News 24 Television
आर्थिक समृद्धि र रोजगारीका लागि पर्यटन, नयाँ सरकारले देला ध्यान ?

काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्यता, जैविक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलले भरिपूर्ण देश भएपनि पर्यटन पूर्वाधारको अभाव र राजनीतिक अस्थिरताका कारण अपेक्षित रूपमा पर्यटन विकास हुन सकेको छैन । 

हालै सम्पन्न आम निर्वाचनपछि सम्भावित राजनीतिक स्थिरताले पर्यटन क्षेत्रमा सुधारको अपेक्षा पर्यटन व्यवसायीहरूमा देखिन्छ । नयाँ सरकारले मुलुकको अर्थतन्त्रका निम्ति लाभदायी पर्यटन क्षेत्रलाई अघि बढाउने गरि योजना ल्याउला ? 

नेपालमा पर्यटनका लागि धेरै सम्भावना छन् तर पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार भने कमजोर छ ।  छिमेकी राष्ट्र चीन र भारतबाट मात्र १०% पर्यटक भित्र्याउन सके पनि नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रगति हुन सक्छ । 

भरपर्दो हवाई सेवा, व्यवस्थित सडक र पर्यटनस्थलहरूको पहिचान र त्यसको संरक्षणको कमी नै पर्यटन विकासमा प्रमुख चुनौती बनेको छ । भर्खरै सम्पन्न आम निर्वाचनबाट झन्डै दुई तिहाइको सरकार बन्ने निश्चित भएपछि पर्यटनको क्षेत्रमा पनि कोशेढुंगा साबित हुनेमा पर्यटन व्यवसायीको बिश्वास छ ।  आज हामीले अब बन्ने सरकारसंग पर्यटन व्यवसायीले कस्तो अपेक्षा गरेका छन् ? 

दक्षिण एसियाका केहि राष्ट्रहरुले भूगोलको हिसाबले सानो भएपनि पर्यटनलाई नै आधार बनाएर देशको अर्थतन्त्रलाई चलायमान बनाएका छन । नेपालसंग पनि पर्यटकीय क्षेत्रको कमी छैन । कमी छ त केवल भएका पर्यटकीय क्षेत्रको पहिचान, सम्बर्धन र प्रबर्धनको । 

पूर्वाधारको हिसाबले हेर्दा बिश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ८ वटा हिमाल नेपालमै पर्छन् । शान्तिका दूत भगवान गौतम बुद्ध नेपालमै जन्मिएका हुन् । त्यसबाहेक प्राकृतिक सौन्दर्यता, जैविक विविधता, सांस्कृतिक सम्पदाको साथै धार्मिक तथा ऐतिहासिक स्थलले भरिपूर्ण भएरपनि नेपालमा पर्यटनको क्षेत्रमा पुर्णरुपमा सम्पन्न बन्न सकेका छैन् । 

पर्यटन व्यवसायीहरूको अपेक्षा अनुसार नयाँ सरकारले अधुरा सडक पूर्वाधार समयमै पूरा गराउने, हवाई सेवामा थप सुधार गर्ने, युरोपियन युनियनको कालोसूचीमा परेको नेपालको हवाई सेवालाई हटाउन पहल गर्ने र पर्यटन स्थलहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने काम तत्काल गर्न आवश्यक छ । दुई ढुंगा बिचको तरुल भनेर चिनिने नेपालले आफ्ना दुई बिशाल बिकसित राष्ट्रसंग औधौगिक प्रतिष्पर्धा गर्नुको साटो दुबै राष्ट्रसंग पर्यटन प्रबद्र्धनको क्षेत्रमा सहकार्य गरेर अगाडी बढेमा यसले विदेशी मुद्रा आर्जनको साथै रोजगारी सिर्जनामा समेत ठूलो योगदान पुर्याउन सक्छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update