काठमाडौं । मध्यपुर ठिमी नगरपालिकाको ९ र सुर्यविनायक नगरपालिकाका १० वटा वडा रहेको भत्तपुर निवर्नचन क्षेत्र नम्बर २ मा चुनावी परिणामबारेका प्रक्षेपण चलिरहेको बेला मतदाताको मनोविज्ञान, उम्मेदवारका बाँचा र चर्चामा रहेकाहरुले गरिरहेको प्रचार शैलीले भने रौनकता थपिदिएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि एमालेका महेश बस्नेत र कांग्रेसका दर्लभ थापाले जित निकाल्दै प्रतिनिधिसभामा आइसकेको क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा अहिले फेरिएको परिस्थिति, नेपालको राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिको चुनावी माहोलकाबीच उम्मेदवारहरु जित आफैले निकाल्ने दाबी गरिरहेका छन् ।
रास्वपाले पूर्वपत्रकार राजीव खत्रीलाई महेश बस्नेतविरुद्ध चुनावी मैदानमा उतारेको छ । महेश र राजीवबीच पहिलेदेखि नै टकराव चल्दै आएकाले पनि उनीहरुबीचको प्रतिष्पर्धालाई मतदाताले चासोका साथ हेरेका छन् । यस्तोमा एमालेका बस्नेतले आफूलाई विकासको पर्यायको रुपमा समेत चिनाउन थालेका छन् ।
उसोतः भक्तपुर २ मा कांग्रेसले पनि विरासतलाई जोगाउने प्रयास गरिरहेको छ । कांग्रेसले भक्तपुर २ मा कविर राणालाई अघि सारेको छ भने नेपाली कम्युनिस्ट पार्टीले रामप्रसाद सापकोटा ’दिपशिखा’लाई अघि सारेको छ ।
कांग्रेस बलियो संगठनका साथ भक्तपुर २ मा आफ्नो विरासत कायम गराउने दाउमा उभिदा नेकपा पनि पछिल्लो समयको राजनीतिक वेगले आफूलाई नै अघि ल्याउने दाबी गरिरहेको छ ।
उसोतः जुत्ता चुनाव चिन्ह लिएर भक्तपुर २ मा शोभा पाठक पनि चुनावी मैदानमा छिन् । यसरी भक्तपुर २ को चुनावको सर्गर्मी बढ्दै गर्दा मतदाता भने कसलाई मत दिने भन्नेमा अन्योलतामा देखिन्छन् । केहि प्रतिशत मतदाताले मत कसलाई दिने भन्नेमा सोच विचार गरिरहेको बताइरहेका छन् ।
निर्वाचन परिणाम नै उलटफेरका मिडिया ट्रायल भएको आरोप समेत लागिरहेको भक्तपुर २ को निर्वाचनमा मतदाताको रुझानमा को पर्ला ? मतदातालाई रिझाएर कसले बर्चस्व कायम गर्न सफल होला ? मतदाताको मनोविज्ञान र फेरिएको राजनीतिक परिस्थितिलाई कसरी उम्मेदवारले सम्हाल्ने योजना ल्याउलान ? यस्ता तमाम प्रश्नकाबीच भक्तपुर २ मा चुनावी रौनकता बढ्दै गएको छ ।
