेगरी प्रदेश राजधानी सुर्खेतमा भएको सभामा आर्थिक उन्नती र विकासका बारे आश्वासन दिएका छन् । विहिबार सुर्खेतको विरेन्द्रनगरस्थित घण्टाघरमा भएको चुनावी सभालाई सम्बोधन गरेको गगनले कर्णाली बारे उठाएका मुख्य विषयहरु यस्ता छन् ।
–४० प्रतिशत गरिबीको अन्त्य गर्ने
–गरिबी र व्यरोजगारीको अन्त्य
–बालबालिका र बृद्धाबृद्धको स्वास्थ्य समस्या समाधान
–बार्षिक आय सुधार गर्नुपर्ने
–बजेटमा बृद्धि गर्दै करका दायर बढाउने
–संविधान, कानुन फेरबदली गरी कर्णाली प्रदेश समृद्ध बनाउन सकिने
–बजेट कार्यान्वयनको समस्या हटाउने
कर्णालीका सुइना हाम्रा सुइना भन्ने नारा सहित फागनु ७ गते सुर्खेतमा बाचापत्र सार्वजनिक सभामा सम्बोधन गरेका बालेनले कर्णालीको प्राकृतिक र सांस्कृतिक विषयमा जोड दिएका छन् ।
बालेनले सिंजा सभ्यता देखि भौगोलिक विकटताको विषयमा आश्वासन दिएका छन् । उनले रारा ताललाई स्वर्गकी अप्सराका रुपमा चित्रण गरेका छन् । कर्णाली उकास्न बालेनका यस्ता योजनाहरु छन् ।
–डोल्पाको सुन जस्तो मानिने यार्सागुम्बा विश्वभरी पु¥याउने
–कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पु¥याउने
–उत्पादनलाई देशभरी पु¥याउने
–नेपाली तथा खस भासाको उद्घस्थल र सभ्यता जोगाउने
–सामाजिक, सांस्कृतिक र अभौतिक सभ्यताको जर्गेर्ना गर्ने
–भोकमरीको अन्त्य गर्ने
–पर्यटन र कृषि पर्यटकीय हब बनाउने सकिने
यस्तै, नदि नाला र प्राकृतिक स्रोतको समुचित प्रयोग गर्ने विश्वास उनले कर्णालीबासीलाई दिएका छन् । कर्णालीको मुख्य समस्या मध्ये एक मृत्यु मार्ग बनेको कर्णाली राजमार्गको सुधार कसरी होला भन्ने प्रश्न पनि पचिलो बनेको छ । तर राजनीतिक दलहरुले कोरा घोषणापत्रमा मात्रै समेट्ने गरेका छन् । त्यसलाई कार्यन्वयन शुन्य प्राय हुने गरेको छ ।
यसपाली बालेन र गगनका अलवा नेपाली कम्युनिष्ट पार्टी सहितका अन्य दलले पनि कर्णालीलाई गरिबी र व्यरोजगारीको अन्त्यदेखि भौगोलिक विकटताको अन्त्य गर्ने बाचा गरेका छन् । यस्तो अवस्थामा चुनाव ताका भोट बंैकका रुपमा प्रयोग हुने कर्णालीबासीले यसपटक कस्तो डेलिभरी पाउँछन् त्यो भने हेर्न बाकी छ ।
