काठमाडौं । आफूलाई सदैव नेपाली राजनीतिको केन्द्रमा राख्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो पटक निर्वाचनबाट सानो दलको नेता बन्न पुगेका छन् । एक समय संसदमा ‘म्याजिक नम्बर’ को दाबी गर्दै फुर्ती लगाउने प्रचण्डको चुरीफुरी करिब ५ वर्षलाई समाप्त भएको छ । तर त्यसपछि पनि उनका लागि नेपाली राजनीति सहज बन्ने देखिदैन ।
पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेपाली राजनीतिको अपरिहार्य केन्द्र’ ठानेका थिए तर त्यही राजनीतिले आज उनलाई एउटा सानो दलको नेताको हैसियतमा पु¥याइदिएको छ । एक समय संसदमा म्याजिक नम्बरको फुर्ती लगाउँदै सरकार बनाउने र भत्काउने दावी गर्ने प्रचण्डको चुरीफुरी अहिले लगभग समाप्त भएको छ ।
रास्वपाको स्पष्ट बहुमतसहितको जितसँगै बालेन्द्र शाह प्रधानमन्त्री बन्न लागेका बेला प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीसँग प्रतिनिधिसभामा जम्मा १७ जना सांसद हुनेछन् । ठूलो नेताको सिंहासनबाट हुत्तिएर उनी अब सानो दलको नेता बन्न पुगेका छन् ।
आफ्ना दौतरी उमेरका शक्तिशाली नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतलाई संसदको कुर्सीमा देख्न नपाउने यो पीडादायी अवस्था उनको लागि राजनीतिक झट्का बनेको छ ।
सम्भवत यही कारण पनि हुन सक्छ बिहिवार सांसदहरुको सपथ समारोहमा प्रचण्डको बडी ल्याङ्वेज पराजित शैलीको देखिन्थ्यो । संसदभित्र रहँदा उनमा खासै उत्साह देखिदैन थियो ।
जनयुद्धबाट सिंहदरबारसम्मको यात्रा गरेका प्रचण्डले पटक–पटक प्रधानमन्त्री बन्ने मौका पाए । तर यो पटकको निर्वाचनले उनको म्याजिकलाई पूरै तोडिदिएको छ । युवा पुस्ताको क्रान्तिले पुरानो पुस्तालाई किनारामा पु¥याएको यो दृश्य नेपाली राजनीतिको नाटकीय मोड हो ।
अब प्रचण्डको अगाडि पार्टी पुनर्गठन गर्ने ? युवा नेतृत्वलाई बाटो दिने ? शान्तिपूर्ण रूपमा अभिभावकीय भूमिकामा रहने भन्ने प्रश्नहरु तेर्सिएका छन् ।
पार्टीभित्रै युवा दस्ताले यो माग समेत गरिसकेका छन् । एक समयको क्रान्तिकारी नेता आज राजनीतिक परिधिमा खुम्चिएको यो दृश्यले इतिहासमा नयाँ अध्याय थपेको छ । प्रचण्डको यात्रा कहाँ पुग्ला ? समयले नै जवाफ दिनेछ । तर यो पटक उनी स्पष्ट रूपमा केन्द्रबाट किनारा तिर धकेलिएका छन् ।
