काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरणमा मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा सुनुवाई जारी छ । मंगलबारका लागि तोकिएको पेसीमा बहस नसकिएपछि बिहीबार जवाफी बहसपछि फैसला आउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा केहि समय पूर्पक्षका लागि थुनामा समेत बसे । रविविरुद्ध जेनजी आन्दोलनको बेला जेल ब्रेक गरेको आरोप समेत लाग्ने गरेको छ । तर, रविले आफूलाई जेल प्रशासनले नै सुरक्षाका कारण परिवारको जिम्मा लगाएको दाबी गर्दै आएका छन् ।
यस्तो स्थितिमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण जस्ता मुद्दा जोडेर अभियोग चलिरहेको बेला नागरिक सरकारकी महान्यायाधीवक्ता सविता भण्डारीले मुद्दा संशोधनको बाटो रोजिन । उनले सम्पत्ति शुद्धिकरणको मुद्दा संशोधन गर्ने गरि स्वीकृति प्रदान गरेपछि यो विषय सर्वोच्चमा विचाराधिन अवस्थामा छ । जुन मुद्दाको सुनुवाई निरन्तर चलिरहेको छ भने अब बिहीबार फैसला आउने अपेक्षा गरिएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले मुद्दा संशोधन गर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् । सर्वोच्चमा रविकोतर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पन्त, रमन श्रेष्ठदेखि महान्यायाधीवक्ता आफैले पनि प्रतिरक्षा गरिरहेकी छन् । यस्तोमा विपक्षबाट समेत बहस र प्रतिरक्षा चलिरहेको छ । जसमा त्रिपाठी पनि मुद्दाका एक पक्ष हुन् ।
मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको जिकिर गरेका छन् ।
रविको पक्षले बहस गरेपछि मुद्दाको पक्षले जवाफी बहस गर्ने प्रचलनअनुसार त्रिपाठीले बहस गर्नेछन् । त्यसपछि इजलासले निर्णय सुनाउने अपेक्षा गरिएको छ । यद्यपी अदालतले निर्णय सुनाउने मिति तोक्दै फैसला सुनाउने समय सार्न पनि सक्ने प्रावधान रहेको छ।
न्यायाधीशमाथि प्रश्न
न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि नै रवि लामिछानेको पक्षमा वकालत गरिसकेका छन् । न्यायाधीश बन्नुअघि रवि पोखरेलको क्लाएन्ट थिए । यसकारण पनि सर्वोच्चको इजलासमा प्रश्न उठाइएको थियो ।
रविको मुद्दाको पक्षमा बहस गरिसकेकाले पोखरेलले रविको मुद्दा हेर्न नहुने भन्दे प्रश्न उठाइएपनि पोखरेलले आफू न्यायाधीश बनेको एक वर्षसम्म यस्ता मुद्दा नहेरेको र कुलिङ पिरियड जस्तै राखेर त्यो अवधि सकिएपछि इजलासमा फर्किएको दाबी गरेका छन् । जसकारण न्यायाधीश पोखरेलमाथि अनेक शंकाहरु गर्न थालिएका छन् ।
रास्वपाले अहिले अभुतपूर्व बहुमत प्राप्त गरेपछि पोखरेलले स्वार्थको द्वन्द्ध मिसिने भन्दै इजलासमा प्रश्न उठाइएपनि किन मुद्दा हेर्न तम्सिए भन्ने प्रश्नकाबीच बिहीबारका लागि फैसलाको पर्खाई शुरु भएको छ ।
