काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछाने संयमित र परिपक्व रूपमा प्रस्तुत हुँदै संसद् केवल प्रश्न सोध्ने नभई उत्तर दिने र समाधान खोज्ने थलो हुनुपर्ने बताएका छन् ।
उनले कामबाटै प्रमाणित हुने प्रतिबद्धता जनाउँदै प्रतिपक्षलाई निगरानी र सहकार्यका लागि आह्वान गरे । प्रतिशोधरहित राजनीति, सुशासनको गति, लगानीमैत्री वातावरण र युवाकेन्द्रित अवसर सुनिश्चित गर्ने उनले सम्बोधनमार्फत् सन्देश दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेले संसद् मात्र प्रश्न सोध्ने थलो नभई उत्तर दिने र समाधान खोज्ने स्थल हुनुपर्नेमा जोड दिएका छन् ।
पहिलो बैठकमा सभापति लामिछाने परिपक्व र संयमित देखिएका छन् । संसदमा सत्तारुढ दलको नेताको रूपमा सम्बोधन गर्दै उनले बोलेर होइन, कामबाटै आफू, पार्टी र सरकारले प्रमाणित गर्ने जिकिर गरेका छन् । उनका प्रतिवद्धताहरु ७ बुँदामा यस्ता छन् ।
कामबाट प्रमाणित
अब राम्रो बोल्नेभन्दा कामबाट प्रमाणित सभापति लामिछानेले आफ्नो सम्बोधनमा उल्लेख गरे । हनिमुन पिरियडको सुविधा नचाहिने भन्दै लामिछानेले सेकेन्ड गनेर काम गर्ने बताए ।
रास्वपाका हरेक सांसदले कामबाटै जिम्मेवारी प्रमाणित गर्नुपर्ने उनको जोड छ । सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीबाट आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने भन्दै उनले संसदमा जानकारी गराएका छन् ।
तीव्र रफ्तार र विपक्षी प्रतिबद्धताको स्वामित्व
सरकारको रफ्तारअनुसार कर्मचारीतन्त्रले गति मिलाउनु पर्ने रविको भनाइ छ । आफ्ना मात्रै होइन, जायज भए विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिने उनले घोषणा गरेका छन् ।
इतिहासबाट सिक्ने
एकल बहुमतका पुराना सरकारहरू इतिहासका अंक मात्रै बनेको तर इतिहास बदल्न नसकेको उनको भनाइ छ । दृष्टिकोण, प्राथमिकता, पारदर्शिता र कार्यान्वयनमा देखिएको समस्याकै कारण जनताले दिएको विशाल बहुमतलाई गुमेको अवसर’ बनाउन नदिने अठोट लामिछानेले गरे ।
उत्तर र समाधान दिने
रास्वपाका सांसदहरूलाई सम्झाउँदै उनले आफुहरु प्रश्न सोध्न मात्र होइन, उत्तर दिन र समाधान खोज्न पनि आएके दाबी गरे । बस्ने ठाउँ फेरिए पनि नैतिक जिम्मेवारी उस्तै रहेको उनको तर्क छ ।
प्रतिपक्षलाई निगरानीको आग्रह
प्रतिपक्षलाई २४ घण्टा निगरानी गरिदिन आग्रह गर्दै लामिछानेले कमजोरी उजागर गर्न, गल्ती देखाउन र बाटो बिराए सच्चाइदिन आह्वान गरेका छन् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष एकअर्काका पूरक भएको उनले स्मरण गराए ।
प्रतिशोधको अन्त्य र सुशासनको वेग
संसद् बहसको थलो बताउँदै लामिछानेल प्रतिशोध साँध्ने ठाउँ नभएको बताएका छन् । हिजोका कानुन संशोधन, अध्यादेश र माइक काट्ने जस्ता गल्ती यसपटक नदोहोरिने उनले दाबी गरेका छन् ।
संसदीय समितिमा संख्याको बलमा अत्याचार नहुने र सुशासनको गति नरोकिने उनको उद्घोष छ । न्याय पाउने पहिलो हक शहीदकी आमा भएको उनले बताए ।
लगानी र युवालाई अपील
स्वदेशी–विदेशी लगानीकर्ता, गैरआवासीय नेपाली र निजी क्षेत्रलाई पूर्ण सुरक्षा र पारदर्शी वातावरणको ग्यारेन्टी दिँदै बिचौलिया र माफियागिरी अन्त्य गर्ने उनको दाबी छ । सरकार र परिवर्तन युवाहरुको भएको भन्दै रोजगारी, उद्यमशीलता र नेतृत्वका अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
