News 24 Television
उज्यालो बागलुङ कार्यान्वयनमा, बजारैभरि बत्ती नै बत्ती

बागलुङ । बागलुङ बजारका १० ठाँउमा हाइमाष्ट प्रविधिको सडक लाईट जडान गरिएको छ । यात्रुहरुलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियान अन्तर्गत बत्ती जडान गरिएको हो । 

उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट प्रविधिका लाइट जडान गरिएको छ । सोमवार नगर प्रमुख बसन्त कुमार श्रेष्ठले लोकतान्त्रिक चोकबाट सडक बत्तीबालेर उद्घाटन गरेसँगै सबै ठाउँका बत्ती बल्न सुरु गरेका छन् । 

उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत नगरपालिकाको २३ लाख ९३ हजा ५ सय २४ र विद्युत प्राधिकरणको १२ लाख ८८ हजार ८ सय २१ गरी कुल ३६ लाख ८२ हजार तीन सय ४५ रुपैयामा बत्ती जडान गरिएको हो ।

चिप्स प्रयोग गरेर रिमोर्टबाट जुनसुकै स्थानबाट पनि एकै पटक सबै ठाउँको लाईट बाल्न तथा निभाउन सकिने र एउटा लाईटको मासिक दुई हजार सम्म विल आउन सक्ने बताइएको छ । 

यसमा नगरको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत साझेदारी रहेको छ । बजार क्षेत्रमा  जडान गरिएका १० वटा बत्ती मध्ये एक बत्ती बराबर ३ लाख ५० हजार रुपैयाँ लगानी रहेको  छ ।

बाग्लुङ नगरपालिकाका मेयरले आफ्नो घोषणापत्रमा राखेको कुरालाई कार्यान्वयन गरेकोप्रति व्यवसायीले धन्यवाद दिएका छन् । बत्तीले रातको समयमा हुने अपराधिक गतिविधि तथा चोरी डकैतीमा समेत कमी आउने स्थानीय व्यवसायीको भनाई छ । एक पोलमा ४ देखी ६ वटा २०० वाटको हाईमाष्ट बत्ती जडान गरिएको छ ।

राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यवसायीक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालका सडकमा बत्ती जडान गरिएको छ ।

बागलुङ जिल्लाको प्रवेशद्धारको रुपमा परिचित वडा नं. १ को मालढुंगा र कालिका भगवती मन्दिर, वडा नं. २ को ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पस गेट र लोकतान्त्रीक चोकमा बत्ति गरिएको हो । त्यस्तै वडा नं. ३ को चिप्लेटी वसपार्क क्षेत्र र वडा नं. ४ को आर्मी व्यारेक अगाडीको एटिएम चोक र उपल्लाचौरको नयाँबसपार्कमा बत्तीहरु जडान गरिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update