News 24 Television
सांसद प्रशिक्षणमा जुट्यो रास्वपा, रवि र बालेन नै बेपत्ता

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा चुनावमा १ सय ८२ सिट सहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकार निर्माणको संघारमा छ । निर्वाचन आयोगले समानुपातिक तर्फका ११० जनालाई चैत ५ गते प्रमाणपत्र प्रदान गर्दैछ ।

निर्वाचन परिणाम राष्ट्रपति कार्यालयमा बुझाएपछि नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्नेछ । सरकार निर्माण गर्नुअघि रास्वपाले संसद छिर्ने तयारी गरेका आफ्ना निर्वाचित प्रतिनिधिहरुलाई मंगलबारदेखि अभिमुखीकरण प्रशिक्षण थालेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण प्रशिक्षणमा जुटेको छ । ललितपुरको ग्वार्काेस्थित एक होटलमा विशेष कार्यक्रमसहित मंगलबार शुरु गरिएको अभिमुखिकरण बुधबारसम्म चल्नेछ । अभिमुखीकरणमा सांसदले संसदमा खेल्ने भुमिका, उठान गर्ने एजेण्डा र अपनाउनुपर्ने रणनीति जस्ता विषय प्रधान बनाइएको छ ।

फागुन २१ को चुनावबाट निर्वाचित रास्वपाका १ सय ८२ जना सांसद मध्य अधिकांशले पहिलो पटक संसदीय यात्राको प्रारम्भ गर्दैछन् । जसलाई आफ्नो भूमिकाकोबारेमा समेत जानकारी छैन । 

संसदको भूमिका र सांसदले गर्ने कार्यभारकाबारेमा जानकारी दिनका लागि प्रशिक्षण आयोजना गरिएको हो । संसद सचिवालयका अधिकारीहरुले यसबारेमा सांसदहरुलाई अभिमुखीकरण गराएका छन् भने पार्टीको भूमिका र रणनीतिकाबारेमा पार्टी नेताहरुले प्रशिक्षण दिएका छन् । यो कार्यक्रमले संसदमा आफूले खेल्ने भूमिकाबारे सहज भएको सहभागी सांसदहरुको बुझाई छ । 

संसदको ठूलो दल बन्दाको चुनौति 

०७९ असार ७ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा २० सिट सहित चौथो शक्ति बनेको थियो । दोस्रो पटक फागुन २१ को चुनावमा सहभागी भएको रास्वपाले एमाले, कांग्रेस र नेकपा सहितका परम्परागत दललाई मात खुवाउँदै पहिलो दल बन्दा चुनौती थपिएको भान नेताहरुले गरेका छन् । नयाँ सांसदलाई प्रशिक्षण दिन पुगेका उपसभापतिद्घय डा. स्वर्णीम वाग्ले र डिपी अर्यालले रिजल्ट निकाल्ने गरी काम गर्नुपर्ने बताए । 

रास्वपाले निकै महत्व  दिएको नवनिर्वाचित सांसद अभिमुखिकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह भने उपस्थित छैनन् । लामिछाने विरामी भएका कारण अनुपस्थित रहेको दाबी गरिएको छ । पूर्व सहमति अनुसार नै प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन समेतको अनुपस्थिति केही रहस्यमय छ । 

उसो त भावी प्रधानमन्त्री घोषणा गरिएका बालेन समेत पहिलो पटक संसदमा प्रवेश गर्दैछन् । अभिमुखीकरण अरु नव निर्वाचित सांसदहरुको लागि जति महत्वपूर्ण छ, त्यो भन्दा बढी साहको लागि पनि महत्वपूर्ण छ । भावी प्रधानमन्त्रीका लागि संविधानतः संसदीय दलको नेता बन्नुपर्नेछ । तर उनको अनुपस्थितिले पार्टी भित्र र  बाहिर पनि केही संशयहरु पैदा गरिदिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update