कैलाली । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि स्वदेश फर्किएका सुदूरपश्चिमेलीहरु मतदान सकिए लगत्तै कर्मथलो फर्किन थालेका छन् ।
भोट दिएर जितेकाहरु संसद भवन छिर्ने तयारी गर्दै गर्दा मतदाताहरु भने रोजीरोटीका लागि पुनः कर्मथालोमा फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य विभिन्न कामको सिलसिलामा दैनिक सैयौँ नेपाली त्रिनगर सीमा नाका हुँदै भारत जाने गर्छन् । निर्वाचन सम्पन्न भएपछि भने रोजगारी तथा विभिन्न कामको शिलशिलामा कर्मथलोतिर लागेका हुन् ।
सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने पनि ठूलो पंक्ति छ । सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल दक्षिण छिमेकी मुलुक भारत बन्ने गरेको छ । अबको सरकारले आफ्नै देशमा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनीहरुको भनाई छ ।
भारतमा पुगेर सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम नहुँदा उनीहरु रोजीरोटीका लागि भारततर्फ जान बाध्य भएका हुन् ।
खुला सिमाना र भिसाको झण्झट नहुने भएकाले पनि विपन्न वर्गका लागि भारत रोजगारीको उचित गन्तब्य हुने गरेको छ । यद्यपी पछिल्लोसमय समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरिँदा झन्झट ब्यहोर्नु परेको हुनासो बढेको छ ।
