News 24 Television
सम्पत्ति शुद्धिकरणमा दीपक भट्टसंगै अग्रवालद्वय प्रहरी हिरासतमा, भट्टको कनेक्सन कहाँसम्म ?

काठमाडौं । सरकारले विचौलिया दीपक भट्टलाई पक्राउ गरेपछि उनीसंग सम्बन्धित व्यापारी पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण अभियोगमा पक्राउ परेका दीपक भट्टसंग व्यवसायीक साझेदारी गरेका व्यापारिक घरानाका व्यक्तिहरुको पक्राउले तरङ्ग पैदा गरिदिएको छ । विचौलिया दीपक भट्ट पक्राउ परेपछि उनीसंग सम्बन्धित व्यापारीहरु समेत पक्राउ पर्न थालेका छन् । दीपक भट्टसंग सम्बन्धित रहेका शंकरलाल अग्रवाल र सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । 

सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका भट्टमाथिको अनुसन्धान चल्दै गर्दा शंकर र सुलभ पक्राउ परेका हुन् । हिमालयन रि इन्स्योरेन्सदेखि विभिन्न क्षेत्रमा जोडिएका भट्ट राजनीतिक रुपमा सेटिङ मिलाउने मुख्य योजनाकारको रुपमा चिनिने गर्छन्। भट्टका केहि चर्चित प्रकरण छन, जसमा केहि यस्ता छन् ।

१. हातहतियार खरिद घोटाला  

२. पुनर्बीमा क्षेत्रको नीतिगत लुट  

३. जलविद्युत परियोजनामा सेटिङः

४. सेक्युरिटी प्रिन्टिङ प्रेस र स्याटेलाइट  

५. सबैखाले सेटिङबाट आर्जित सम्पत्ति शुद्धिकरण

यस्ता कयौं प्रकरणमा भट्टले राजनीतिक दललाई मिलाउने काम खुलेआम गर्ने धम्की दिने गरेको बताइन्छ । भट्टले राजनीतक दल, सरकार र कर्मचारी संयन्त्रलाई मिलाएर लैजाने भन्दै काममा बाधा नआउने आश्वासन दिने गरेको समेत बताइन्छ । तर, रजानीतिक स्थिति फेरिएसंगै पक्राउ परेका भट्टको कनेक्सन खोज्दै प्रहरीले नयाँ तथ्यको उजागर गर्ने अवस्था बन्दा धेरैतिर तरङ्ग पैदा भएको देखिन्छ । 

सेयर कारोबारमा समेत अनियन्त्रित कारोबार गर्ने गरेका भट्टले नेप्सेको प्रमुखमा समेत आफ्ना मान्छे राख्न नपाउँदा सरकार नै ढालिदिएको चर्चा चल्ने गर्छ । 

तत्कालीन प्रधानमन्त्री प्रचण्डले यसबारे नाम नलिई विचौलियाले सरकार ढालेको पटक–पटक आरोप लगाउने गरेका छन् । नेपालको राजनीतिक वृत्तमा तहल्का मच्चाएका भट्टको पक्राउपछि उनीसंग कनेक्सनमा रहेका धेरै व्यापारीहरु त्रसित बनेका छन् । सरकारले यो विषयलाई कसरी लैजान्छ भन्ने चासो समेत बढेको छ ।

अग्रवाल कनेक्सन

भट्ट र शंकर ग्रुपका बैंक खातामार्फत शंकास्पद कारोबार भएको पाइएपछि राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) ले अनुसन्धान गर्न भन्दै विभागलाई पत्र पठायो । 

राष्ट्र बैंकले विभागलाई पठाएको उक्त पत्रमा उल्लेख भएको विवरणअनुसार भट्टका नाममा सिद्धार्थ बैंकमा रहेको खातामा जुन २०२१ मा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड ‘ट्रान्सफर’ गरिएको थियो । 

जगदम्बा शंकर ग्रुपको कम्पनी हो । भट्टका नाममा ओभरड्राफ्ट (ओडी) खातामा जुन र जुलाई २०२१ मा ३० करोड १५ लाख ८७ हजार ‘ट्रान्सफर’ गरिएको र यही खाताबाट नै ४५ करोड ४ लाख ४५ हजार निकालिएको पाइएको थियो । यहि कारण नै अग्रवाल पक्राउको कडी बन्न पुग्यो ।

गृहमन्त्री गुरुङसंगको सम्बन्ध

हामी नेपाल नामक एनजीओ सञ्चालन गरेका गृहमन्त्री सुधन गुरङले पनि दीपक भट्टको इन्फिनिटी होल्डिङ्सबाट आर्थिक सहायता भने लिएको देखिन्छ । जेनजी आन्दोलनपछि भट्ट र शंकर ग्रुपका साहिल अग्रवालले संयुक्त वक्तव्य जारी गर्दै हामी नेपालसंग कोरोनाको समयमा सहकार्य गरेको स्वीकार गरेका थिए । त्यसपछि भने कुनैपनि सम्बन्ध र सम्पर्क नरहेको जिकिर गरेका थिए ।

यसले नै भट्ट र शंकर ग्रुपले गृहमन्त्री गुरुङको एनजीओलाई सहयोग गरेको भने लुकेको तथ्य देखिन्न । यस्तोमा सम्पत्ति शुद्धिकरणमा पक्राउ परेका भट्ट र अग्रवाल समूहले कसरी आफूलाई उभ्याउँछ भन्ने विषय समेत थप चासोमा छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update