News 24 Television
नेकपामा हलचल, हारका कारण खोजिदैं, ७ दिने अल्टिमेटम

काठमाडौं । करिब २५ दल र समूह मिलेर निर्वाचनमा होमिएको नेपाली कम्यूनिस्ट पार्टी नेकपा फागुन २१ गतेको अनपेक्षित हारबाट रन्थनिएको छ । 

अघिल्लो प्रतिनिधिसभामा रहेको ४४ सिट जोगाउने चुनौतिसहित ठूलो तामझामसहित निर्वाचनमा उत्रिएको नेकपा प्रत्यक्षतर्फ ३ प्रदेशमा जितिविहिन रह्यो । प्रत्यक्षतर्फ ८ र समानुपातिकमा ९ गरी कुल १७ सिट जितेको नेकपा आन्तरिक समीक्षामा जुटेको छ । निर्वाचनको समीक्षाका लागि ७ दिनभित्र प्रतिवेदन बुझाउन पार्टी मातहतका समितिले निर्देशन पाएका छन् ।

हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निकै सोचविचार गरी जित्ने शतप्रतिशत निश्चित भएपछि मात्रै फागुन २१ को निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिए । 

निर्वाचन अघि नै जित पक्का भएको रुकुमपूर्वबाट उनले त सहजै जिते तर नेकपाका अन्य धेरै उम्मेदवारहरु यसपटक नराम्रोसँग पछारिए । अग्रगामी छलाङ, समाजवाद, साम्यवाद जस्ता उच्च आदर्शका कुराहरु गरेर प्रचण्ड एण्ड कम्पनी कहिल्यै थाक्दैन थिए । तर प्रचण्डको अस्थिर चरित्र र छरपस्ट भएको नेताहरुको विलासी जीवनशैलीलाई यसपटक जनताले सजाय दिएका छन् । 

अघिल्लो प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको नेकपा अहिले चौथो दलको हैसियतमा पुग्दा धेरै गुमाएको छ । सातै प्रदेशबाट उम्मेदवार उठाएको पार्टीले जम्मा ८ सिट मात्रै जितेको छ । यसमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि धनुषा १ को एक सिट खोसिने सम्भावना रहेको छ । 

नेकपाले कोशी, बागमती र गण्डकीमा प्रत्यक्षतर्फ एक सिट समेत जित्न सकेन । यी चार प्रदेशको सहरी क्षेत्रमा नेकपाको जनमत निकै कमजोर देखियो । पार्टीले यस्तो लज्जास्पद हार ब्यहोरेपछि नेकपा आन्तरिक समीक्षामा जुटेको छ । 

निर्वाचनमा भोगेको पराजयको समीक्षाका लागि ७ दिनको समय राख्दै प्रतिवेदन पेश गर्न पार्टी मातहतका सबै समितिहरुलाई निर्देशन जारी गरिएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडाले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षरमा निर्देशन पठाएको हो । 

हारको प्रारम्भिक कारणको समीक्षा 

नेकपाले निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ । अपेक्षा अनुसारको परिणाम नआउनुका विभिन्न कारणहरु नेकपाका नेताहरु खोतली रहेका छन् । प्रारम्भिक चरणमा नेकपाले हारको कारणहरु यसरी अथ्र्याएको छ । 

१. विभिन्न दल र समूह मिलेर बनेको नयाँ पार्टीको समायोजन नटुंंगिदै निर्वाचनको मैदानमा उत्रिनु 

२. पार्टीको नाम, एजेण्डा र चुनाव चिह्न समेत स्थापित गर्न नसक्नु 

३. जेनजी आन्दोलन पछिको अन्यौलता हटाउन नसक्नु 

४. पुराना दलप्रतिको नकरात्मक प्रचार चिर्न नसक्नु 

५. मतदाताले मन परिवर्तन गर्नु 

१६४ उम्मेदवार, ९९ जनाको जमानत जफत 

फागुन २१ गतेको निर्वाचनका लागि नेकपाले १६४ स्थानमा उम्मेदवार उठाएको थियो । बागलुङमा जनमोर्चासँग सहकार्य गरेको नेकपाले जम्मा ८ सिटमा मात्रै जित हात पार्दा अन्य धेरै स्थानमा फराकिलो पराजय भोग्यो । 

नेकपाका उम्मेदवारहरुको ९९ स्थानमा जमानत जफत भयो । पार्टीका प्रभावशाली भनिएका नेताहरु माधवकुमार नेपाल, भीम राव र नारायणकाजी श्रेष्ठ पराजित भए । झलनाथ खनाल र बामदेव गौतमले भने निर्वाचनमा उम्मेदवारी दिएनन् । 

नेकपाले जितेका स्थानहरु

नेकपाका मात्रिका यादललाई धनुषा १ मा निर्वाचन अधिकृत कार्यालयले निर्वाचित प्रमाणपत्र पाएको दिएको छ । तर विहिवार सर्वोच्च अदालतबाट रास्वपा उम्मेदवार किशोरी साह कालो सूचीमा नरहेको अन्तरिम आदेश आएपछि ट्वीस्ट आएको छ । यहाँ नेकपाको सिट रहने कि गुम्ने अदालतको फैसलामा निर्भर हुन्छ । यो बाहेक नेकपाले जितेका स्थानहरु यी हुन् । 

सिन्धुपाल्चोक २ विजयी उम्मेदवार युवराज दुलाल

रुकुमपूर्व : विजयी उम्मेदवार पुष्पककमल दाहाल ‘प्रचण्ड’

रोल्पा : विजयी उम्मेदवार वर्षमान पुन 

सल्यान : विजयी उम्मेदवार रमेशकुमार मल्ल

कालीकोट : विजयी उम्मेदवार महेन्द्रबहादुर शाही

रुकुम पश्चिम : विजयी उम्मेदवार गोपाल शर्मा

डोल्पा : विजयी उम्मेदवार धनबहादुर बुढा 

अन्ततः २५ दल र समूहबीचको एकतासहित निर्वाचनमा जाँदा पनि एकताको प्रभाव नदेखिएपछि नेकपाले बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा करिब साढे २ घण्टा बैठक बस्दै प्रारम्भिक ब्रिफिङ गरेको हो । यसबाहेक नेकपाले अब बन्ने सरकारलाई सय दिनसम्म हेर्ने र महाधिवेशनमार्फत् नेतृत्व लगायतको पूनर्गठन लगायतका कामहरु समेत गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update