News 24 Television
राई लिम्बु समुदायलाई उपेक्षा गर्दा माफी माग्न बाध्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अभुतपूर्व बहुमतको सरकार निर्माण गर्दैछ । रास्वपा सरकारले देशभर उत्साहसंगै केहि विभेदका विषय पनि चर्चामा छन् । जुन विषयमा रास्वपा सभापति रवि लामिछानेले नै माफी मागेका छन् । 

उल्लेख्य रुपमा जनसंख्या रहेको राई लिम्बु समुदायको प्रतिनिधित्व संसदमा रास्वपाले गराउन नसक्दा यस्तो प्रश्न जब्बर बनेको छ । 

राई लिम्बु समूदाय कोशी प्रदेशका धेरै जिल्लामा उल्लेख्य छन् । कोशी प्रदेशमा बाहुल्यता कायम गर्ने राई लिम्बु समूदाय जनसंख्याका हिसाबले पनि ठूलो देखिन्छ । कोशी प्रदेशमा जम्मा जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ भने १२ औं जनगणनाका अनुसार राईको जनसंख्या ७ लाख ५६ हजार ८९ रहेको आदिवासी जनजाती राष्ट्रिय उत्थानको कार्यालयले उल्लेख गरेको छ । 

यो नेपालको जनसंख्याको २.६ प्रतिशत हुन आउँछ । यस्तै,४ लाख १४ हजार ७ सय ४ लिम्बुको जनसंख्या रहेको छ । उनीहरु कोशी प्रदेशका पहाडी जिल्ला र झापा मोरङमा समेत बाक्लो रुपमा रहेका छन् । 

यसरी हेर्दा दुबै समूदायको जनसंख्या ११ लाख ७० हजार ७ सय ९३ रहेको देखिन्छ । जुन नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ को ४.०१ प्रतिशत हुन आउँछ । भने, कोशी प्रदेशको जम्मा जनसंख्यालाई हेर्दा राई लिम्बुको जनसंख्या अनुसार २३.६० प्रतिशत हाराहारीमा रहेको देखिन्छ । 

जुन जनसंख्या निर्णायक हुन्छ । यति धेरै संख्यामा रहेको राई लिम्बु समूदायबाट रास्वपामा प्रतिनिधित्व नहुनुलाई गम्भीर रुपमा लिएको भन्दै माफी नै मागेका छन् । 

कोशी प्रदेशबाट रास्वपाले प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहलाई निर्वाचित गराएर पठाएको छ भने एमाले अध्यक्ष केपी ओलीलाई पराजित नै गरिदिएको छ । यतिमात्रै नभई कोशी प्रदेशका २८ प्रत्यक्षतर्फका जम्मा सिटमा रास्वपाले १७ सिटमा जित निकालेको छ । 

यसलाई हेर्दा पनि कोशीबाट रास्वपाले ६०.७ अर्थात झण्डै ६१ प्रतिशतमा आफ्नो प्रभुत्व कायम गरेको देखिन्छ । 

रास्वपाले समानुपातिकतर्फ कुन जिल्लामा कति मत प्राप्त ग¥यो ?

क्रस    जिल्ला    प्राप्त मत

१    ताप्लेजुङ     ६,४९५

२    पाँचथर    ७,२९१

३    इलाम    २७,१३७

४    झापा    २,५६,९३८

५    मोरङ    २,०७,८६४

६    संखुवासभा १५,३४३

७    तेह्रथुम    ८,५९३

८    भोजपुर    ८,७३८

९    धनकुटा    १४,६७९

१०    सुनसरी    १,७८,३३३

११    सोलुखुम्बु    ७,२८३

१२    खोटाङ    ८,८७९

१३    जम्माः ७,४७,५७३

रास्वपाले देशभरबाट समानुपातिकतर्फ जम्मा ५१ लाख ८३ हजार ४ सय ९३ मत प्राप्त गरेको छ । यसमा देशभरको मतको स्थिति हेर्दा कोशीबाट रास्वपाले १४.४२ प्रतिशत मत प्राप्त गरेको देखिन्छ । 

यो मत सबै समूदायको भएपनि उल्लेख्य रुपमा रहेको राई लिम्बु समूदायबाट प्रतिनिधिसभामा प्रतिनिधित्व नहुनुलाई रास्वपा आफैले गल्तीको रुपमा स्वीकार गर्ने स्थिति बनेको छ ।

निर्वाचन आयोगका अनुसार नेपालमा मतदाताको संख्या १८५०३६८९ रहेको छ भने १,०८,३५,०२५ जम्मा मत खसेको देखिन्छ । जुन ५८.५६ प्रतिशत हो । यसलाई कोशी प्रदेशका जम्मा ३५,७४,३१० मतदाता मध्ये कति मत खस्यो भन्ने तथ्याङ्कमा दाँज्दा २०,९२,९९६ मत खसेको मान्न सकिन्छ । 

जसलाई कोशी प्रदेशबाट रास्वपाले ३५.७१ प्रतिशत मत प्राप्त गरेको मान्न सकिन्छ । यस्तोमा राई लिम्बुको जनसंख्याको प्रतिशत अनुसार नभएपनि प्रतिनिधित्व नै नहुनुलाई रास्वपा नेतृत्वले सच्याउने बाचासहित अघि बढ्दा त्यो समूदायले कसरी लिन्छ भन्ने विषय भने रोचक बन्न पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update