काठमाडौं । अमेरिका र इरानबीचको युद्ध ३५ औं दिनमा प्रवेश गर्दा पनि तीव्र छ । अमेरिका–इजरायलको संयुक्त हवाई हमलाले इरानको मिसाइल र आणविक कार्यक्रमलाई लक्षित गरिरहेको छ भने इरानले खाडी मुलुकमा ड्रोन र मिसाइल प्रहार गर्दै बदला लिइरहेको छ ।
इरानले अमेरिकी युद्धपोत युएसएस अब्राहम लिंकनमा मिसाइल प्रहार गरेको दाबी गरेको छ, जसलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध २–३ साताभित्रै सकिने बताएपनि त्यस्तो संकेत देखिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार महान्यायाधिवक्ता पाम बन्डीलाई बर्खास्त गरेका छन् जेफ्री एपस्टाइन फाइलको ढिलासुस्ती र राजनीतिक विरोधीहरूमाथि कडा कारबाही नगरेको भन्दै उनलाई ट्रम्पले हटाएका हुन् । उनले न्याय विभागलाई आफ्नो दृष्टिकोण अनुसार चलाउन नसकेको ट्रम्पको गुनासो थियो ।
यसैगरी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख जनरल ¥यान्डी जर्जलाई तत्काल सेवानिवृत्त हुन निर्देशन दिए । युद्धका बेला ट्रम्पको राष्ट्रिय सुरक्षा एजेन्डा लागू गर्न नसकेको र पुरानो प्रशासनसँग जोडिएको भन्दै उनलाई हटाइएको हो ।
उनीसँगै अमेरिकी सेनाका मेजर जनरल विलियम ग्रीन जुनियर र आर्मी ट्रान्सफर्मेसन तथा तालिम कमाण्डका प्रमुख डेभिड होड्नेलाई पनि पदमुक्त गरिएको छ ।
पछिल्लो यी दुई कदमले अमेरिकाभित्रै राष्ट्रपति ट्रम्प अप्ठ्यारो स्थितिमा रहेको बुझ्न सकिन्छ । केही दिन अघि पनि नो किंग्स अभियाय अन्तर्गत लाखौ अमेरिकी ट्रम्पको शैली र रवैयाको विरोधमा देशका मुख्य सहरहरुमा प्रदर्शनमा उत्रिएका थिए ।
यसैबीच अमेरिकी गुप्तचर रिपोर्टले इरानको शक्ति अझै मजबुत रहेको देखाएको छ । ५० प्रतिशत मिसाइल लन्चर र हजारौं ड्रोन अझै प्रयोग हुन बाँकी रहेको अमेरिकी गुप्तचरको रिपोर्टमा उल्लेख छ ।
यो रिपोर्टपछि अमेरिकाले चाहेजस्तो अझै इरानको सरकार ढाल्न सहज देखिएको छैन । देश इरानी सेनाकै नियन्त्रणमा रहेको र ट्रम्पको इरानको सैन्य क्षमता समाप्त पारियो भन्ने दाबीलाई यसले खण्डन गरेको छ । युद्ध लम्बिँदा बाँकी विश्व भने अत्यन्तै प्रभावित बनेको छ । होर्मुज बन्द हुँदा संसार भर नै तेलको मूल्य आकासिएको छ ।
तेलको मूल्य पाकिस्तानमा ४३ प्रतिशतभन्दा धेरै बढेको छ । विश्वका ९५ भन्दा बढि देशमा १५ देखि ६८ प्रतिशतसम्म तेलको मूल्य बृद्धि भएको छ । यो युद्धका युरोपमा आर्थिक गतिविधि सुस्त बनेको छ । युद्ध अझै जारी रहे जर्मनी–इटालीमा मन्दी आउन सक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । यो युद्धका कारण गल्फ राष्ट्रहरूको जीडीपी १४ प्रतिशतसम्म घट्न सक्ने आंकडा छ ।
त्यस्तै विश्वकै जीडीपी वृद्धि ०.३ प्रतिशत घट्ने अनुमान छ । नेपालजस्ता आयात–निर्भर देशमा इन्धन र मुद्रास्फीति बढ्ने देखिन्छ । त्यसैले युद्धले मध्यपूर्वलाई मात्रै अस्थिर बनाएको छैन । विश्वकै अर्थतन्त्रलाई पनि चुनौती दिइरहेको छ । तर ट्रम्पको युद्ध चाँडै सकिन्छ भन्ने आश्वासन र र इरानको आक्रमक प्रतिरोधले भने मध्य एसियाको तनाव अझै लम्बिने देखिन्छ ।
