News 24 Television
नेपालीको सुरक्षा र उद्धारका लागि ‘र्यापिड एक्सन टिम’

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको सुरक्षा तनावका बीच त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले विशेष तयारी थालेको छ । सरकारले परराष्ट्र मन्त्रालयको नेतृत्वमा ‘¥यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ भने १२ देशका लागि नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ । 

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो द्वन्द्वलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । 

परराष्ट्र मन्त्रालयले मन्त्रालयका सचिवको संयोजकत्वमा ‘¥यापिड एक्सन टिम’ गठन गर्न लागिएको जानकारी पनि दिएको छ । यो टिममा श्रम, गृह लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि रहनेछन् । टोलीले मध्यपूर्वको अवस्थालाई निरन्तर निगरानी गर्ने, संकट उत्पन्न भए तत्काल निर्णय गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा समस्यामा परेका नेपालीलाई सहयोग पु¥याउने जिम्मेवारी पाउनेछ । 

मन्त्रालयका अनुसार हाल मध्यपूर्वका विभिन्न मुलुकमा करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब र कतारमा कार्यरत छन् । युएईमा करिब ७ लाख नेपाली छन् भने साउदी अरबमा ३ लाख ८४ हजारभन्दा बढी र कतारमा ३ लाख ५७ हजारभन्दा बढी नेपाली रहेका छन् । 

त्यस्तै कुवेतमा करिब १ लाख ७५ हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार र इराकमा करिब ३० हजार नेपाली रहेका छन् । इजरायलमा करिब ६ हजार ५ सय, साइप्रसमा १७ हजार, लेबनानमा करिब १५ सय र इजिप्टमा करिब ५ सय नेपाली रहेको मन्त्रालयका सहसचिव एवम् मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताए ।  

संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन मध्यपूर्वस्थित नेपाली दूतावास र नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप समन्वय समूह पनि गठन गरिएको छ । यसमार्फत विभिन्न देशको सुरक्षा अवस्था, सम्भावित जोखिम तथा नेपालीहरूले भोगिरहेका समस्याबारे नियमित जानकारी आदानप्रदान गरिनेछ । 

यस्तै सम्भावित उद्धारको तयारीस्वरूप विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गर्न निर्देशन समेत दिइएको छ । 

यसैबीच, बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले मध्यपूर्वका १२ देशका लागि नयाँ श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ । सरकारले मध्यपूर्वको अवस्था निरन्तर मूल्यांकन गर्दै आवश्यक परे उद्धारसम्मका सबै विकल्प खुला राखेको जनाएको छ । 

साथै विदेशमा रहेका नेपालीलाई सतर्क रहन, समस्या परे सम्बन्धित दूतावाससँग सम्पर्क गर्न र आधिकारिक सुचना मात्रै विश्वास गर्न आग्रह गरिएको छ । मध्यपूर्वको तनावसँगै त्यस क्षेत्रका सबै उडानहरु बन्द भएसँगै त्रिभुवन विमानस्थलमा ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update