काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन बिहिवार पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । शुक्रवार उनी प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन् । काठमाडौँको मेयर हुँदै प्रधानमन्त्रीसम्मको उनको यो घटनाक्रमलाई नेपाली राजनीतिमा चमत्कारिक यात्राको रूपमा हेरिएको छ ।
३६ वर्षीय बालेन पूर्व ¥यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन् । उनी २०७९ मा स्वतन्त्र उम्मेदवारको रूपमा महानगरको मेयर निर्वाचित भएका थिए ।
उनी भ्रष्टाचारविरुद्धको कडा अभियानका लागि चर्चित बने । गत भदौँमा जेजनी आन्दोलनपछि पुराना दलहरुप्रतिको वितृष्णाको मुद्दा चर्को बन्दा उनले रास्वपासँग सहकार्य गरे ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले अभूतपूर्व सफलता हासिल ग¥यो । स्थापना भएको ३ वर्षभित्रै रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा करिब १८२ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ ।
बालेनले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे । परम्परागत दलहरूको दबदबा तोड्दै युवा पुस्ताको आकांक्षा बोकेको रास्वपाले पहिलो पटक एकल बहुमतको सरकार बनाउने अवसर पाएको छ । बालेनलाई पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार बनाएका थिए । बिहिवारको केन्द्रीय समिति र संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गर्दै प्रधानमन्त्री बन्ने औपचारिक बाटो खोलिदिएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहणपछि उनी नेपालका सबैभन्दा युवा प्रधानमन्त्री बन्नेछन् । उनको यो यात्रा छोटो तर प्रभावशाली छ ।
बालेन काठमाडौंको मेयर बन्नु, भ्रष्टाचार र पुराना दलहरुको शैलीविरुद्ध लड्नु र अहिले राष्ट्रिय नेतृत्वमा पुग्नुले नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गरेको छ । युवाहरूमा आशा जगाएको यो परिवर्तनले भ्रष्टाचार, बेरोजगारी र सुशासनका मुद्दालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । नेपालको इतिहासमा यति छोटो समयमा यति ठूलो उकालो चढ्ने नेता विरलै देखिएका छन् ।
मन्त्रीहरु पनि शुक्रवार नै
बालेनले प्रधानमन्त्रीको शपथ लिँदै गर्दा उनको मन्त्रिपरिषद् कस्तो हुन्छ भन्ने चासो सबैतिर छ । रास्वपाको स्पष्ट बहुमतका बाबजुद बालेनले सानो र चुस्त मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।
परम्परागत २५ वटा मन्त्रालयलाई घटाएर १५ देखि १६ वटामा झार्ने र धेरै मन्त्रालय मर्ज गर्ने उनको योजना छ । मन्त्री संख्या पनि १५–१८ जना मात्र राख्ने चर्चा छ । यो कदमले प्रशासनिक खर्च घटाउने, निर्णय प्रक्रिया छिटो बनाउने र भ्रष्टाचार कम गर्ने लक्ष्य राखेको छ ।
बालेनका मन्त्रीहरू मुख्य रूपमा युवा, प्राविधिक र सुशासनप्रति प्रतिबद्ध हुने अपेक्षा गरिएको छ । उनको मन्त्रीमण्डलमा अधिकांस कम उमेरका र नयाँ हुनेछन् ।
धेरैजसो ३५–४५ वर्षका युवा नेता मन्त्री बन्नेछन् । उनको मन्त्रीमण्डलमा इन्जिनियरिङ, अर्थशास्त्र, चिकित्सा जस्ता व्यवसायिक पृष्ठभूमिका हुनेछन् । डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने सम्भावना बलियो छ । शोविता गौतम, डा. तोसिमा कार्की लगायतलाई कानून र स्वास्थ्य मन्त्री बनाउने चर्चा छ ।
विश्वासपात्र र क्षमतावानलाई मन्त्री बनाउने चर्चाका बीच डीपी अर्याल, शिशिर खनाल, सुनिल लम्साल, गणेश पराजुलीको नाम पनि मन्त्री बन्ने चर्चाको सूचीमा छ । बालेन स्वयम् प्रधानमन्त्रीसँगै रक्षा वा केही महत्वपूणं मन्त्रालय प्रत्यक्ष हेर्ने तयारीमा रहेको बताइन्छ ।
मन्त्रिपरिषद्ले सुशासन, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रण, रोजगारी र पूर्वाधारलाई प्राथमिकता दिने बताइएको छ ।
युवा पुस्ताले ठूलो आशा गरेको यो टिमले परिणाम दिन सकेमा नेपालको राजनीतिमा नयाँ युगको सुरुवात हुन सक्छ । तर चुनौती पनि ठूलो छ । विभिन्न समूहसँगका टकराव र प्रशासनिक सुधारमा यो सरकारले कठिनाइ भोग्न सक्छ । तर बालेनको टिम काम गर्ने, नबोल्ने शैलीको हुने अपेक्षा गरिएको छ ।
