News 24 Television
‘फेक रेस्क्यू’ प्रकरणमा क–कसलाई चलाइँदैछ मुद्दा ?

काठमाडौं । हिमाल चढ्न आउने पर्यटकलाई भगवान् मान्ने हाम्रो संस्कार हो।तर,नेपालको पर्यटन क्षेत्रमा एउटा यस्तो ग्याङ सक्रिय छ,जसले पर्यटकलाई भगवान् होइन डलर फल्ने रुख देख्छ । 

बिरामी नै नभएकालाई बिरामी बनाएर, नक्कली उद्धारको नाटक मन्चन गरी करोडौँ लुट्ने यो संगठित गिरोहको फाइल अहिले सीआइबीले खोलेको छ।एक महिनादेखि सुक्ष्म अनुसन्धान गर्दै आएको सीआइबीले नक्कली उद्धारमा संलग्न रहेको ठहर गर्दै उद्धार कम्पनीहरुदेखि,हेलिकप्टर कम्पनीसम्म तथा ट्रेकिङ एजेञ्सीहरुदेखि र अस्पताल सञ्चालकसम्म गरी ३३ जना विरुद्ध मुद्दा अगाडि बढ्ने भएको छ । 

फेक रेस्क्यू प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान पुरा गरेर सीआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ । हिमाली क्षेत्रबाट हुने हेलिकप्टर उद्धार नक्कली हुने गरेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमले समेत प्रश्न उठाएपछि पर्यटन मन्त्रालयले गरेको छानविन प्रतिवेदनका आधारमा सिआइबीले अनुसन्धान अगाडी बढाएको थियो ।

पर्यटन क्षेत्रमा व्याप्त फेक रेस्क्यु धन्दा गर्नेहरु विरुद्ध जारी राखेको अनुसन्धानको पहिलो प्रतिवेदन सीआईबीले सरकारी वकिल समक्ष पेश गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयमा हाल पक्राउ परेका ११ जना र फरार रहेका २२ जना विरुद्ध १२ सय ४३ पृष्ठको अनुसन्धान प्रतिवेदन पेश गरिएको छ । 

सीआइबीका अनुसार फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा २१ वटा ट्रेकिङ तथा ट्राभल्स कम्पनि, ५ वटा रेस्क्यु कम्पनि, ३ वटा अस्पताल, ४ वटा हेलिकोप्टर कम्पनि, ३ जना विदेशी बीमा कम्पनिका नेपाली एजेन्ट र १ जना गाइडलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ । 

केही प्रतिवादीहरु धेरै कम्पनिमा आवद्ध भएको देखिएको र हाल जम्मा ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।

चार रेस्क्यु कम्पनीविरुद्ध मुद्दा चलाउन सिफारिस

सीआइबीले फरार रहेका २२ जनासहित ११ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। एभरेष्ट एक्सपेरियन्स एसिस्ट, माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र हेली अन कलका संचालक तथा कम्पनी विरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

चार हेलिकोप्टर कम्पनी कुन कुन ?

अल्टिच्युड एयर, एयर डाइनेस्टी, माउन्टेन हेलिकोप्टर र बेसक्याम्प हेलिकोप्टर तथा मनाङ एयर विरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

तीन अस्पतालमाथि मुद्दा चलाउन सिफारिस

रेस्क्यू कम्पनी, हेलिकप्टर कम्पनीका साथै सीआइबीले तीन अस्पतालमाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिस गरिएका अस्पतालहरुमा लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल, बत्तिसपुतलीस्थत स्वाकन अस्पताल र सोह्रखुट्टेस्थित ईरा अस्पताल रहेका छन् । 

