News 24 Television
सामानुपातिकमा रास्वपाको ४८ महिला, ९ भाग्यमानी पुरुष को को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक लिस्ट निर्वाचन आयोगलाई बुझाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले सामानुपातिकबाट प्राप्त ५७ जनाको लिस्ट आयोगलाई बुझाएको हो । 

समानुपातिक सुची बुझाएसँगै रास्वपा सरकार निमार्णमा जुटेको नेताहरुले दाबी गरेका छन् । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन विधान संशोधनको तयारी समेत गरेको छ ।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा १ सय ८२ सिट सहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको तयारीमा छ । दुई तिहाई नजिक जनमत पाउँदा कुनै पनि दलको बैशाखी टेक्नु नपर्ने हुँदा चैत दोस्रो साता भित्र नयाँ सरकार गठन गर्ने गृहकार्य रास्वपाले गरेको छ । तर त्यसका लागि निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाडेल समक्ष बुझाउनुपर्नेछ । 

आयोगले प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको नतिजा रुजु गरिसकेको भएपनि समानुपातिकतर्फको १ सय १० सिट रुजु गरिरहेको छ । आइतबारको समय अवधि दिएर आयोगले समानुपातिक सिट प्राप्त गर्ने ६ दललाई सांसद सुचि पेस गर्न आह्वान गरेको थियो । 

आयोगको डेटलाइन अनुसार राजनीतिक दलहरुले समानुपातिक सुची आयोगलाई बुझाएका हुन् । आइतबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले ५७ जनाको नाम छनोट गरी आयोगलाई बुझाएको छ । 
जसमा 
–खसआर्य १७ जना

–जनजाति १६ जना

–मधेशी ९ जना 

–दलित ८ जना

–थारु ४ जना

–मुस्लिम ३ जना 

गरी कलस्टर मिलाएर लिस्ट तयार पारिएको प्रवक्ता मनिष झाले जानकारी दिए । जसमध्य ४८ जना महिला र ९ जना पुरुष छन् । तर नाम भने खुलाइएको छैन् । छनोटमा नपर्ने नामबारे चर्काे दबाब पर्ने हुँनाले नाम गोप्य राखिएको छ । 

सार्वजनिक रुपमा विरोध र विवाद हुने डरले नाम सार्वजनिक नगरेको रास्वपाले अर्काेतर्फ विधान संशोधन गर्ने तयारी पनि थालेको छ । 

चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको रास्वपाले विधान संशोधन गर्न लागेको हो । मौजुदा विधानलाई आवश्यक संशोधन गर्दै बालेन्द्रलाई संसदीय दलको नेता चयन गर्ने होमवर्कमा लागि परेको नेताहरुको दाबी छ । 

यता, सार्वजनिक बृतमा भने बालेन रास्वपाबाट प्रधानमन्त्री नबन्ने बरु पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्रीका रुपमा अघि सार्नेसम्मका अड्कलबाजी समेत भइरहेका छन् । तर रास्वपा नेताहरुले बालेन्द्र नै प्रधानमन्त्री हुनेमा कुनै शंका नरहेको जिकिर गरेका छन् ।

उता, आम नागरिक भने नयाँ सरकारको पर्खाइमा छन् । स्वयम् अन्तरिम प्रधानमन्त्री सुशीला कार्की मुलुकको बागडोर अर्थात् सत्ता हस्तान्तरण गर्न आतुर रहेकी छिन् । प्रधानमन्त्रीका हकदार बालेन मन्त्रीमण्डल विस्तार सहितका विषयमा आन्तरिक परामर्शमा व्यस्त छन् । यद्यपी नागरिकले बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकार देख्न भने अझैँ एक साता कुर्नुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update