काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । वर्तमान प्रहरी महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गते अवकाशमा जादै छन् ।
अर्यालको बिदाइसँगै अब सशस्त्र प्रहरीको कमान्ड कसले सम्हाल्छ भन्ने चर्चा सुरक्षा वृत्तमा चुलिएको छ । २०५४ साल चैत १८ गते नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका राजु अर्याल सशस्त्र प्रहरीमा स्थानान्तरण भई संगठनको सर्वोच्च कमान्डर बने ।
उनको कार्यकाल सीमा सुरक्षा, कर्मचारीको वृत्ति विकास र आन्तरिक व्यवस्थापनका हिसाबले सफल मानिएको छ । रोचक कुरा त के छ भने,अर्यालसँगै भर्ना भएका नेपाल प्रहरीका ब्याचमेट दानबहादुर कार्की गत कात्तिकमा मात्रै आईजीपी बनेका थिए ।
हाल प्रहरीको ३० वर्षे सेवा अवधि रहेको प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएसम्म कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहनेछन् । नेपाल प्रहरीबाट एक पद बढुवा लिँदै सशस्त्रमा स्थानान्तरण भएका अर्याल भने पहिले नै आइजीपी बनेका हुन् ।
अर्याल ३० वर्षे सेवा अवधि बाँकी छँदै चार वर्षे पदावधिका कारण अवकाशमा जाँदै छन् । २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका अर्यालको चार वर्षे कमान्ड सफल रहेको सशस्त्र प्रहरी बलका अधिकारीहरू बताउँछन् ।
सशस्त्र प्रहरी बलका कर्मचारीको वृत्ति विकासदेखि सीमा क्षेत्रको सुरक्षा तथा आन्तरिक व्यवस्थापनमा अर्याल निर्विवाद रहेको मूल्याङ्कन छ ।
अर्यालको उत्तराधिकारी को ?
अर्यालको उत्तराधिकारीको कार्यकाल भने दुईवर्ष मात्र रहने छ । अर्यालपछि हुने आईजीपी हालको सशस्त्र प्रहरी बलको कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् । अहिले यो दौडमा दुई जना एआईजी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
दाबेदार नम्बर १ः एआईजी नारायणदत्त पौडेल
वरिष्ठताको सूचीमा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेल २०७९ जेठ ६ मा एआईजी बने । उनी हाल मानवस्रोत विकास विभागको जिम्मेवारीमा छन ।
दाबेदार नम्बर २ः एआईजी वंशीराज दाहाल
वरिष्ठतामा दोस्रो स्थानमा रहेका बंशीराज दाहाल २०७९ असोज २८ मा एआईजीमा बढुवा भएका थिए । हाल उनले सीमा सुरक्षा विभाग समालिरहेका छन । यद्यपि, अर्का एआईजी गणेश थापा मगर पनि सशस्त्रको आइजी बन्ने दौडमा छन् ।
अहिले उनी कार्य विभागका प्रमुख छन् । तर पौडेलको टोलीभन्दा थापा जुनियर ब्याचको भएकोले यो प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना प्रवल छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ ले आईजीपी चयनका स्पष्ट चार आधारहरू तय गरेको छ ।
– ज्येष्ठता र कार्यकुशलता
– नेतृत्व क्षमता र आर्थिक अनुशासन
– व्यवस्थापकीय एवं रचनात्मक क्षमता
– तल्लो तहका कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्य
अर्धसैनिक प्रकृतिको यो संगठनमा अहिलेसम्म सरकारले वरिष्ठतालाई नै प्राथमिकता दिँदै आएको इतिहास छ । तर, राजनीतिक दबाब र शक्ति केन्द्रको चलखेलले कहिलेकाहीँ समीकरण बदल्न सक्ने आशङ्का पनि गरिन्छ ।
सशस्त्र प्रहरी बललाई थप व्यावसायिक, प्रविधिमैत्री र विवादरहित बनाउनु नयाँ नेतृत्वको मुख्य चुनौती हुनेछ । वरिष्ठतालाई सम्मान गर्ने कि नयाँ प्रयोगतर्फ लाग्ने ? त्यो चाँही अब सरकारको हातमा छ ।
