काठमाडौं । नेपालको राजनीतिमा पछिल्लो समय निकै ठूलो हलचल पैदा भएको छ । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिका विषयमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कानुनी प्रक्रिया तीव्र पारिएको छ ।
बुधबारबाट पूर्वगृहमन्त्री लेखकको बयान लिन सुरु गरिएको छ भने स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओलीको बयान विहीबारबाट लिने तयारी प्रहरीले गरिएको छ ।
नेपालको इतिहासमै पहिलोपटक पूर्व कार्यकारी प्रमुखलाई फौजदारी अभियोगमा हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । गत शनिबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि प्रहरीले बुधबारबाट औपचारिक बयान प्रक्रिया अघि बढाएको हो ।पूर्वगृहमन्त्री रमेश लेखकलाई बुधबार बिहानै काठमाडौँ जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो ।
उनीसँग सरकारी वकिलको रोहबरमा भदौ २३ गते भएको युवा आन्दोलनमा प्रहरीले चलाएको गोली र त्यस क्रममा भएका मृत्युका विषयमा सोधपुछ गरिएको छ। बयानमा लेखकले आफूले शान्ति सुरक्षा कायम गर्न मात्र आदेश दिएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।
यता, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने पक्राउ लगत्तै स्वास्थ्य समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहे पनि बुधबार प्रहरीले बयान लिन सकेन। प्रहरी परिसर भद्रकालीका अनुसार ओलीको बयान विहीबार बिहानबाट अस्पतालमै वा सम्भव भए परिसर ल्याएर लिने तयारी गरिएको छ।
ओली र लेखकलाई शनिवार पकाउ गरिए पनि आइतवार मात्र अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको शुरु गरेको हो । अदालतले दिएको म्याद विहीबार सकिने हुदाँ भिडियो कन्फेन्सबाट अदालती प्रक्रिया पुर्याएर पुनः म्याद थपिने छ ।
यस घटनाले नेपाली राजनीतिक वृत्तलाई तरंगित बनाएको छ । सडक, सदन र कानूनी प्रक्रिया लड्ने बताएको एमालेले सडक तताउन भने सकेको छैन । कांग्रेस आन्तरिक विवादमै अल्झिएको छ । यद्यपी दुबै दलले बालेन्द्र सरकारको राजनीतिक प्रतिशोध भनिरहेका छन् ।
सरकार भने गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले औँल्याएका गम्भीर मानव अधिकार उल्लंघनका दोषीलाई कारबाही गर्नु आफ्नो संवैधानिक दायित्व भएको दाबी गरिरहेको छ ।
पक्राउ परेका दुवै नेतामाथि आपराधिक लापरवाहीको मुद्दा अगाडि बढ्ने संकेत देखिएको छ । विहीबार हुने केपी शर्मा ओलीको बयान र त्यसपछि प्रहरीले अदालतमा पेश गर्ने प्रतिवेदनले नेपालको राजनीतिलाई कता लैजाने हो, तय गर्नेछ । कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश सरकारले दिन खोजे पनि यसको राजनीतिक प्रभाव कस्तो पर्छ,त्यो हेर्न बाँकी नै छ।
