काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा रहेका पात्र— हो गृहमन्त्री सुधन गुरुङ । कहिले सांसदलाई तलब नदिऊँ भन्ने त कहिले एजेन्डा के रे ? भन्दै पत्रकार सम्मेलनमै बिर्सिने उनै गुरुङले देशको गृह प्रशासन सम्हालेको एक साता पुरा भएको छ ।
यो एक सातामा उनले ठूला राजनीतिक फाइल मात्रै खोलेनन्,उनको आफनै कार्यशैलीका कारण प्रश्न उठाउने ठाउँ समेत दिएका दिएका छन् ।
सुधन गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएर २२ गतेसम्म एक हप्तामा आइपुग्दा हाई प्रोफाइलका ब्यक्तिहरु १० जनालाई पक्राउ परिसकेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधनको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए । नमानून् पनि किन, सांसद्हरूलाई तलबै नदिऊँ है भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे’ भन्दै सोधेको पृष्ठभूमि ।
अनि उनले म नेता होइन, राजनीतिमा आउने मान्छे होइन जस्ता अभिब्यक्ति दिएका थिए । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरे । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए । तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर उनले लिएका कदमहरु प्रतिशोध, पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ ।
गृहमन्त्री नियुक्त भएदेखि आजसम्म सुधनले के गरे त ?
पहिलो दिनः चैत १३ गते
गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
दोस्रो दिनः चैत १४ गते
केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । पक्राउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित भए । पक्राउ नहुँदासम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहेका थिए । सोही दिन जावलाखेल र सातदोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।
तेस्रो दिनः चैत १५ गते
मन्त्री नियुक्त भएको तेस्रो दिन गुरुङले सिंहदरबारस्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गरे । अनौपचारिक रूपमा संवाद गर्दै भीआईपी शैली अन्त्यको संकेत दिए । सोही दिन नै कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई समेत पक्राउ गर्न आदेश दिए ।
चौंथो दिनः चैत १६ गते
गृहमन्त्री गुरुङ चैत १६ गते सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्न पुगे । निरीक्षणका क्रममा उनले तल्लो तहका प्रहरीको समस्या सुन्दै तलब, पोषण र सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए ।
पाँचौं दिनः चैत १७ गते
ओलीको रिहाई गर्न माग राख्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उनी घरमै पुगे । घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरियो ।
छैठौं दिनः चैत १८ गते
केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर उनले प्रत्यक्ष अनुगमन गरे ।
सातौं दिनः चैत १९ गते
पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उनले सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए । त्यसपछि संसद् बैठकमा उपस्थित भइ तीन अध्यादेश पेस गरे । संसदमा अध्यादेश पेश गर्दाको दृष्य पनि रोचक थियो ।
आठौं दिनः चैत २० गते
घाइते आन्दोलनकारीलाई केएमसी अस्पतालमै पुगेर भेटे । सोही दिन सामाजिक सञ्जालमा विश्रामको तस्बिर पोस्ट गर्दै जनताभन्दा माथि सरकार हुँदैन भने लेखे । गृह मन्त्रालय मातहतमा भएका हरेक जसो चर्चामा रहेका विषयमा उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै गौरव महशुस पनि गरिरहेका छन् ।
गुरुङ गृहमन्त्री भएपछि पक्राउ परेका ‘हाइ–प्रोफाइल’हरु
- केपी शर्मा ओली–पूर्वप्रधानमन्त्री
- रमेश लेखक–पूर्वगृहमन्त्री
- कर्ण मल्ल–एमाले नेता
- रेखा शर्मा–एमाले नेता
- दीपक खड्का–पूर्वउर्जामन्त्री
- छवि रिजाल–काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी
- दीपक भट्ट–व्यवसायी
- राजकुमार अर्याल
- शंकर अग्रवाल, व्यवसायी
- सुलभ अग्रवाल व्यवसायी
हाइ–प्रोफाइल पक्राउदेखि तल्लो तहका प्रहरीको तलब र रासनको कुरा गरेर गृहमन्त्री गुरुङले लोकरिझ्याइँ मा पनि उत्तिकै ध्यान दिए । तर, के यो सक्रियता कानुनसम्मत छ ?
प्रश्न यहाँनेर उब्जिएको छ ।गुरुङको एक्सनजति चर्चामा छ,उनको अपरिपक्वता’ उति नै आलोचित । बिना जाहेरी र बिना पक्राउ पुर्जी कलाकार सागर लम्साल (बले) लाई पक्राउ गरेको सूचना आफैं फेसबुकमा लेखेपछि उनको कानुनी ज्ञानमाथि प्रश्न उठेको छ ।
त्यस्तै, काठमाडौंका पूर्वप्रजिअ छवि रिजाललाई पक्राउ गरेको ४ घण्टामै अदालतले छाडिदिनुले पनि गृहमन्त्रीको कदम हचुवाको भरमा रहेको पुष्टि गर्छ । जनताभन्दा माथि सरकार हुँदैन भन्दै सामाजिक सञ्जालमा विश्रामको तस्बिर हाल्ने गृहमन्त्री गुरुङका लागि आगामी दिन चुनौतीपूर्ण छन् ।
फाइल खोल्नु र हाइ–प्रोफाइल पक्राउ गर्नु सकारात्मक सुरुवात त होला, तर विधिको शासन मिचेर गरिने कतिपय क्रियाकलापले उनलाई ’शक्तिशाली’ होइन, विवादास्पद पात्रका रूपमा स्थापित गर्ने निश्चित छ ।
