दुबई । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को मार्च १४–१६ मा आयोजना हुने १२औँ बृहत् एकता महाधिवेशनमा व्यवसायी तथा समाजसेवी ललित कुमार न्यौपानेले सह–कोषाध्यक्ष (Joint Treasurer) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। “संस्थाको आत्मनिर्भरता, पारदर्शिता र एकता – समृद्ध नेपाली समाज आजको आवश्यकता” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उम्मेदवारी दिएका हुन् ।
लामो समयदेखि लण्डन र दुबईमा बसोबास गर्दै नेपाली समुदायको हित, एकता तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका न्यौपानेले NRNA लाई अझ पारदर्शी, जिम्मेवार, आत्मनिर्भर र प्रभावकारी संस्थाका रूपमा एकताबद्ध गर्दै अगाडि बढाउने लक्ष्यसहित उम्मेदवारी दिने बताएका छन्।
न्यौपाने विगत १५ वर्षदेखि NRNA संस्थामा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनले NRNA UK का केन्द्रीय सदस्य (2013–2015), सह–कोषाध्यक्ष तथा व्यवसाय विभाग प्रमुख (2015–2017), उपाध्यक्ष तथा राज्य समितिको संयोजक (2017–2019), ICC सदस्य (2019–2021) तथा युरोप क्षेत्रीय डेपुटी कोअर्डिनेटर (DRC) (2021–2023) जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन्। यसले उनलाई NRNA संस्थामा लामो अनुभव भएका अभियन्ताका रूपमा चिनाएको छ।
पेशाले प्रोपर्टी व्यवसायमा संलग्न न्यौपानेले विश्वभर आयोजना भएका धेरै NRNA कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
न्यौपाने अन्तर्राष्ट्रिय झापाली समाजका ग्लोबल संस्थापक उपाध्यक्ष समेत रहेका छन्। यस कारण संसारभर रहेका झापाली समुदायले पनि उनलाई राम्रोसँग चिन्ने गर्छन्।
करिब २१ वर्षअघि बेलायत पुगेका न्यौपानेले नेपालमा राष्ट्रिय वाणिज्य बैंकमा करिब १७ वर्ष उच्च पदमा सेवा गरेका थिए। उनले MA र BL सम्म अध्ययन गरेका छन्।
