काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई निर्वाचन आयोगले निर्वाचन सम्बन्धी प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।
आयोगले दलहरुसँगको परामर्शमा सपथग्रहणको समयसमेत तय गरिसकेको छ । अघिल्लो पटक चौथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक संसदको सबै भन्दा ठूलो दल बनेको छ भने कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौंथो दलमा खुम्चिएको छ । सपथपछि नयाँ संसद भवन छिर्दै गर्दा सांसदहरुले कस्तो रणनीति बनाउँदैछन् त ?
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल संसद भवन प्रवेश गर्दैछन् । अघिल्लो निर्वाचनमा चौंथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी भने झण्डै २ तिहाई सिटका साथ संसद प्रवेश गर्दैछ । कांग्रेस दोस्रो, एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्र्टी चौंथो दलका रुपमा संसदमा रहनेछ ।
पहिलो पटक धरान नगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि संसदमा प्रतिनिधित्व गर्दैछ । ७ सिटका साथ पाँचौं ठूलो दलको रुपमा श्रम संस्कृतिले संसदमा प्रतिनिधित्व गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटका साथ संसदको छैठौं दलका रुपमा रहनेछ । निर्वाचनको सबै कार्यक्रम सम्पन्न गरि आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचन सम्बन्धीको प्रतिवेदन पेश गरिसकेको छ ।
पुरानो संसद भवन भदौ २३ र २४ को आन्दोलनबाट ध्वस्त भएकाले यसपटक सिंहदरबार भित्र रहेको नयाँ भवनबाट संसद सञ्चालन हुनेछ । विगत लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका दलहरु यसपटक प्रतिपक्षको भूमिकामा रहँदा कसरी प्रस्तुत हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।
एमालेले निर्वाचनमा पाएको असफलताको समिक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने नवनिर्वाचित सांसद एवम् एमाले सचिव अर्यालको भनाई छ । शर्माले जस्तै अन्य विपक्षी दलहरुले पनि सरकारको काम कारबाहीका आधारमा भूमिका खेल्ने बताउँछन् ।
बढ्दो महँगी, विदेशिएका युवाहरुको समस्याका साथै नेपालको संविधानमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा जनजीविकासँग जोडिएका मुद्दामा आफूहरुको ध्यान केन्द्रित रहने नेपाली कम्युनिस्ट पार्टीकी नेतृ बलावती शर्मा बताउँछिन् ।
देशकै सबै भन्दा ठूलो दल बनेको रास्वपाका सांसदहरु भने निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई जनताले अस्वीकार गरि नयाँ पुस्तामा पुस्तान्तरण गरेको बताउँछन् । त्यसैले जनताको माग र इच्छाअनुसार काम गर्नु नै आफूको प्राथमिकता हुने रास्वपा सांसदहरु बताउँछन् ।
राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली
२०७९ सालको निर्वाचनबाट संसदको पाँचौ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने नयाँ संसदमा ५ सिटमा खुम्चिएर छैंठौं दल बनेको छ । राजसंस्थाको वकालत गर्दै आएको राप्रपाबाट ज्ञानेन्द्र शाही मात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रत्यक्ष निर्वाचित शाहीलाई नै राप्रपाले संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । राप्रपाले मुलुकमा पछिल्लो समय राजसंस्थाको आवश्वकता झनै खड्किएको बताएको छ । आगामी संसदमा पनि आफ्नो पुरानै मुद्दालाई उठाउने बताएको छ ।
गत भदौ २३ र २४ को युवा आन्दोलनपछि भएको निर्वाचनबाट रास्वपा ठूलो दल मात्रै होइन, झण्डै दुईतिहाईको सिट हासिल गरेको छ । विगतमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउँदा सरकारले स्थिरता पाउन सकेको थिएन । अहिले भने स्पष्ट बहुमत मात्र नभई झण्डै दुई तिहाई पाएको रास्वपा सरकारले कसरी काम गर्छ भने आम नागरिकको चासो छ ।
