काठमाडौं । नेपाली कांग्रेस आसन्न चुनावमा लज्जास्पद हारका कारण संकटमा देखिन्छ । विशेष महाधिवेशनसहित अघि बढेको कांग्रेसले प्रतिनिधिसभा चुनावमा हार ब्यहोरेपछि गगन थापामाथिका प्रश्नहरु पेचिला बनेका छन् ।
पार्टी सभापतिको हैसियतले उनले चुनावी रफ्तार बुझ्न नसक्दा राजीनामाको मुड बनाएको भन्दै चर्चा चलाइएको छ तर, के उनले राजनीतिक नैतिकता देखाउलान् ? यो भने चासोको विषय बनेको छ ।
सुधारिएको कांग्रेस भन्दै मधेस झरेका कांग्रेस सभापति गगन थापाले लज्जास्पद हार ब्यहोरे । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसंग पराजित हुन पुगेका गगन थापाले आफ्नो पुरानो निर्वाचन क्षेत्र पनि जोगाउन सकेनन् । गगन यसअघि चुनावमा विजयी हुँदै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा सचित तिमिल्सेनाको डेग चल्नै सकेन् ।
उसोतः कांग्रेस देशभर प्रत्यक्षमा जम्मा १८ सिटमा खुम्चिन पुगेको छ । कांग्रेस सुधारिएको सन्देशसहित अघि बढेका गगनले कांग्रेसलाई किन रफ्तार दिन सकेनन ? यी विषय भने यक्ष प्रश्न बन्न पुगेका छन् ।
कांग्रेस बदलिसकेको र अब देश बदल्ने दाबी गरेका गगनको नेतृत्व चुनावमा पराजयको अवस्थामा पुगेपछि राजीनामा दिने मुडमा पुगेको भन्दै सार्वजनिक गरिएका जानकारीमा प्रतिक्रिया शुरु भएको छ । गगनले नैतिकताको राजनीति गर्छन वा पुरानै नेताहरुको जस्तो शक्ति सञ्चय को ? यो भने उनीमै निर्भर हुनेछ ।
विशेष महाधिवेशनको एजेण्डाले छोएन मतदाता
कांग्रेसमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व त पायो तर, कसैले पनि निर्वाचनमा नतिजा दिन सकेनन् । टिकट वितरणमा पनि गगनले सेलेक्टिभ बनेको र केहि कमजोरी भएपनि प्रश्न गर्ने ठाउँ नभएको दाबी गर्दै गर्दा कांग्रेसको पराजय अस्वभाविक देखिन्छ । उसोतः अन्य दल पनि यस्तै स्थितिमा छन् । तर, कांग्रेसमा नेतृत्व परिवर्तनदेखि धेरे कुराको फेरबदलले किन काम गरेन ? यी प्रश्नहरुको जवाफ भने खोज्न थालिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा पनि चुनावी कमाण्डर थिए । उनले कमाण्ड गरेको चुनावमा नेताहरुको पराजयपछि उनले जिम्मेवारी लिने त भनेका छन, तर पराजयको कारण पुरानै नेतृत्वमाथि लगाउने प्रयास गरिरहेका छन ।
कांग्रेसलाई तीब्र बेगमा अघि बढाउने दाबी गरेका गगन–विश्वप्रकाशलाई निर्वाचनले झड्का दिएपछि कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दा सम्हाल्दै विशेष महाधिवेशनको चपेटोमा परेका पूर्णबहादुर खड्काले पनि आवेग, महत्वकांक्षा र आग्रहबाट मुक्त बन्दै व्यापक र वृहत एकताको अपिल गरेका छन् ।
निर्वाचनमा टिकट नपाएका खड्काले आफ्ना भाइ विष्णु बहादुर खड्कालाई भने सुर्खेत १ बाट निर्वाचित गराएर आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
खड्काले उत्तेजना र बदलाको भावबाट मुक्त हुन गरेको अपिललाई चिर्ने गरि गगन–विश्व पक्षका नेताहरुले भने दबाबमूलक हिसाबले पुरानै नेतृत्वका कारण अहिलेको परिस्थिति सिर्जना भएको भनेका छन् ।
के गर्लान् गगन ?
विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले नियमित महाधिवेशनको तयारीलाई नै केन्द्रमा राख्ला ? यो कांग्रेसमा उठेको अहम प्रश्न हो ।
सर्वोच्च अदालतमा कांग्रेस विवाद विचाराधिन अवस्थामा रहेको बेला गगन थापाको नेतृत्वलाई मतदाताले रुचाएको नदेखिदा पनि संकट थप चुलिएको छ । उसोतः कांग्रेसको नियमित महाधिवेशनबाट पार्टीको नेतृत्व लिन पनि गगनले अहिले नै राजीनामाको तयारी गरेको कतिपयले बताइरहेका छन् ।
विशेष महाधिवेशनकै धङ्धङ्गी बोकेर महाधिवेशनमा पुग्दा नतिजा आफ्नो पक्षमा पर्न नसक्ने विश्लेषण उनीहरुको समूहमा भइरहेको छ । तर, गगनले आफ्ना निकटवर्तिसंगको छलफललाई तीब्र पार्दै आगामी रणनीति तय गरिरहेको बताइन्छ ।
कांग्रेसलाई नयाँ बाटोमा लैजान पनि उनले चुनावी परिणामलाई स्वीकार गर्दै राजीनामाको बाटो रोजेर नियमित महाधिवेशनबाट नेतृत्व लिने तयारी गर्नु नै उचित हुने केहिले सुझाउन थालेका छन् । तर, चुनावी परिणामपछि पनि छलफलमै रहेर राजनीतिक दाउपेच गर्दा भने गगनको आगामी कदम उनीविरुद्ध नै घातक हुने बताइन्छ ।
