काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने बताए । घटनाको सत्य अन्वेषण र न्याय निरुपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘२०८२ साल भाद्र २३ र २४ गतेको नवयुवा विद्रोहको क्रममा भाद्र २३ गतेको राज्यशक्तिको चरम दुरुपयोग र भाद्र २४ गतेको हिंसा, निजी तथा सार्वजनिक सम्पतीको क्षतिको विवरण तथा मानवीय क्षतिसमेत भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरुको निष्पक्ष छानविन, सत्य अन्वेषण र न्याय निरुपण हुनुपर्छ । घटनामा दोषिहरुलाई कानूनी कठघरामा उभ्याइ न्याय सुनिश्चित गर्नुपर्छ । गौरीबहादुर कार्कीज्यूको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन निर्वाचनभन्दा पहिले नै सार्वजनिक हुनुपथ्र्यो । यसबारेमा हामी सरकारको धारणा पनि माग गर्दछौँ । अहिले तत्काल सार्वजनिक हुनुपर्छ । प्रतिवेदन सार्वजनिक पनि होस् र त्यसको कार्यान्वयन पनि होस् ।’
उनले राज्यशक्तिको दुरुपयोग र हिंसा मच्चाउनेमाथि कारबाही नगरिए मुलुकले फेरि उही नियतीको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिए ।
