काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रोल्पामा चुनावी सभा ग¥यो । सम्भवतः नेकपाको यो नै अन्तिम सभा हुनेछ । रोल्पामा पुगेर नेकपा संयोजक प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरादेखि झक्कु सुवेदीले वर्षमान पुनका लागि मतमात्रै मागेनन्, उनीहरुले देश विकासको मोडेल रोल्पाबाट हुने आश्वासन समेत बाँडे ।
आसन्न प्रतिनिधिसभा निर्वाचन सम्मुखमै छ । उम्मेदवारहरुले मत माग्नेदेखि शीर्ष नेतालाई उतारेर मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् । तर, पहिलेजस्तो ठूलो आमसभाको आयोजना भने यो चुनावमा देखिएन् ।
घरदैलोमै केन्द्रित मतमाग्ने प्रचलन सामाजिक सञ्जालमा पनि उत्तिकै पेचिलो स्थितिमा देखा पर्दा नेकपाले रोल्पामा चुनावी सभा आयोजना गर्दै देश निर्माणको खाका पेश गर्ने उदाहरणको रुपमा रोल्पा उभिने दाबी गरेको छ ।
नेकपाका नेता समेत रहेका पुन रोल्पाबाट निर्वाचित हुँदै आएका छन् । जित निकाल्दै आएका पुनलाई प्रचण्डसहितका नेताहरुले आमसभा नै आयोजना गरेर मत माग्ने स्थिति बन्न पुग्नु आफैमा महत्वको विषय बन्न पुगेको देखिन्छ ।
यस्तोमा पुनको पक्षमा मत माग्न उभिएका पूर्वसभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले पनि जनतालाई विभिन्न आश्वासन दिए ।
पुन, महरा र सुवेदी रोल्पाली नेताहरु हुन् । यसअघिका चुनावमा महरा दाङबाट निर्वाचित हुँदै सभामुख बनेका थिए भने सुवेदी काठमाडौंमा प्रतिनिधिसभाको चुनावमा पराजित बन्न पुगेका थिए ।
अहिले महरा चुनावी दौडमा छैनन भने सुवेदी राष्ट्रियसभा सदस्य छन् । शीर्ष नेताहरुले वर्षमानको पक्षमा मत माग्दै गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले पनि रोल्पाको महत्वमाथि अनेक अभिव्यक्ति दिए । हतियार नभई मतपत्रको तागत लिएर सिंहदरबार छिरेर नयाँ अभियान चलाउने प्रचण्डको दाबी छ ।
वर्षमान प्रचण्डसंग निकटमा रहेर काम गर्ने नेतामा पर्छन् । उसोतः माओवादी जनयुद्ध समेत रोल्पाले अग्रणी भूमिका निर्वाह गरेको देखिन्छ । यस्तोमा रोल्पामा नेकपाले आफ्नो जितलाई सुनिश्वित पार्न शक्ति केन्द्र नै केन्द्रित गरेको छ । तर, वर्षमानको पक्षमा मत खस्ला ? यो विषय भने निर्वाचनपछि नै थाहा हुनेछ ।
