रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने आन्तरिक पर्यटकका साथै तेस्रो मुलुकका पर्यटक बढ्दा भारतीय पर्यटकको आगमन घटेको छ ।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२६ को जनवरी र फेब्रुअरी महिनामा लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक बढेका हुन् । नेपालमा निर्वाचन भएका कारण स्वदेशी पर्यटक फेब्रुअरीमा केही कम आए पनि गत वर्षको दुई महिनाको तुलनामा बृद्धि भएको छ ।
सन् २०२५ को तुलानामा सन् २०२६ को दुई महिनामा लुम्बिनी घुम्न आउने भारतीय पर्यटक घटेका छन् । फेब्रुअरीमा भारतीयको तथ्यांक गत वर्षको हारहारी रहेपनि जनवरीमा भने केही घटेको छ ।
विकास कोषका अनुसार सन् २०२६ को जनवरी र फेब्रुअरीमा गरी कुल २ लाख ७८ हजार ६६३ पर्यटककले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष यही अवधिमा २ लाख ५८ हजार ४४९ पर्यटकले लुम्बिनी घुमेका थिए ।
यो वर्षको दुई महिनामा तेस्रो मुलुकका ३१ हजार ५२६ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२५ को सोही अवधिमा २६ हजार ३३० पर्यटक आएका थिए । यो वर्ष भारतीय पर्यटक ४१ हजार ७४५ लुम्बिनी आउँदा गत वर्ष ४५ हजार ३४६ आएका थिए ।
नेपाली यो वर्ष दुई महिनामा २ लाख ६ हजार ३९२ लुम्बिनी आएका छन् । गत वर्ष यही अवधिमा १ लाख ८६ हजार ७७३ नेपाली पर्यटकले लुम्बिनी घुमेका थिए । विकास कोषका सूचना अधिकारी हरिध्वज राईले तेस्रो मुलुकका पर्यटक बृद्धि हुनु भनेको गुणस्तरीय पर्यटक आगमन भएको बुझ्नुपर्ने बताए ।
कोषको तथ्यांक अनुसार यो वर्ष तेस्रो मुलुकबाट जनवरी महिनामा ६९ देश र फेब्रुअरीमा ६२ देशका पर्यटक लुम्बिनी आएका छन् । तर, यो संख्या पनि विस्तारै बढ्दै जाने कोषको विश्वास छ ।
सडक संजाल राम्रो हुँदै गएको र निर्वाचनपछि मुलुकमा शान्ति र स्थिरता कायम भएकाले नेपालीसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक बृद्धि हुने अपेक्षा गरिएको छ । । बौद्ध धर्मावलम्बीसँगै हिन्दू धर्मावलम्बीले पनि लुम्बिनीलाई पवित्रस्थलका रूपमा लिने गरेका छन् ।
चालु वर्ष २०२६ को दुई महिनामा सबैभन्दा बढी तेस्रो मुलुकबाट लुम्बिनी घुम्न आउने पर्यटकको संख्या म्यानमारको भन्दा बढी छ । म्यानमारबाट दुई महिनामा ७ हजार ९९५ पर्यटक लुम्बिनी आएका छन् ।
यस्तै, श्रीलंकाबाट ७ हजार ५३, थाइल्याण्डबाट ५ हजार २६५, चीनबाट २ हजार ८११, दक्षिण कोरियाबाट १ हजार ८४८ र भुटानबाट १ हजार २८५ पर्यटक लुम्बिनी घुम्न आएका छन् ।
लुम्बिनीमा अब हुने धार्मिक तथा आध्यात्मिक कार्यक्रमले पनि पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । तर, लुम्बिनी आउने पर्यटकको बसाईं अवधि लम्बिन नसक्दा पर्यटन व्यवसायीले भने खासै लाभ उठाउन सकेका छैनन् ।
