News 24 Television
पहिलो दिनको संसद बैठकका लागि यस्तो समझदारी

काठमाडौं । संसद कानुन निर्माण गर्ने थलो हो । देशभरबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ जना सांसदहरुले यसमा भुमिका खेल्नेछन् । साथै, संसद जनताका समस्या र गुनासो मन्थन गर्ने थलो पनि हो । एक सय २१ दिनपछि विहिबार संसद बैठक बस्दैछ । फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक बस्न लागेको संसद बैठकप्रति आम नागरिकको चासो ब्याप्त छ । 

सात महिनापछि प्रतिनिधिसभाको बैठक विहिबार दिउँसो २ बजे बस्दैछ । पछिल्लो पटक भदौ १८ गते संसद बैठक बसेको थियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठित तत्कालिन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । 

फागुन २१ को नयाँ जनादेश अनुसार विहिबार सिंहदरबारको बहुदेश्यीय हलमा बस्न लागेको बैठकलाई निकै चासोका साथ हेरिएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका ६ दल र एक स्वतन्त्र सांसद छन् । 

१. राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी १ सय ८२ जना

२. नेपाली कांग्रेसबाट प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ जना

३. नेकपा एमालेबाट प्रत्यक्ष ९ जना र समानुपातिक १६ गरी २५ जना

४. नेपाली कम्युनिष्ट पार्टीबाट प्रत्यक्ष ८ जना र समानुपातिक ९ गरी १७ जना

५. श्रम संस्कृति पार्टीबाट प्रत्यक्ष ३ र समानुपातिक ४ गरी ७ जना

६. राप्रपाबाट प्रत्यक्ष एक जना र समानुपातिक ४ गरी ५ जना
र, 
स्वतन्त्रबाट महाविर पुन प्रतिनिधिसभाको सदस्य रहेका छन् । 

संसद सचिवालयको तयारी 

नयाँ जनादेशको पहिलो बैठकको तयारी स्वरुप संघीय संसद सचिवालयले बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बोलाएको थियो । 

सिंहदरबारस्थित संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बसेको बैठकले सभामुखको निर्वाचनदेखि प्रतिनिधिसभा नियामावली फेर्नेसम्मका विषयमा निर्णय गरेको छ ।  सभामुखको चुनाव चैत २२ गते गर्ने निर्णय भएको हुँदा त्यसका लागि शुक्रबार मनोनयन दर्ता गरिने भएको छ ।  

सर्वदलीय बैठकले संसदको पहिलो दिनको बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने, सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, जेनजी आन्दोलनका सहिदहरू र अन्य सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, अधिवेशन सुरु हुने दिन शीर्ष नेताहरूले शुभकामना व्यक्त गर्ने लगायत विषयका एजेण्डाहरु पारित गरेको छ । 

को बन्ला सभामुख ? 

प्रतिनिधिसभामा रास्वपाको स्पष्ट दुई तिहाई हाराहारी बहुमत भएकोले रास्वपाले सभामुख पाउने पक्का छ । बरु सभामुख कसलाई बनाउने भन्ने बारे रास्वपा भित्र यतिबेला मिहिन ढंगले दलफल भइरहेको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहँदा पार्टीको कार्यवाहक सभापति रहेका डोलप्रसाद अर्याललाई सभामुख बनाउने आन्तरिक समझदारी बनिसकेको छ । तर औपचारिक निर्णय भइनसकेको अवस्थामा इन्दिरा रानामगर, मनिष झा बैकल्पिक उम्मेदवारको रुपमा चर्चामा छन् । 

सभामुख र उपसभामुख फरक पार्टीबाट बनाउनुपर्ने संवैधानिक प्रावधान रहेकाले रास्वपाबाट सभामुख बन्दा रास्वपाले उपसभामुख कुन पार्टीलाई दिन्छ भन्ने सबैको चासो छ । यसले रास्वपा कुन पार्टीप्रति सकारात्मक छ भन्ने पनि स्पष्ट हुनेछ । 

दलको नेता, प्रमुख सचेतक र सचेतक चयनमा के हुँदैछ ? 

संसदको पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई चयन गरिसकेको भएपनि उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न भने सकेको छैन । नेपाली कम्युन्निष्ट पार्टीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता र खुस्वु ओलीलाई प्रमुख सचेतकमा चयन गरिसक्दा श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राईलाई नै संसदीय दलको नेता मानेको छ । नेकपा एमालेले बुधबार मात्रै पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको छ । सुहाङ नेम्वाङले दलको नेता दाबी गरेपनि थापालाई नै चयन गरिएको हो । अन्तिम समयमा  सुहाङ पछि हटेका थिए । 

संसद बैठकअघि संसदीय दलको नेता चयनमा होमिएका दलहरुले उपनेता, प्रमुख सचेतक र सचेतक चासो दिएका छैनन् । संसदीय अभ्यासमा दलका प्रमुख सचेतक र सचेतकको ठुलो भुमिका रहने गर्छ । सम्भवतः दलहरुले विहिबार बैठक सुरु हुनु अगावै यी प्राविधिक विषयहरुमा टुंगो लगाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update