News 24 Television
किन रिसाए प्रचण्ड ? मत नहाल्ने, हाल्न नजानेमाथि कारबाही गर्ने चेतावनी

काठमाडौं । निर्वाचन परिणामपछि दलहरु धमाधम नेताहरुमाथि कारबाहीको डण्डा चलाउन थालेका छन्  । कांग्रेसभित्रको निर्मम कारबाहीपछि नेपाली कम्युनिस्ट पार्टीले पनि निर्मम कारबाही गर्ने भनिरहेको छ । 

नेकपाका संयोजक प्रचण्डले जनवर्गिय संगठनका नेताहरुलाई सम्बोधन गर्दै पार्टीमा भोट नहाल्ने, हाल्न नजाने र अन्यत्र भोट हाल्नेको विवरण उपलब्ध गराउन अपिल गर्दै कारबाहीको चेतावनी दिएका छन् ।

निर्वाचन परिणामले पुराना र स्थापित भनिएका दलहरु स्तब्ध प्राय बनेका छन् । निर्वाचनको परिणाम रोचक ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पोल्टामा पारेपछि दलहरुमा आश्चार्य, आक्रोश र राजनीतिक मनोवृत्ति नै फेरिएको देखिन्छ । 

यस्तोमा निर्वाचन परिणामले सकारात्मक परिणाम नदिएपछि नेकपा संयोजक प्रचण्डले कडा शब्दमा कारबाहीको चेतावनी दिएका छन् । पार्टी छाडेर जानेमाथि सांसद भएकोबाहेक खण्डमा कारबाही नगर्ने भन्ने गरेका प्रचण्डले यो पटक आक्रोशित अभिव्यक्ति दिए । 

बाबुराम भट्टाराईदेखि जनार्दन शर्मासहितका नेताहरुले पार्टी छाड्दा कारबाही नगरेको उदाहरण दिने गरेका प्रचण्डले निर्वाचनमा पार्टीलाई लिएर गएपनि आफू पूर्णतः संसदीय भाषमा विश्वास नगर्ने समेत भन्ने गर्थे । तर, प्रचण्डले निर्वाचन परिणामपछि भने आक्रोशित बन्दै पार्टीका निम्ति सगर्व नलाग्नेमाथि कारबाही गरेर नै पार्टीको शुद्धिकरण गर्ने भनेका छन् । 

भोट कता गयो ?

नेकपाले भोट कता कसरी पुग्यो भन्ने विषयमा समीक्षा गर्ने भनेको छ । समीक्षा गर्दै भोट कसरी आफ्नोमा आएन भन्ने समीक्षा गर्ने भनेको नेकपाले प्रारम्भमै कारबाहीबाट शुद्धिकरण गर्ने भनेको छ । ठिक यहि स्थिति एमालेमा पनि देखिन्छ । 

पार्टीको हितभन्दा बाहिर जाने जोसुकैलाई कारबाही गर्ने र इमान्दारहरुको चुस्त संगठन निर्माण गर्नुपर्ने नेताहरुले सार्वजनिक रुपमै भन्न थालेका छन् । यस्तोमा नेकपाले पनि शुद्धिकरणको पहिलो शुरुवात पार्टीमा रहने तर, मतदानका निम्ति काम नगर्नेमाथि निर्मम कारबाही गर्ने भनेको छ । 

२५ सय बढि केन्द्रीय सदस्य बनाएका प्रचण्डले यो समय र परिस्थितिलाई उपर्युक्त अवसर बनाउने स्थिति देखेका छन् । 

जुन स्थिति अब फेरि निर्माण हुन नसक्ने स्थिति बन्ने उनको ठम्याइ देखिन्छ । यस्तोमा पार्टीमा सक्रिय र सकारात्मक काम गर्नेलाई जिम्मेवारी दिने र पद ओगटेर काम नगर्नेलाई कारबाहीबाट बिदा गर्ने रणनीति अख्तियार गर्दै अघि बढ्न खोजेको देखिन्छ । तर, मतदाताको मनोविज्ञान कसरी फेरियो र मत आफ्नो पक्षमा आएन भन्ने कुराको समीक्षाको फैसला कस्तो आउला भन्ने विषय भने चासोमा छ । 

कारबाहीपछि कस्तो बन्ला नेकपा ?

नेकपा छाडेर रास्वपामा गएर १६ जना सांसद बनिसकेको नेकपाकै नेताहरुले दाबी गर्ने गरेका छन् । यस्तोमा नेकपाले किन यस्ता नेताहरुको रक्षा गर्न सकेन ? कारबाही धमाधम गर्दा कति नेता बाँकी रहलान ? तमाम प्रश्न पेचिला बनेका छन् । तर, २५ सयमाथिको केन्द्रीय समितिलाई चुस्त बनाउने र योग्य, सक्षम, इमान्दार र जनताप्रति झुकेका नेताहरु छान्न सकेमा भने यो नेकपाका निम्ति अवसर नै हुनेछ । तर, के प्रचण्डले यसरी नै काम गर्लान ? उत्तेजनामा आएर कारबाही चल्ने स्थिति बन्ला वा नतिजामुखि बन्ला ? यो भने कारबाहीपछि नै थाहा हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update