News 24 Television
गगनको मौनता किन ? देउवा पक्ष आक्रामक, विश्वको साथ, के होला अब ?

काठमाडौं । फागुन २१ को चुनावी परिणाम बारे राजनीतिक दलहरु आन्तरिक समीक्षामा छन् । रास्वपाको उभारले कांग्रेस, एमाले र नेकपा संसदीय अंक गणितमा कमजोर बन्दा उनीहरुका लागि कहाँ चुक्यौ भनेर समीक्षा गर्नै पर्ने बाध्यता छ ।

चुनावी हारलाई यी दलहरुले पार्टी नेतृत्व र अन्तरघातमा केन्द्रीत भएर घोत्लिरहेका छन् । कांग्रेसमा विवाद सतहमा आउँदा सभापति गगन थापा माथि दबाब बढेको छ । 

कांग्रेस दास र लासहरुको पार्टी होइन्, यो अभिव्यक्ती नेपाली कांग्रेसका सभापति गगन थापाले पुष २७ का दिन भृकुटीमण्डपको विशेष महाधिवेसन हलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बोलेको वाक्य हो । तर समयले उनलाई यस्तो कठिन मोडमा पु¥याएको छ की आफ्नै शब्द भारी पर्न थालेको छ । कारण हो, फागुन २१ को चुनावमा कांग्रेसको हार ।

प्रत्यक्षमा १८ र समानुपातिकमा झण्डै १७ लाख बढि मतका सात अनुमानित २० सिट जोड्दा समग्रमा ३८ सिटका साथ कांग्रेस दोस्रो पार्टी बनेको छ । 

जवकी ०७९ मंसिर ४ को चुनावमा कांग्रेस ८९ सिट सहित पहिलो पार्टी बनेको थियो, पार्टीका सभापति थिए–शेर बहादुर देउवा । विशेष महाधिवेसनमार्फत् देउवाबाट नेतृत्व हत्याउन सफल गगनको नेतृत्वमा चुनावी मैदानमा होमिएको कांग्रेसको लजास्पद हार भएपछि यतिबेला पुनः विवाद र आलोचनाका स्वर बाक्लिएका छन् । 

निवर्तमान सभापति देउवा खेमाका नेताहरु विशेष महाधिवेसनको औचित्य सकिएको भन्र्दै गगनले नेतृत्व छाड्नुपर्नेसम्मका दाबी गर्न थालेका हुन् । 

उसो त कांग्रेस सभापति गगन थापाले पनि राजीनामा दिन नचाहेका होइनन् । थापाले चुनावी हारको आत्माआलोचनाका साथ पार्टी नेतृत्वबाट राजीनामा दिन उपसभापति विश्वप्रकाश शर्मासंग विफ्रिङ गरेको बताइन्छ । 

उपसभापति शर्माले गगनलाई सम्हालिएर अघि बढ्न आड र भरोसा दिएपछि उनी थप रणनीतिक रुपमा अघि बढ्ने तयारीमा छन् । 

थापाले सभापतिबाट राजीनामा दिनु नपर्ने भन्दै पहलहरु पनि हुन थालेका छन् । ललितपुर जिल्लामा कांग्रेसबाट निर्वाचित भएका ललितपुर महानगरसहितका अन्य पालिकाहरुका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै थापालाई सभापतिबाट राजीनमा नदिन अपिल गरेका छन् । तर निवर्तमान नेतृत्व पक्षका नेताहरुले चौतर्फी रुपमा आलोचनाको तारोमा पार्दा दबाब भने बढ्दै गएको छ । 

यता, राजनीतिका पण्डितहरुले कांग्रेस गगनकै नेतृत्वमा पार्टी महाधिवेसनतर्फ अघि बढ्नुपर्ने विश्लेषण गरिरहेका छन् । कांग्रेसको चुनावी हारमा गगनको कमजोरी नभई निवर्तमान सभापति शेर बहादुर देउवा मुख्य कारण बनेको बुझाई देखिन्छ । बरु फागुन २१ को चुनावी परिणामले कांग्रेसलाई बलियो सन्देश प्रवाह गरेको राजनीतिक विश्लेषक डा. सुरेस आचार्य बताउँछन् । 

चुनाव अघि भावी प्रधानमन्त्रीका रुपमा सारिएका सभापति गगनले सर्लाही ४ मा चुनाव हार्नु र देशभर कांग्रेस किनारामा पुग्नले उनी यतिबेला मौन देखिएका छन् । चुनावी मैदानमा निकै आशावादी र आक्रामक देखिएका गगनको एकाएकको शान्त स्वभावले भने ठुलो अर्थ राख्ने देखिन्छ । 

विशेष महाधिवेसनको मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहेकाले पनि गगनलाई थप संकट पर्ने आँकलन राजनीतिक बृतमा हुन थालेका छन् । यद्यपी यसअघि निर्वाचन आयोग उनको नेतृत्वलाई मान्यता दिएको हुँदा बैशाखमा गर्ने भनिएको पार्टी महाधिवेसन नै भव्य बनाउनु बुद्धिमानी हुने देखिएकोछ । यस्तोमा कांग्रेस पार्टी कस्तो  बनाउने, त्यो कांग्रेस नेताहरुकै हातमा छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update