News 24 Television
गगन–बालेनको क्रेजले मधेसवादी दल दबाबमा, मधेसमा के होला ?

काठमाडौं । धेरै मतदाता रहेको मधेश प्रदेशले कस्तो चुनावी परिणाम देला ? धेरैले चासो राखेका छन् । प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति गगन थापादेखि मधेसमा जन्मिएका बालेन्द्र साहसमेत त्यहि क्षेत्रमा ब्राण्डिङ गर्ने पात्रमा पर्छन् ।

यस्तोमा लामो समयदेखि वर्चस्व कायम गरेका मधेस केन्द्रित दलहरुको अवस्था कस्तो बन्ला ? के उनीहरु पहिले जसरी नै बलिया शक्तिको रुपमा आउलान ? चासो छ । 

मधेसको राजनीतिमा दुई कुराहरु जबरजस्त बढ्न थालेका छन्, ती विषयमा छन– बालेन्द्र साह ’बालेन’ र गगन थापा । रास्वपाका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएको छ । 

बालेन महोत्तरीमा जन्मिएको र मधेसी छोरा भएको भन्दै चर्को प्रचार गरिदैछ । यता, कांग्रेसले पनि गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै बलियो उपस्थिति जानउने गरि प्रचार गरिरहेको छ ।

यस्ता कारण पनि बालेन र गगनको पक्षमा मधेशमा देखिएको लहरले मधेशलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका मधेश केन्द्रीत दलहरु दबाबमा परेका छन् । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी एकीकरण गरी जसपा नेपालको ‘छाता’ चुनाव चिह्न लिएर मैदानमा आएका छन् । 

विगतमा मधेशमा मधेशी मुद्धा उठाएर स्थापित भए पनि उनीहरुलाई यो निर्वाचनमा विगतकै जस्तो सफलता प्राप्त गर्न धौं–धौं पर्ने बताइन्छ । 

बालेन साह र गगन नै मधेशमा झरेपछि मधेश केन्द्रीत दलहरुले आफ्नो अस्तित्व नै समाप्त हुने डरले एकाएक निर्वाचनलाई केन्द्रमा नै राखेर गठबन्धन गरेको देखिन्छ । तर केही समय अगाडी जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले आफुहरुमा डर नभएको प्रतिक्रिया दिएका थिए ।

महन्थ ठाकुर जसपाबाट राष्ट्रियसभा निर्वाचित भएपछि ठाकुरले निर्वाचन लड्ने निर्वाचन क्षेत्रमा उनकी छोरी डा. मिनाक्षी ठाकुर उम्मेदवार बनेकी थिइन् । त्यहाँ उनलाई पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न निकै मेहन गर्नु पर्ने बताइन्छ । 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचनमा एक्लै होमिएको छ । उनको पार्टीमा केही समय अगाडी आएको फुट र बालेन र गगनको नाराले असर गर्न सक्ने बताइन्छ । राउतसंग उपेन्द्र यादव नेतृत्वको पार्टी छाडेर स्वाभिमान पार्टीबाट उम्मेदवार रहेका सतिशकुमार सिंह र विगतमा जनमतमा नै रहेका तर अहिले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार रहेका अनिश अन्सारी पनि निर्वाचन चुनावी मैदानमा छन् । 

यता सीके रावतले भने निर्वाचन प्रचारप्रसारका क्रममा आफुलाई बिकाश केन्द्रीत नेताको रुपमा उभ्याउँदै मोट मागि रहेको देखिन्छ । 

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, रेशम चौधरी संरक्षक रहेको राष्ट्रिय नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, उपेन्द्र यादवबाट छुट्टीएर बनेको जनता समाजवादी पाटीले संयुक्त चुनाव चिह्न जाँतो लिएर चुनावी मैदानमा छन् । तर उनीहरु पनि यो निर्वाचनमा चर्चामा देखिएका छैनन् । 

२०७९ सालको निर्वाचनमा प्रत्यक्षमा मधेशकेन्द्रित दलहरू जनता समाजवादी पार्टी नेपालले ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सीटमा जित निकालेका थिए । तर, यो निर्वाचनमा कति सिटमा जित निकाल्छन् भन्न सकिने स्थिति नै छैन । मधेश केन्द्रीत दलहरु निर्वाचनका बेला एक हुने तर केही समयमा नै  विभाजन आउने गरेका कारण यो निर्वाचनमा जनताको विश्वास जित्न उनीहरुलाई सजिलो नभएको विश्लेषण हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update