काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल ’डीपी’ निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको सभामुखका लागि डीपीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । तर, निर्वाचन कार्यतालिका अनुसार सभामुखको कार्यभार भने संसदमा निर्वाचित भएको घोषणापछि मात्रै सम्हाल्नेछन् । उसोतः राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार भने सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख चयन हुने निश्चित भएको छ । शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उनी सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।
सभामुखको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिएका हुन् ।
आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ ।
रास्वपाको प्रतिनिधिसभामा झण्डै दुई तिहाई १८२ जना सांसदहरु रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरुसँग रास्वपाका शीर्ष नेताहरु छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ ।
उपसभामुख के हुन्छ ?
सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसरी हेर्दा अब रास्वपाले उपसभामुख पनि लिन पाउने छैन भने पुरुष सभामुख भइसकेको अवस्थामा महिलालाई उपसभामुखमा अघि सार्नुपर्ने स्थिति देखिन्छ । जसमा प्रतिपक्षी दलहरुले चासो देखाएका छन् । सभामुखमा उम्मेदवारी नदिएका दलहरुले उपसभामुख ताकेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा दाबी रहने भनेको छ भने नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा दाबी गर्ने भनेको छ । यस्तै, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समेत उपसभामुखबारेको चर्चा चलिरहेको छ । युता, नेकपा एमालेले पनि सभामुखमा नै उम्मेदवारी दिने भ्नदै अन्तिममा उम्मेदवारी दर्ता गरेन् ।
यसले पनि उपसभामुख पदमा हानाथाप हुने स्थिति देखिन्छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले पनि यो पदलाई आकर्षक शक्ति अभ्यासको पद मान्ने गरिन्छ । उसोतः उपसभामुखमा पनि रास्वपाले कसलाई समर्थन गर्छ भन्ने विषय मुख्य चासोमा छ ।
रास्वपासंग प्रतिनिधिसभामा १८२ सांसद छन भने रास्वपाले समर्थन गर्ने उम्मेदवारले सहजै जित्ने हुनाले निर्णयक छलफल चल्ने देखिन्छ । तर, संवैधानिक परिषद्को अंकगणितलाई प्रभावित पार्न लामो समयसम्म उपसभामुख चयनको प्रक्रिया नै अघि नबढ्ने स्थिति समेत बन्न सक्ने देखिन्छ । रास्वपा सभापति रवि लामिछानेले सभामुख चयनको प्रक्रिया सकिएपछिमात्रै यो विषयमा प्रवेश गर्ने भनेका छन् ।
यसअघि तत्कालीन नेकपाले लामो समयसम्म उपसभामुख पदबिहीनतामा राखेको नजिर समेत छ । तर, अन्ततः नेकपाको विभाजनपछि कांग्रेससंगको गठबन्धन निर्माण भएपछि कांग्रेसकी पुष्पा भुसाललाई उपसभामुख चयन गरिएको थियो । यसरी नै अहिले पनि उपसभामुख पदमा अनेक तर्क र प्रयासहरु हुनसक्ने दाबी गर्न थालिएको छ ।
