News 24 Television
जेनजी आन्दोलनदेखि रास्वपाको जितमा सेनाको हात !

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठित नयाँ संसदमा भदौ २४ को आन्दोलनले सत्ताच्यूत भएको नेकपा एमाले आक्रामक बन्ने संकेत देखिएको छ । विहीबारबाट शुरु भएको संसद अधिवेशनको पहिलो बैठकमै एमाले सरकारविरुद्ध आक्रामक देखिएको हो । 

गत भदौ २३ र २४ को युवा विद्रोहबाट नेकपा एमाले सत्ताच्यूत भएको थियो । जेनजी आन्दोलनले एमाले–कांग्र्ेसलाई सत्ताच्यूत मात्रै गरेन, संसद नै विघटन गरेको थियो । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि विहीबारदेखि नयाँ संसदको अधिवेशन शुरु भएको छ । 

संसदको अधिवेशन शुरु भएसँगै एमाले सडकमा मात्र होइन, सदनमा पनि उत्तिकै आक्रामक बन्ने संकेत गरेको छ । संसदको जेष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा पहिलो बैठक शुरु भए लगत्तै एमालेले आफ्नो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोध जनायो । 

एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको भन्दै बरालले आपत्ति जनाए । 

संघीय संसद सचिवालयमा अघिल्लो दिनको सर्वदलीय बैठकको सहमति अनुसार नै बनेको कार्यसूची अनुसार एमाले संसदीय दलका नेता रामबहादुर थापालाई शुभकामना मन्तब्य राख्न ८ मिनेटको समय निर्धारण गरियो । उनी पूरै समय बोलेनन् ।  ६ मिनेट मात्रै बोलेका थापाले जेनजी आन्दोलन नै रास्वपाको षड्यन्त्र स्वरुप भएको आरोप लगाए । अवैधानिक ढंगले उक्त आन्दोलनको रास्वपाले नेतृत्व गरेको आरोप थियो ।

फागुन २१ गतेको निर्वाचनले त्यसैलाई बैधानिकता दिएको भन्दै आन्तरिक रुपमा नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउण्डेशन नामको एनजीओ लगायतका पात्र तथा संस्थाहरुको रास्वपाको विजयमा निर्णायक भूमिका रहेको तथ्यहरुले पुष्टी गरेको थापाले जिकिर गरे । 

थापाले रास्वपाको जादुमय जितमा बाह्य शक्तिको हात रहेको पनि दाबी गरे । बाह्य शक्तिको रुपमा उनले टीओबीदेखि एआई र अल्गोरिदमतर्फ इंगित गरे । जसलाई थापाले गोयवल्सको संज्ञासमेत दिए । 

एमाले कार्यवाहक अध्यक्ष समेत रहेका थापाको मन्तब्य अघि सत्तारुढ दल रास्ववपा सभापति रवि लामिछानेले प्रतिपक्षको आवाज कमजोर हुन नदिने प्रतिवद्धता जनाएका थिए । विगतमा सरकारले आफूलाई बोल्न समेत नदिएको हुँदा आफ्नो सरकारले विपक्षीलाई सम्मान गर्ने बताए पनि सरकारका गृहमन्त्री सुधन गुरुङले भने थापाले बोल्दै गर्दा धारे हात लगाएको देखिन्थ्यो । 

ओली पक्राउको विरोधमा सडकबाट पनि आन्दोलन शुरु गरिसकेको एमालेले कानूनी लडाई पनि लड्ने बताएको छ । संसद बैठकको पहिलो दिनकै एमालेको अभिब्यक्तिले सदनको मोर्चालाई आक्रामक बनाउने संकेत देखाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update