२१ भन्दा बढी ट्रेकिङ कम्पनी

यस्तै, फेक रेस्क्युमा संलग्न २१ ट्रेकिङ तथा ट्राभल्सलाई मुद्दा चलाउन सिफारिस गरिएको  छ । मास्टर हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन, डाइनेस्टि एसिस्टेन्स, म्याजिक हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन, स्नो आइस ट्राभल्स एण्ड टुर, नेपाल हाइकिङ एडभेञ्चर्स, प्रिसियस ट्राभल्स एण्ड टुर्स, नेपाल ट्रेक एडभेन्चर्स एण्ड एक्सपिडिसन, रोयल होलिडेज एडभेञ्चर्स प्रा.लि., स्प्रिच्युअल एक्सकर्सन, फस्ट एसिस्टेन्स नेपाल प्रा.लि, एक्साइटिङ नेपाल प्रा.लि., एडभेन्चर्स मास्टर ट्रेक्स एण्ड एक्सपिडिसन, ईम्याजिन नेपाल एडभेञ्चर्स, हेली हब नेपाल प्रा.लि., पानारोमा हिमालय ट्रेकिङ, नेपाल माउन्टेन एसिस्टेन्स प्रालि र आविस्कार ट्राभल्स कम्पनीका साथै तीनका संचालक विरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।

चार बीमा कम्पनीका नेपाली एजेन्टविरुद्ध मुद्दा चलाउन सिफारिस

सीआइबीले फेक रेस्क्यु धन्दामा संलग्न चार विदेशी बीमा कम्पनीका नेपाली एजेन्टलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ।जसमा कुमार भण्डारी, श्याम सुन्दर कँडेल, जयराम रिमाल र रामकुमार फुयाँल विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

कुन कम्पनीका को को छन् ?

एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्सका मुक्ति पाण्डे र सुवास केसी, माण्टेन रेस्क्यु सर्भिसका विवेक पाण्डे र जयराम रिमालविरुद्ध पनि कारबाहीको सिफारिस गरिएको छ । रिमाल उद्धार कम्पनीका साथै नक्कली उद्धार गरेर ल्याइएका पर्यटकको उपचार गर्ने गरिएको स्वाकोन अस्पतालका संचालक समेत रहेको अनुसन्धानबाट खुलेको छ । 

नेपाल चार्टर सर्भिसका विवेकराज थपलिया र रविन्द्र अधिकारी, श्रीदी अस्पतालका संचालक डाक्टर गिर्वाणराज तिमिल्सिना, स्वाकोन अस्पतालका मिनल्मा पाण्डे र श्याम सुन्दर कंडेलमाथि पनि कारबाहीको सिफारिस भएको छ । 

मुद्दा चलाउने सूचीमा रहेका १६ ट्रेकिङ कम्पनीमा हिमालयन मास्र्टस एडभेन्चर एण्ड ट्राभल कम्पनीका सन्दिप ढुंगाना, रोयल होलिडेजका सन्दिप तिवारीलगायत छन् । नक्कली उद्धारमा संलग्नमा  माण्टेन हेलिकप्टरका राजेन्द्रबहादुर सिंह र सन्दिप भण्डारी , मनाङ एयरका प्रकाश बाबु दाहाल ,अल्टिच्युड एयरका सुदिप भन्ने चन्द्रप्रसाद प्याकुरेल र पासाङ दावा तामाङको भुमिका समेत खुलाएर मुद्दाका लागि सिफारिस भएको छ ।

विरामी हुँदै नभएको व्यक्तिको विल उठाएर रकम असुल गर्ने समुहमा संलग्न रहेको आरोपमा एरा अन्तराष्ट्रिय अस्पतालका पाँच जना विरुद्ध पनि मुद्दा चलाउन सिआइबीको सिफारिस छ ।

सीआइबीले पक्राउ परेका अभियुक्त र फरार रहेका अभियुक्तहरुलाई मुलुकी अपराध संहिताको राष्ट्रहित प्रतिकुल कसुर, आपराधिक लाभ, लिखत सम्बन्धी कसुर र संगठित अपराध सहितको एकीकृत कसुरमा मुद्दा लगाउन सिफारिस गरेको छ । उनीहरुबाट ९४ करोड ८४ लाख, ९७ हजार ३ सय ९१ रुपैयाँ अर्थात २९ लाख ९८ हजार ८ सय २३ डलर र १४ हजार ५ सय युरो बिगो कायम गर्न सिफारिस गरिएको छ ।

सीआइबीले यसलाई सानो अंश मात्र भनेको छ, बृहत अनुसन्धान अझै बाँकी छ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा नै बदनाम गराउने फेक रेस्युको संगठित अपराधको मुद्दा कसरी अघि बढ्छ र कस्तो फैसला आउँछ, प्रतिक्षा गर्नुपर्नेछ । 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update