News 24 Television
कांग्रेस संकट उत्कर्षमा, देउवा समूह सक्रिय बन्दा गगन हायलकायल

काठमाडौं । आइतबार विहान नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक बसिरहेको थियो । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको कांग्रेसले सभापति गगन थापाको राजीनामा र चुनावी हारको समिक्षा गरिरहेको थियो ।

यता, धुम्बाराहीमा संस्थापन इतर पक्षका नेताहरु छुट्टै बैठकमा जुटे । समानान्तर संगठनको गतिविधि थालेका उनीहरु १४ औँ महाधिवेसनबाट निर्वाचित सदस्यको केन्द्रीय समिति बैठक बोलाउने तयारीमा जुटेका छन् । कांग्रेस औपचारिक विभाजनतिर जाँदैछ कि समाधानतर्फ ? 

नेपाली कांग्रेस इतिहासकै गम्भिर मोडमा पुगेको छ । नेता कार्यकर्ताहरुले एकअर्का प्रति विश्वास दिलाउन सकिरहेका छैनन् । निर्वतमान सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेसन मार्फत् नेतृत्वमा आएका सभापति गगन थापा पक्ष आआफ्नै ढंगले अघि बढिरहनु मुख्य समस्याको कारण बनेको छ । 

फागुन २१ मा सम्पन्न चुनावी हारले वर्तमान कांग्रेस नेतृत्व पंक्ति गम्भिर समिक्षामा जुटेको दाबी गरिरहेको छ । तर हारकै कारण थापाले राजीनामा बुझाएर आफू बैठकमा अनुपस्थित रहे । नेतृत्वबाट राजीनामा दिएर नैतिक जिम्मेवारीबाट पन्छिन खोजेका गगन पार्टी अफिस फर्किएका छैनन् ।  

उनी बाहेक अन्य नेताहरु भने बैठक मार्फत् समस्याको समाधान खोजिरेहका हुन् । गगनले राजीनामा दिए पनि देउवा पक्षधर नेताहरु सानेपा बैठकमा उपस्थित छैनन् । यसअघिको जस्तो पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिडभाड पनि छैन । 

भदौँ २४ को आन्दोलनको चपेटामा परेको पार्टी कार्यालय पुर्ननिर्माण त भइरहेको छ तर पार्टी पुननिर्माण कहिले भन्ने प्रश्न उब्जिएका छन् । यसले कांग्रेसको आगामी भविष्य अन्योलग्रस्त अवस्थामा पुगेको छ । तर नेताहरु भनिरहेका छन्, पार्टीको विरासत फर्काउँछौ, बलियो कांग्रेस बनाएरै छाड्छौँ । 

आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताहरुले सभापति गगनको राजीनामा अस्वीकृत गर्ने र चुनावी हारको जस पार्टीको सबै नेता कार्यकर्ताले लिनुपर्नेमा एकमत जस्तो देखिए । 

पार्टी भित्रको अन्तरघातले चुनावमा सोचेजस्तो परिणाम आउन नसकेको नेताहरुको व्रिफिङ छ । त्यसको मुख्य कारण देउवालाई मानिएको छ ।  देउवाले समयमै पार्टी महाधिवेसन गर्न नसक्नु, सत्ता र शक्तिमा टारिहनुको आरोप एकथरी नेताहरुको छ । अर्काथरी चाँही चुनावको मुखका गगनले हठातमा विशेष महाधिवेसन मार्फत् नेतृत्व हत्याउनुलाई कांग्रेस कमजोर हुनुको कारण मानेका छन् । 

पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक चलिरहेको भएपनि कांग्रेस संस्थापन इतर पक्षका नेताहरु धुम्बाराहीमा आन्तरिक छलफलमा जुटे । पुर्णबहादुर खड्का र शेखर कोइरालासहित नेताहरु जुटेको छलफलले पार्टीका निर्णय र चुनावी समिक्षा गर्न १४ औँ महाधिवेसन अन्र्तगत रहेर केन्द्रीय कार्यसमिति बैठक बोलाउन तयारी गरेका छन् ।

यसले कांग्रेस विवाद थप उत्कर्षमा पुगेको पुष्टी हुँदै गएको छ । उता विद्यार्थी संगठनले आफ्नो स्वायत्तता खोज्दै मातृ पार्टीबाट अलग भएको घोषणा गरिनुले पनि इतर पक्ष समानान्तर पार्टी निर्माणको तयारीमा रहेको संकेत गरेको छ ।   

अदालतको हातमा कांग्रेसको भविष्य 

यतीबेला विशेष महाधिवेसनबाट प्राप्त उपलब्धी संस्थागत गर्न गगन समूहलाई हम्मेहम्मे भइरहेको छ । निर्वाचनको मुखमा निर्वाचन आयोगले थापालाई मान्यता दिँदा इतर पक्षका नेताहरु पनि गगनको हातबाट टिकट लिन बाध्य भएका थिए । तर पनि पार्टी नेतृत्वको विवादलाई लिएर देउवा समूह अदालतसम्म नै पुगेको छ । सर्वोच्चको फैसला आइसकेको छैन । 

त्यसैले कांग्रेसमा दुई सभापति रहेको मिन विश्वकर्माले सार्वजनिक अभिब्यक्ति नै दिएका थिए । अदालतले जतिचाँडो निर्णय दियो त्यसैले कांग्रेसको भविष्य निक्र्याैल गर्ने नेता श्याम घिमिरे बताउँछन् । 

देउवाको पोल्टामा नेविसंघ ?

नेपाली कांग्रेसको नेता उत्पादन गर्ने तथा बलियो भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) शनिवार मात्रै पार्टीबाट अलग भएको घोषणा गर्यो । पार्टीमा दुई पक्ष विच कडा टकरावको स्थिति बन्दा नेविसंघले कुनै पनि पक्षको समर्थन नगरि स्वायत्त बन्न चाहेको नेबिसंघ सभापति दुजाङ शेर्पा बताउँछन् । पार्टी भित्रको विवादले संगठन चलायन बनाउन पनि ग्राहो अवस्था बनेको उनको तर्क छ । 

गम्भीर मोडमा कांग्रेस 

पार्टी जीवनकै ठुलो समस्याबाट गुज्रिरहेको कांग्रेसमा दाई र भाईको लडाँईले तेस्रो पक्षलाई फाइदा भइरहेको छ । फागुन २१ को चुनावी पराजयको आन्तरिक रिपोर्टिङले पनि अन्तरघात मुख्य कारण मानेकोे छ । 

देशभरका २१ क्षेत्रमा अन्तरघात भएको प्रवक्ता देवराज चालिसेले दाबी गरेका छन् । चुनावकै बेला पनि अडियो प्रकरण बाहिरिएको थियो । यस्तो अवस्थामा कांग्रेसका दुबै पक्ष आत्मसमीक्षाको बाटो रोजेर एउटै विन्दुमा पुग्नु नै बुद्धिमानी हुने कांग्रेस निकट बुद्धिजीवीहरु बताउँछन् । अन्यथा नेपाली राजनीतिमा सबैभन्दा ठुला लोकतान्त्रिक दलका रुपमा कहलीएको कांग्रेस इतिहास पानामा खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update