काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले चुनावी हारमा विभिन्न कारण औल्याएपनि मतदाताले एजेण्डा, दल, उम्मेदवार केहि नहेरेको निष्कर्ष निकालेको छ ।
आन्तरिक एकता कमजोर बन्नु र नेताहरुको कार्यशैलीका कारण पनि चुनावमा हार ब्यहोरेको निष्कर्षमा पुगेको नेकपाले संगठन निर्माणदेखि महाधिवेशनका योजना समेत अघि सारेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले गएको चुनावमा ठूलो हार् व्यहोर्न पुग्यो । ५० माथि सिट जित्ने दाबी गर्दै आएको नेकपाले प्रत्यक्षमा ८ सिटमात्रै जित्यो भने समानुपातिकमा समेत कमजोर मत प्राप्त ग¥यो ।
जित्ने भनिएका स्थानमा उम्मेदवारहरु प्रतिष्पर्धामा पनि आउन सकेनन् । यसले नेकपालाई झड्का लागेको देखिन्छ । चुनावी नतिजापछि प्रचण्डले समीक्षा गर्दै हारका कारणबारे विभिन्न विषयलाई अघि सारेका छन् ।
जसमा चुनावी परिणामलाई पूर्णतः प्रविधिले नै प्रभाव पारेको निष्कर्ष निकालेका छन् । एआई, एल्गोरिदमले पारेको प्रभावमा मतदाता परेको निष्कर्ष निकालेको नेकपाले पार्टी संगठन निर्माणदेखि नेतृत्वको सवालमा समेत प्रश्न गरेको छ । तर, के यो चुनाव यहि कारण प्रभावित भएको हो ? चुनावी तथ्यले यता संकेत गरेपनि उनीहरुकै कर्म, व्यवहार, शैली र शासनमा आलोपालोका कारण प्रविधिले मतदाताको मष्तिष्कलाई प्रभावित पारेको देखिन्छ । जुन कुरा नेकपाले आफ्नो समीक्षामा खास महत्व दिएको देखिन्न ।
यो चुनावमा प्रविधिले धेरै ठूलो तरङ्ग सिर्जना गरेपनि सबै विषय प्रविधिले नै निर्माण गरिदिएको भने देखिन्न । गणतन्त्र स्थापनापछिका सरकार र ती सरकारले देखाएका सपना जनताले हेर्न सक्ने गरि पुरा नहुँदा मतदातामा आक्रोश, पीडा र असन्तोष बढिरहेको थियो । यहि असन्तोष विष्फोट हुँदा रास्वपाले मतदातालाई आफ्नो पक्षमा पार्न सफल बनेको देखिन्छ ।
युद्धबाट आएको तत्कालीन माओवादीले प्राप्त गरेको जनमत होस वा एमाले माओवादीको एकताको बाँचासहितको चुनावी परिणाम र नेकपा निर्माणको विषय नै किन नहोस, मतदाताले अनेक अपेक्षा गर्दै मत नदिएको देखिन्न तर, कार्यान्वयन पक्षमा विभिन्न प्रकरण जोडिने, आफ्ना नेताहरुको रक्षाका निम्ति राज्य शक्तिको दुरुपयोग हुने र वामपन्थी वा प्रजातान्त्रिक भने पुग्ने भन्ने सोचका कारण नै अहिलेको नतिजा सार्वजनिक भएको देखिन्छ । यसमा मतदातामा धारणा निर्माणमा प्रविधिले तीब्रत्तर काम गर्न पुग्यो ।
के नेकपाले अबको समीक्षामा नेतृत्व परिवर्तनदेखि नयाँ समाजको नयाँ पदचाप पछ्याउने गरि अघि बढ्ला ? विभिन्न शक्तिमा रहेका कम्युनिस्टबीचको एकता र साझा संकल्पसहित अघि बढ्ने प्रण गरिएला ? यस्ता प्रश्नले नै अर्को निर्वाचनमा मतदातासंगको साक्ष्यातकार थप बलियो बनाउनेछ ।
महाधिवेशनको प्रस्ताव
नेकपाले चुनावी हारको समीक्षासहित तीन महिनाभित्र वडास्तरमा संगठन विस्तार, पाँच महिनाभित्र वडादेखि प्रदेशसम्मको महाधिवेशन र ६ महिनाभित्र केन्द्रको महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । तर, त्यो समयमा नेतृत्व कसले गर्ने ? कस्तो मोडालिटीमा हुने ? जनतामा जान कस्तो मुद्दा लिएर जाने ? तमाम विषयको लेखाजोखा भने हेर्न बाँकी छ । तर, हारको समीक्षा गर्दै जिततर्फ अग्रसर बन्ने यात्रा सहज भने देखिन्न ।
समग्रमा नेपालको वामपन्थी मतमा आएको ह्रास र क्षयीकरण हुँदै गएको संगठनात्मक अवस्थालाई मजबूत पार्ने उपाय अवलम्बन गर्न नसकिए स्थिति थप भयावह हुने विश्लेषण हुन थालेको छ ।
