News 24 Television
बालेन भूमिगत कि योजना बनाउँदै ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि वरिष्ठ नेता तथा पूर्वकाठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने नयाँ सरकारप्रति सबैका चासो बढेको छ । 

बालेनले चुस्त, सानो र प्रभावकारी मन्त्रीमण्डल बनाउने योजना बनाइरहेको बताइन्छ । सभापति रवि लामिछानेको सांसद अभिमुखीकरण कार्यक्रममा अहिलेसम्म को को मन्त्री बन्ने टुँगो नभईसकेको बताएपनि बालेन नेत्तृत्वमा बन्ने मन्त्रीहरुप्रति भने सर्वत्र चासो रहेको छ । 

बालेनले आफु नेत्तृत्वको सरकारमा सानो मन्त्रीमण्डल बनाउन खोजेको बताइन्छ । रास्वपाले आफ्नो चुनावी वाचापत्रमा पनि मन्त्रीमण्डलको आकार घटाउने उल्लेख गरेको थियो । बालेनले मन्त्रीहरुको संख्या ११ देखि १५ सम्ममा सीमित राख्ने तयारी गरेको बताइन्छ । तत्काल डेलिभरी देखिने किशिमको सरकार बनाउने तयारीमा बालेन छन् ।

विभिन्न सञ्चारमाध्यममा मन्त्री छनोटका विषयमा पार्टी सभापति रवि लामिछाने र बालेनबीच रस्साकस्सी भएको उल्लेख भएपनि पार्टी पंक्तिले यसलाई अस्वीकार गर्दै आएको छ । बालेनले आफ्नो स्पीड र स्पिरिट अनुसारका योग्य व्यक्तिहरूलाई मन्त्री बनाउने चर्चा छ । उनी सम्भावित मन्त्रीहरूको सर्टलिस्ट तयार पारिरहेका छन् । 

सरकारमा प्रवेशपछि भ्रष्टाचार नियन्त्रण, पूर्वाधार विकास, युवा रोजगारी र सुशासनजस्ता प्राथमिकताका खाकाहरू पनि उनले तयार पारिरहेको बताइन्छ । केही दिनअघि बालेन निकटका असिम शाहले मन्त्री बन्न दौडधुप नगर्न आग्रह गर्दै बालेन प्रधानमन्त्री नियुक्त भएपछि उनले आफै क्याबिनेटको टीम बनाउने भन्दै स्टाटस लेखेका थिए । 

सम्भावित मन्त्रीहरु !

बालेन निकटका अनुसार उनी केही दिनदेखि गोप्य स्थानमा बसेर भावी सरकारको कार्ययोजना बनाइरहेका छन् । त्यसैले बालेन सांसद अभिमुखीकरण तालिममा नगएको बताइन्छ । 

मन्त्री बनाउन सांसदहरुले लगातार दबाब दिदै फोन गरेपछि उनी भूमिगत शैलीमा बसेका हुन् । यद्यपी बालेन सरकारको सम्भावित मन्त्रीहरुमा शिशिर खनाल, डीपी अर्याल, सस्मित पोखरेल, पुरुषोत्तम यादव, अमरेशकुमार सिंह, डा. स्वर्णिम वाग्ले लगायत रहेका छन् । यसमध्ये वाग्ले अर्थमन्त्री, अर्याल गृहमन्त्रीको दावेदार हुन् । 

शिक्षामन्त्री बनिसकेका खनाललाई यसपटक परराष्ट्रमन्त्री बनाउने चर्चा छ । त्यसैगरी मनिष झा, सुनिल लम्साल, डा. धनन्जय रेग्मीलाई पनि सम्भावित मन्त्री मानिएको छ । 

मधेशको प्रतिनिधित्व गराउँदै डा. अमरेशकुमार सिंहलाई पनि मन्त्री बनाउने सम्भावना छ । सुदन गुरुङ समेत सम्भावित मन्त्री हुन् । इन्दिरा रानामगर, सोविता गौतमदेखि डा. लेखजंग थापा र तोसिमा कार्कीलाई पनि सम्भावित मन्त्रीको रुपमा हेरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update