News 24 Television
मधेशमा मतमार्फत् ठूलो विद्रोह, चुपचाप घण्टीमा छाप

काठमाडौं । विगतमा कसको सरकार कति समय टिकाउने ? भन्ने खेलमा मधेश केन्द्रीत दलहरुको ठुलै हात हुन्थ्यो । अंकगणीतमा सानो सिट भए पनि सरकार बनाउने र ढलाउने खेलमा उनीहरुको राम्रै चलखेल चल्थ्यो । त्यसैले मधेश केन्द्रीत दलहरु सरकार बनाउने कि ढलाउने सटरका साहुजीहरु थिए । तर यो निर्वाचनको उनीहरुको सटर बन्द भएको छ । 

फागुन २१ को निर्वाचनको नतिजा सार्वजनिक हुदाँ पुराना दलहरु कांग्रेस, एमाले र नेकपा मात्रै होइन मधेश केन्द्रीत दलहरु पनि बढारीएका छन् ।

विगतमा सानो सिट संख्या ल्याएर राष्ट्रिय दल बन्ने र कुन दल र कसको नेतृत्वमा सरकार बनाउने भन्नेतर्फ निर्णायक शक्तिका रुपमा रहने गरेका मधेश केन्द्रीत दलहरुको दोकानको सटर यो निर्वाचनको मत परिणामले भने पूर्ण रुपमा बन्द गरीदिएको छ । 

अहिलेसम्मको नतिजामा प्रत्यक्षमा उनीहरुले एक सिट पनि जित्न सकेका छैनन् भने समानुपातिकमा समेत खासै मत ल्याउन सकेका छैनन् । यो निर्वाचनमा मधेश केन्द्रीत जसपा, जनमत जस्ता दलहरुले राष्ट्रिय दलको मान्यता समेत नपाउने निश्चित नै भएको छ । 

राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा कुल खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनु पर्ने छ भने प्रत्यक्षमा १ जितमा जित निकाल्नु पर्ने छ । तर न त प्रत्यक्षमा नै जित निकाल्न सकेका छन् । न त समानुपातिकमा नै ३ प्रतिशत मत पु¥याउने देखिन्छ । 

यसले उनीहरु यो निर्वाचनबाट पत्तासाफ भएको प्रष्ट भएको छ । मधेशमा रहेको प्रत्यक्ष तर्फको ३२ सिट मध्ये ३० सिटमा रास्वपाले जित निकाली सकेको छ भने रौतहट २ मा मात्रै कांग्रेसले जित निकालेको छ । 

धनुषा १ मा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएतापनि निर्वाचनको मत परिणाममा भने रास्वपाको चुनाव चिन्हमा धेरै मत खसेपछि विवाद भएको छ । 

मधेशको मसिहा कसरी पत्तासाफ ? 

मधेश केन्द्रीत दल खोलेर आफुहरुलाई मधेशको मसिहा ठान्ने मधेशबादी दलका नेताहरुले यो निर्वाचनमा लज्जापस्द हार ब्यहोरेका छन् । निर्वाचनमा जित निकाल्ने त कुरै छोडौं प्रतिस्पर्धामा समेत आउन सकेनन् । 

प्रभु साह

आम जनता पार्टीका अध्यक्ष रहेका प्रभु साह रौतहट ३ लाई आफ्नो गढका रुपमा रहेको दाबी गर्थे । तर यो निर्वाचनमा साहले ९ हजार ८ सय ९० मत प्राप्त गर्दै तेस्रो स्थानमा समेटीएका छन् । उनको दलले कतैबाट एक सिट समेत जित्न सकेको छैन । 

राजेन्द्र महतो 

मधेशका अर्का मसिहा ठान्ने नेता हुन् राजेन्द्र महतो । मधेश बादी दल र मधेशी जनतालाई सरकारले उपेक्षा गरेको भन्दै विगतमा आगो नै ओकल्ने गर्थे उनी । 

तर महतोले पनि यो निर्वाचनमा नमिठो हार ब्यहोरेका छन् । सर्लाही २ बाट उम्मेदवार रहेका महतोले ५ हजार ९ सय ९२ मत प्राप्त गर्दै चौंथो स्थानमा पुग्न सफल भएका छन् । उनको मधेश उत्थानको कार्ड यसपटक प्mलप भएको छ ।  

