बाजुरा । बाजुराको मार्तडी कोल्टि सडक शिलान्यास भएको २६ वर्ष पुग्दा समेत निर्माण कार्य पुरा हुन सकेको छैन । सडक राम्रो नहँुदा साना तथा ठूलो दुरिका सवारी साधन राम्रोसँग चल्न पाएका छैनन् । अझ बर्खायाममा त जीप व्यावसायीहरुले यात्रुहरूबाट दोब्बर तेब्बर भाडा असुल्ने गरेका छन् ।
शिलान्यास भएको २६ वर्ष पुग्दा समेत बाजुराको मार्तडी कोल्टि सडक अझै अलपत्र छ । बाजुराको पुर्वीउत्तरी क्षेत्रका लागि तत्कालीन जिल्ला विकास समितिले चार वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ २०५६ फाल्गुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले सडकको शिलान्यास गरेका थिए ।
मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । प्रदेश संरचना बनेलगत्तै यो सडक सुदुरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा परेको थियो ।
मार्तडी कोल्टी सडक निर्माण कार्यको जिम्मा पाएको बानियाँ निर्माण सेवा प्रालि बागमती प्रदेशका हालका मुख्य मन्त्री ईन्द्र बहादुर बानियाँको हो । उनकै नाममा रहेको बानियाँ निर्माण सेवा प्रालिले मार्तडी कोल्टी सडक २६ किलोमिटरको निर्माणको जिम्मा लिएको सडक हालसम्म अलपत्र अवस्थामा छ ।
मार्तडी कोल्टी सडक निर्माणका लागि २०७६\२०७७ असारबाट सडक कालोपत्र गर्ने भनी ढम्कनेदेखि चुथि ६ किलोमिटर र चुथिदेखि कोल्टीसम्म २६ किलोमिटर २०८० असार भित्र सम्पन्न गर्ने गरि बानियाँ निर्माण सेवाले जिम्मा लिएको थियो ।
चुथिदेखि ढम्कनेसम्मका लागि ६ किलोमिटर सडक निर्माणका लागि पहिला नै सम्झौता भएको तीन वर्ष भित्र कालोपत्रे गरि सक्ने गरी १२ करोड ११ लाख ६७ हजारमा सम्झौता भएको थियो ।
चुथि देखि कोल्टिसम्म २६ किलोमिटर सडक निर्माणका लागि २०७७\३\२९ गते ५० करोड १७ लाखमा ठेक्का पाएर कम्पनीले २६ किलोमिटर सडक सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरि ठेक्काको जिम्मा लिएको थियो ।
चुथि, ढम्कने र ढम्कने चुथि कोल्टीसम्मको काम सम्झौता भित्र सम्पन गर्न नसकेपछि कार्यालयले पटकपटक म्याद थपको सम्झौता गर्दै आएको छ । म्याद थप गरेपनि यो आर्थिक वर्षको चैत तेस्रो साता वितिसक्दा समेत काम सुरू भएको छैन ।
गत आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन भएको थियो । तर काम नगरेपछि १३ करोड ५० लाख बढी रकम फिर्ता भयो । यो आर्थिक वर्षका लागि उक्त सडक निर्माण कार्यका लागि २० करोड रुपैयाँ बजेट आएको छ । यो आर्थिक वर्षमा पनि ठेकेदारले काम गरेरन् भने २० करोड रकम फिर्ता जानेछ ।
मुख्य ठेकेदार ईन्द्र बानियाँ र ऋषि बानियाँले काम गर्नु भनेर आदेश दिने तर रकम नदिने गरेको कारण समस्या भएको बताउदै नापी कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज शिवराज चलाउने बताउँछन् ।
मार्तडी कोल्टी सडक २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड विनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथीसम्म ९ किलोमिटरको काम भइसकेको छ ।
चुथीदेखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी छ । सम्पुरक अनुदानको बजेटबाट यो सडकको लागी ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको लगानी रहेको छ ।
मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन पिसमा टेन्डर भएको सुदुरपश्चिम प्रदेश पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
