News 24 Television
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा

भैरहवा । फागुन २१ नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर शान्तिभूमि लुम्बिनी रहेको रुपन्देही–५ मा उम्मेदवारहरुले आफ्नो प्रभाव बढाउँदै लगिरहेका छन् । विगतमा काँग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक रास्वपाले चुनौती दिइरहेको छ । 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले रुपन्देहीको माहोल पनि गर्माएको छ । रुपन्देहीको सबै निर्वाचन क्षेत्रमा जस्तै रुपन्देही ५ मा झण्डै तीन दशकदेखि उम्मेदवार रहँदै आएका नेपाली कांग्रेसका भरतकुमार शाह, नेकपा एमालेका खिमलाल भट्टराई, नेकपाका मोहम्मद वकिल मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान, जनमत पार्टीका ओमप्रकाश यादवसहित २७ उम्मेदवार चुनावी मैदानमा छन् । 

झण्डै एक दशकपछि एक्ला एक्लै प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा चुनावी घम्साघम्सी हुने देखिन्छ । यो क्षेत्रमा अहिलेसम्म कुनै पनि पार्टीले आफ्नो लागि ग्रीन जोन देख्न सकेका छैनन् । विगतमा यहाँ निरन्तर एउटै उम्मेदवारले जितेको अवस्था पनि छैन । 

मिश्रित जातजाति, तराई मूल र पहाडी समुदायको बसोबास रहेको यो क्षेत्रमा यसपटक मुख्यतः काँग्रेस, एमाले र रास्वपाबीच नै कडा टक्कर हुने सहजै आँकलन गर्न सकिन्छ । 

मतदातालाई आफ्नो पक्षमा पार्न आक्रामक प्रचार गरे पनि पराजयको डर सबै उम्मेदवारमा देखिन्छ । रास्वपाले लुम्बिनीलाई केन्द्रमा राखेर विकासको योजना अघि बढाउँदा अन्य दलले पनि उस्तै एजेण्डा बनाएका छन् ।

२०५६ देखि चुनाव उठ्दै आएका काँग्रेसका शाह अहिले छैटौंपटक मैदानमा छन् । उनी सार्वजनिक लेखा समितिका पूर्वसभापति तथा २०५६ मा अर्थराज्यमन्त्री समेत भएका नेता हुन् । 

एमालेका भट्टराई अघिल्लो निर्वाचनमा पार्टीले टिकट वितरणमा गरेको त्रुटीले उम्मेदवार बन्न नपाएका नेता हुन् । उनी यसअघि राष्ट्रिय सभा सदस्य भइसकेका छन् । रास्वपाका खाँन फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि अभियन्ताका रुपमा चिन्छिन् । 

जनमत पार्टीका ओमप्रकाश यादव २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट रुपन्देही–२ बाट निर्वाचित भएका नेता हुन् । 

नेकपाका मुसलमान पूर्वमन्त्री हुन् । घरदैलोमा व्यस्त काँग्रेस उम्मेदवार शाहले परिवर्तित काँग्रेसले मुलुक सम्हाल्ने बताउँदै मत मागिरहेका छन् । एमालेका भट्टराई क्षेत्र विकासमा पार्टी र आफूले विगतमा गरेका काम स्मरण गर्न आग्रह गरिरहेका छन् ।

यो क्षेत्रबाट २०७९ मा एमालेका बासुदेव घिमिरेले काँग्रेका शाहलाई हराउँदै विजयी भएका थिए । घिमिरे अहिले रुपन्देही–३ बाट उम्मेदवार छन् । २०७४ र २०७० मा यो क्षेत्रबाट काँग्रेसका भरतकुमार शाहले जितेका थिए । २०६४ यहाँबाट एमालेका नेता रामनाथ ढकाल विजयी भएका थिए । २०५६ मा भने शाहले सांसद जितेर राज्यमन्त्री भएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update