शरदसिंह भण्डारी, 

१८ पटक मन्त्री बनेर इतिहास रचेका शरदसिंह भण्डारी पनि यो निर्वाचनमा १० हजार १ सय ९८ मत प्राप्त गर्दै प्रतिस्पर्धी मात्रै बन्न सफल भएका छन् । महोत्तरी दुईमा रास्वपाबाट उम्मेदवार रहेका दिपक कुमार साहले ३२ हजार ७ सय २२ मत ल्याउँदै भण्डारीलाई पछारेका छन् । भण्डारी जनता समाजवादी पार्टी नेपालका नेता हुन् । 

डा. सिके राउत

अमेरीकामा पढेर आएको र आफु बैज्ञानिक समेत रहेको बताउँदै मधेश क्रान्तिको कुरा उठाउने डा. चन्द्र कान्त राउत उर्फ सि.के राउतले पनि ९ हजार ८ सय ८० मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । 

राउत अघिल्लो निर्वाचनमा उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसपटक रास्वपाका रामजी यादवसँग पराजित भएका छन् । 

सतिश कुमार सिंह 

सिके राउतको पार्टीबाटै मधेशको प्रदेशको मुख्य मन्त्री समेत बन्न सफल भएका सतिश कुमार सिंह पनि निर्वाचनमा पराजित हुन पुगेका छन् । राउतको पार्टीबाट निस्केर उनले स्वभिमानी पार्टी गठन गरेर गर्दै चुनावमा भिडेका थिए । तर सिंहले ३ हजार ५ सय ५७ मत प्राप्त ल्याएका छन् । 

उपेन्द्र यादव,

जनता समाजवादी पार्टीका अध्यक्ष रहेका उपेन्द्र यादव सप्तरी ३ बाट उम्मेदवार बनेका थिए । उनले १५ हजार २ सय ३९ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार रहेका अमर कान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गर्दै निर्वाचित भए । मधेशको मसिहा ठान्ने यादवको पनि आगामी ५ बर्षका लागि प्रतिनिधि सभाको यात्रामा पूर्णविराम लागेको छ ।

विजय कुमार गच्छेदार ,
 
नेपाली कांग्रेसबाट फुटेर मधेशी जनाधिकार फोरम, नेपालका अध्यक्ष बन्दै पुनः नेपाली कांग्रेसकै राजनीतिमा फर्किएका नेता हुन् विजयकुमार गच्छेदार । गच्छेदार सुनशरी ३ बाट निर्वाचन लढेका थिए । 

उनले २० हजार ५ सय १ मत प्राप्त गर्दै दोस्रो स्थानमा आउँदा रास्वपाका अशोक कुमार चौधरीले ४० हजार ४ सय २१ म्त प्राप्त गर्दै जित निकाल्न सफल भएका छन् । गच्छेदारको पनि आगामी ५ बर्षका लागि प्रतिनिधि सभाको यात्रामा रोक लागेको छ । यसरी यो निर्वाचनको मत परिणामबाट मधेश केन्द्रीत दल र ति दलका शिर्ष नेताहरु समेत बढारिन पुगेका छन् । 

उनीहरुले विगतमा आफुहरुलाई मधेशको परिवर्तनको संवाहकको रुपमा पेश गर्दै संघीयताको पहरेदार र मधेसबाटै संघीयताको रक्षा गर्ने दाबी गरिरहेका थिए । तर पटक पटक सत्ताको स्वाद चाख्दा पनि उनीहरुले मधेशका आर्थिक र सामाजिक विकासमा ठोस योगदान दिन सकेनन् । गणतन्त्रपछि सत्तामा चास्नीमा सधैँ डुब्ने गरेका मधेस केन्द्रित दलका यी अनुहारलाई यो चुनावले पाखा मात्रै लगाएको छैन्, उनीहरुले अब आफ्नो राजनीतिक जीवन कसरी सुरक्षित गर्छन भन्ने विषयमा समेत चासो बढेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update