काठमाडौं । नेपाली कांग्रेसले केपी ओली र रमेश लेखकको पक्राउलाई कानूनको पालना नभएको भन्दै आपत्ति जनाएको छ । सरकारले चयनमुखी भएर न्यायको नाममा राजनीति गर्न खोजेको भन्दै विरोध गरेको छ । यस्तोमा कांग्रेसले के गर्ला भन्ने प्रश्न भने चासोमा छ ।
जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार चयनमुखी भएको भन्दै कांग्रेसले भददौ २३ र २४ गतेको घटनालाई छानविनको दायरामा ल्याएर न्याय निरुपण गर्न आह्वान गरेको छ । कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिन भन्दै आयोजना गरेको बैठकबाट आयोगको प्रतिवेदन अपारदर्शी र एकपक्षीय रहेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले प्रतिवेदन नै औपचारिक रुपमा सार्वजनिक नगरेको विषयलाई समेत मुद्दा बनाएको देखिन्छ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपनि बालेन्द्र साह नेतृत्वको सरकारले प्रतिवेदन नै सार्वजनिक नगरि कार्यान्वयन गर्ने भनदै गरेको पक्राउले विधिको शासनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
सरकारको कदममाथि गम्भीर प्रश्न
सरकारले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयलाई धेरैले हतारको निर्णय भनेका छन् । सरकारले हतारपूर्वक विधिको शासनको उल्लङ्घन गर्दै पक्राउ गरेको भन्दै आलोचना र विरोध चर्किदै गएको छ। जेनजी आन्दोलनबारे बनेको आयोगको प्रतिवेदन कार्यान्वयनमा पनि सुरक्षा निकायको हकमा छानविन गर्ने निर्णय गरिएको छ भने अहिले सुरक्षा निकायलाई साथमा लिएर नेतामाथि धरकपड गर्न थालिएको छ ।
यसले पनि सरकार प्रतिशोधमा उत्रिएको आरोपलाई थप बल पु¥याएको देखिन्छ । यस्तोमा सरकारविरुद्ध सडकमा भइरहेका प्रदर्शन र यसको नतिजा कस्तो हुन्छ भन्ने स्थिति भने विस्तारै खुल्दै जानेछन् । यद्यपी कानूनी प्रक्रिया समेत आइतबारबाटै शुरु हुने भएकाले सरकारको कदममाथि अदालती परीक्षण समेत चासोमा देखिन्छ ।
कांग्रेसको निर्णय र आन्तरिक विवाद
कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ। यस्तोमा रमेश लेखक शेरबहादुर देउवा पक्षका नेता हुन् । सरकारले पक्राउ गरेको विषय सेलेक्टिभ भएको भनेपनि लेखकको पक्षमा प्रतिरक्षा गर्ने निर्णय कांग्रेसले गरेन् । कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको तनाव सरकारको कदम गलत हो भन्ने निष्कर्ष निकाल्दा समेत प्रतिरोधको विषय नबन्नुले कांग्रेस नेताहरुमाथिका प्रश्न पनि पेचिला बनेका छन् ।
एमालेले रमेश लेखकको पक्राउविरुद्ध समेत आवाज उठइरहेको बेला कांग्रेसले वक्तव्यबाट विरोध गर्नेबाहेकका विषयमा सक्रियता नदेखादा कांग्रेस नेतृत्वमाथिका प्रश्न पनि शंका आशंकामा अघि बढ्न थालेका छन् ।
देउवा पक्ष प्रतिरोधमा
नेपाली कांग्रेसमा देउवा पक्षले भने प्रतिरोधमा उत्रिने निर्णय नै गरेको छ । पार्टी सभापति गगन थापाले निर्णय लिनेभन्दा पनि सरकारको कदमलाई वक्तव्यमाथि प्रहारबाहेक नगर्ने स्थितिका कारण पनि पूर्णबहादुर खड्काले आफूलाई कार्यबाहक सभापतिको हैसियतमा उभ्याउदै विज्ञप्ति जारी गरेका छन् ।
खड्काले केपी ओली र रमेश लेखकको पक्राउविरुद्ध राजनीतिक र कानूनी लडाई लड्ने निर्णय भएको भनेका छन् । विज्ञप्तिमा खड्काले भनेका छन्, ’‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ थप भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ । साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।’ यसले पनि कांग्रेसको विवाद अब थप बढ्ने संकेत बढेको छ।
