News 24 Television
‘साइबर बुलिङ’ विरुद्ध कानून निर्माणको खोजीमा महिला सांसद

काठमाडौं । बालेन्द्र साहको नेतृत्वमा सरकार गठन लगत्तै पक्राउ परेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै भएको एमाले आन्दोलनमा जेन्जी युवा अमिशा पराजुली अग्रमोर्चामा थिइन् । सरकारविरुद्ध पराजुलीले गरेको नाराबाजी समाजिक सञ्जालमा भाइरल भयो । 

योसँगै उनलाई सामाजिक सञ्जालबाटै अश्लिल गाली बेइज्जती भए । अमिशा मात्र होइन, रेनुका बराललाई पनि सामाजिक सञ्जालबाट गालीबेइज्जतीको वर्षा भयो । सामाजिक सञ्जालहरुमा अश्लिलताले सीमा नाघेपछि महिला सांसदहरु कानूनी ब्यवस्था आवश्यक रहेको निश्कर्षमा पुगेका छन् । एक रिपोर्ट ।।

पछिल्लो समय सामाजिक सञ्जालबाट माहिलाहरुमाथि चरित्र हत्या हुने क्रम निकै बढेको छ । खासगरी पुराना राजनीतिक दलसँग सम्बन्धित विषयमा वकालत गर्ने महिलाहरु बढी साइबर बुलिङको शिकार बनेका छन् । 

एमाले, कांग्रेस वा नेपाली कम्युनिस्ट पार्टीको पक्षधरता लिने जोकोही महिलाहरुमाथि अश्लिल गाली बेइज्जती र चरित्र हत्या हुने गरेको छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक आन्दोलनमा उत्रिएकी अमिशा पराजुली साइबर बुलिङको सबै भन्दा नराम्रो शिकार भइन् । सामाजिक सञ्जालबाट आफ्नो चरित्रहत्या गर्नेहरुको प्रमाणहरु संकलन गरेर प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइन् । 

अमिशा जस्तै रेनुका बरालले पनि उस्तै लाञ्छनाहरु भोग्नु पर्यो । अमिशा र रेनुकाजस्ता किशोरीहरुको सामाजिक सञ्जाल प्लेटफर्मबाट चरित्रहत्या हुने क्रम सामान्यजस्तै बनेको छ । त्यसैले महिलाहरुमाथि साइबर आक्रमणको विरुद्ध नेकपा एमालेका महिला सांसदहरु अग्रसर बनेका छन् ।

सामाजिक सञ्जालमा मात्र सीमित नरही मानसिक उत्पीडनसम्म पुर्याउने साइबर बुलिङको कानूनी उपचार खोज्दै एमालेका दुबै सदनका महिला सांसदहरु प्रहरीको साइबर ब्यूरो पुगेर प्रशासनको ध्यानाकर्षण गराएका छन् । साईवर अपराधमा देखिएको दण्डहीनताको स्थिति कसरी अन्त्य गर्ने भन्नेमा पनि महिला सांसदहरुले चिन्ता र चासो ब्यक्त गरेका छन् । 

पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्महरूमार्फत महिलाहरू, विशेषगरी किशोरीहरू, साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणायुक्त टिप्पणीहरूका कारण मानसिक उत्पीडनको शिकार भई पीडितको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारिरहेको भन्दै ब्यूरोलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् । 

यो सँगै साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक नै आवश्यक रहेको महशुस महिला सांसदहरुले गरेका छन् । महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक कार्य नियन्त्रणका लागि कानून निर्माण अपरिहार्य भएको राष्ट्रियसभाकी उपाध्यक्ष लिलाकुमार भण्डारीको तर्क छ । 

साइबर हमलामार्फत महिलाको चरित्रमाथि प्रश्न गर्ने, हेर्न र पढ्नै नमिल्ने खालका शब्दहरुबाट प्रहार गर्ने खालको जुन अपराधिक क्रियाकलाप बढिरहेको छ यसको लागि सरकारले पनि छिट्टै सोच्ने भण्डारीको विश्वास छ ।  

सामाजिक सञ्जालहरुबाट गरिने चरित्र हत्याविरुद्ध पीडितहरुले साइबर अपराधको उजुरी दिए पनि त्यो प्रभावकारी हुन सकिरहेको छैन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नक्कली आइडी बनाएर अझ बढी अश्लिलता प्रदर्शन गरिरहेका छन् । त्यसैले साइबर अपराधीहरुलाई कानूनी कठघरामा ल्याउनु त आवश्यक छ नै । त्यसका साथै सामाजिक सञ्जालको नियमन अझ बढी आवश्यक छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update