News 24 Television
राजदूतलाई सिंहदरबारमाः बालुवाटारले देखाएको सक्रियताको प्रभाव कस्तो पर्ला ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिसभा सामूहिक शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले गरेको यो भेटको चर्चा चलिरहेको छ भने विदेशी कुटनीतिज्ञले बेडरुमसम्म पहुँच राख्ने र प्रभाव पार्ने विषयलाई यसले धक्का दिन थालेको चर्चा समेत भइरहेको छ । 

नेपालको कुटनीतिक इतिहासमै प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित कार्यालयमा नेपालस्थित विभिन्न देशका दूतावास, कुटनीतिक नियोगका प्रमुखहरुसंग भेट गरे । 

यसअघि सिमित देशका कुटनीतिज्ञहरुले शीर्ष नेताहरुलाई सहजै भेट्ने गरेको विषयले आलोचना र विवाद हुने गथ्र्यो तर, यो पटक प्रधानमन्त्री शाहले सिंहदरबारमै यसरी भेटेपछि सरकारले कुटनीतिक क्षेत्रमा नयाँ शुरुवात गरेको भन्दै चर्चा शुरु भएको छ।

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूद्वारा सामूहिक शिष्टाचार भेटको क्रममा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनीहरुले भेटको क्रममा नेपाल र नेपालीको हितमा सरकारले गर्ने कामलाई समर्थन गर्ने भन्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए । 

यता, प्रधानमन्त्री शाहले सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । 

सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनको भनाई थियो । भेटको क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव सुमनराज अर्यालसहित परराष्ट्र सचिव अमृत राई लगायतका अधिकारीको उपस्थिति रहेको थियो ।

कुटनीतिक मर्यादाको प्रश्न

कमजोर कुटनीतिका कारण नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो क्रममा छ । विदेशी हस्तक्षेप भयो पनि भन्ने र निश्चित राष्ट्रका राजदूतसंगको रोचक उठबस पनि गर्ने पुरानो राजनीतिक प्रणालीमाथि प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ प्रयोगको संकेत गरेका छन् । 

यसले सकारात्मक रुपमा सञ्चा प्रवाह गरेपनि सरकारले लिने कुटनीतिक पहल, विदेश सम्बन्ध, नेपालको परराष्ट्र नीतिको वकालत र अन्तराष्ट्रिय मञ्चमा हुने उपस्थितिले थप विषय प्रष्ट पार्नेछ । तर, प्रधानमन्त्रीकोतर्फबाट भएको प्रयोगले जनतामा भने सकारात्मक ऊर्जा सिर्जना गरेको छ ।

विदेशी हस्तक्षेपदेखि सामान्य कुटनीतिक नियोगको कर्मचारीले नै नेपालमा अनेक आतंक सिर्जना गरिदिने आरोप लाग्ने गरेको बेला यो प्रयास व्यवहारमै आएमा भने यसले ठूलो सन्देश दिनेछ । तर, व्यवहारिक कुटनीतिक उपस्थिति देखाउन नसकेमा भने यसले खतराको विजारोपण पनि नगर्ला भन्न सकिन्न । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update