News 24 Television
दलका भातृसंगठन खारेजी गर्ने बालेनको संकेतपछि नेविसंघले त्याग्यो काँग्रेसको भातृत्व

काठमाडौँ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काँग्रेससँगको भातृ नाता तोडेको घोषणा गरेको छ । यसलाई आगामी बन्न लागेको बालेन नेतृत्वको सरकारले दलीय भातृसंगठन खारेज गर्ने एजेन्डा छल्ने रणनीतिका रुपमा हेरिएको बुझिन्छ । आफूलाई काँग्रेसको भातृसंगठन नरहेको देखाउनका लागि नेविसंघले काँग्रेसबाट अलग्गिएर स्वतन्त्र संगठन रहने रणनीति अवलम्बन गरेको विश्लेषण भइरहेको छ । शुक्रबार काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले अब पार्टीको सिधै नियन्त्रणमा रहने भ्रातृ संस्थाका रूपमा नरही स्वतन्त्र र स्वायत्त विद्यार्थी संगठनका रूपमा अघि बढ्ने निष्कर्ष निकालेको थियो । संघका सभापति दुजाङ शेर्पाका अनुसार, कांग्रेसका सिद्धान्तप्रति आस्था कायमै राखे पनि संगठनलाई प्रत्यक्ष पार्टी संरचनाबाट मुक्त गरी विद्यार्थी हितमा केन्द्रित गर्न यो कदम चालिएको हो । 

सभापति शेर्पाले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जानका लागि यस्तो निर्णय गरिएको बताएका छन् । आइतबार उनले नेविसंघ अब काँग्रेसको परम्परागत ‘भ्रातृसंगठन’ भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरे । उनका अनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ । एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको उनको तर्क छ ।

यो निर्णयलाई उनले ‘सेपरेसन’भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’को रूपमा बुझ्न आग्रह गरेका छन् । साथै, काँग्रेस नेतृत्वसँग असन्तुष्टि समेत उनले व्यक्त गरेका छन् । लामो समयदेखि तदर्थ समितिले चलाउँदै आएको नेविसंघको १२ औं महाधिवेशन आगामी वैशाख २० र २१ गतेका लागि तय गरिएको छ । पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको उनले स्पष्ट पारे । ३२ वर्षे उमेर हदबन्दी लागू गरी परिमार्जन गरिएको विधान पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि फिर्ता नपाउँदा सेप्टेम्बरमै हुनुपर्ने अधिवेशन रोकिएको उनको दाबी छ । आफूले ५ पटक राजीनामा दिए पनि नेतृत्वले अधिवेशन गराउनै पर्ने दबाब दिएको र अब पार्टीको आर्थिक सहयोगविना नै पारदर्शी कोष संकलन गरी मितव्ययी ढंगले महाधिवेशन सम्पन्न गर्ने पनि उनले बताए । 

काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले भने नेविसंघ काँग्रेसको सन्तानजस्तै रहेकोले अलग्गिन नसक्ने धारणा राखेका छन् । नेपालको राजनीतिक इतिहासमा नेविसंघको योगदान अतुलनीय रहेको र यसलाई अलग राखेर हेर्दा इतिहास नै अधुरो हुने उनको भनाइ छ । आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघको ज्ञापनपत्र बुझ्दै उनले पञ्चायतकालदेखि प्रजातन्त्र पुनस्र्थापनासम्म संघले गरेको बलिदान पार्टीको भन्दा कम नभएको बताए । बदलिँदो राजनीतिक परिस्थिति र नयाँ दलहरूको उदय भइरहेको सन्दर्भमा ४० वर्षमुनिका करिब १ करोड २० लाख युवा जनमतलाई समेट्न नेविसंघको भूमिका अझ सशक्त हुनुपर्नेमा उनले जोड दिए ।

दलका भातृ विद्यार्थी संगठनहरु खारेज गर्ने संकेतपछि नेविसंघले त्यस्तो काम नगर्न नयाँ बन्ने सरकारलाई चेतावनी समेत दिएको छ । रास्वपाका नेता बालेनको नेतृत्वमा बन्न लागेको सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भइरहेको भन्दै अध्यक्ष शेर्पाले सरकारको त्यो कदम ‘आगोको गोलामा हात हालेसरह हुने’ चेतावनी दिए । विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेनहरुले ¥याप गाउन पाउने अधिकार प्राप्त भएको स्मरण गराउँदै उनले त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update