काठमाडौं । माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा बादल यतिबेला नेकपा एमाले भित्र शक्तिशाली भूमिकामा उभिँदा पार्टीभित्र हलचल मच्चिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका बादलका पछिल्ला अभिव्यक्ति र आक्रामक शैलीले आलोचना र समर्थन दुबै बटुलेको छ । तर यसले एमालेभित्र नेतृत्व, रणनीति र भविष्यबारे गम्भीर प्रश्न उठाएको छ भने विगतमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका बादल एमालेमा कार्यवाहक अध्यक्ष र संसदीय दलको भूमिकामा पुग्दा कतिपय एमाले नेताहरुलाई खपिनसक्नु भएको छ ।
१० बर्षे जनयुद्धका योजनाकार तथा सैन्य कमाण्डर मध्येका एक, रामबहादुर थापा “बादल” यतिबेला नेकपा एमालेको कमाण्डर बनेका छन् । अर्थात् अझ भनौँ अहिले एमालेको तालाचावी उनकै हातमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओली राजनीतिक मुद्दाको झमेलामा पर्दा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको भुमिकामा छन् बादल ।
बादलका पछिल्ला अस्वभाविक अभिव्यक्तिले उनी चर्चा र आलोचनाको तारोमा पनि परेका छन् । सिंगो एमाले पार्टीपंक्तीमा नै उनका गतिविधिले हलचल ल्याएको छ । सुरुमा उनका पछिल्ला दुई विबादित अभिव्यक्ति बारे चर्चा गरौँ ।
बादलको पहिलो अभिव्यक्ति थियो, नयाँ जनादेश अनुसार चैत १९ मा बसेको प्रतिनिभिसभा बैठकमा गरेको सम्वोधन र दोस्रो अभिव्यक्ति हो, बुधबार पोखरा भएको कार्यक्रमको दौरानकोे ।
सदनमा दिएको अभिव्यक्तीको चौतर्फी आलोचना भएपछि गत शुक्रबारको सचिवालय बैठकमार्फत एमालेको आधिकारिक धारणा होइन भन्दै हतार हतार सच्चाइएको थियो । त्यति मात्रै होइन् बादललाई पदीय जिम्मेवारीबाट हटाउनुपर्नेसम्मका बहस एमाले भित्र नगर्माएका होइनन् । तर बहुमत सचिवालय सदस्यको साथ पाएका बादललाई कसैले हल्लाउन सकेन ।
ओलीको रक्षा कवज बादल
बुधबार पोखराको कार्यक्रममा दिएको बादलको अर्काे अभिव्यक्तीले उनी ओलीको रक्षा कवज बनेको स्पष्ट छ । उक्त अभिव्यक्तीले पार्टी भित्र र बाहिर दुबै तीर प्रहार गरेको देखिन्छ ।
ओली पार्टी भित्र नैतिक र राजनीतिक संकटमा परेका बेला उनी ओलीका लागि रामको साथमा हनुमान झैँ उभिएका छन् । जसरी जेनजी आन्दोलन पछि सचिव महेश बस्नेत ओलीका रक्षा कवज थिए । टिचिङ हस्पिटलको वार्ड नम्बर ५०१ को आदेशबाट संसदीय दलको नेता बनेका बादल ओलीको रक्षार्थ उभिनु स्वभाविक हो ।
बादलको आक्रमकताको ब्याकफायर !
जेनजी आन्दोलनमा मारिएका विद्यार्थीको आरोपको भार टाउकोमा बोकेर फागुन २१ को चुनावमा नराम्ररी पछारिएको एमाले अहिलेकै परिस्थितिमा उठ्ने संकेत देखिन्न ।
अध्यक्ष ओलीको हठ र जिद्दीले ओरालो यात्राको कमजोर मोडमा आइपुगेको एमाले रि–ब्रान्डिङ गर्नुपर्ने देखिन्छ । तर नेतृत्वले न आत्मालोचनाको महसुस गरेको छ न कुनै पश्चाताप् । आम नागरिकमा एमाले प्रति देखिएको वितृष्णाले पार्टी भित्र नेतृत्व परिर्वतन सहित विशेष महाधिवेशनको स्वर गर्माएका छन् । तर बादलको आक्रमकता थप बढ्दो छ ।
नागरिकको एमाले प्रतिको विश्वास टुट्दै गएको देखिएको स्वयम् युवा नेताहरु स्वीकार गर्छन् । सकिने कि सच्चिने भन्ने अवस्थामा पुगेको एमालेको डाडुपुन्यूँ माओवादी पृष्ठभुमिका बादलको हातमा पुग्नुले पनि एमालेमा उकुसमुकुसको अवस्था सिर्जना भएको छ । उपमहासचिव योगेश भट्टराईले सामाजिक संजाल मार्फत् गरेको टिप्पणीले पुष्टि गर्छ ।
त्यसैमा बादलका घातक र मिसाइल अभिव्यक्तिले एमालेको साख ओझेलमा पर्ने निश्चित देखिन्छ । तत्कालिन माओवादीमा रहँदा पुष्पकमल दाहाल प्रचण्डको टाउको दुखाईको कारण बन्ने गरेका बादल यतिबेला एमालेमा त्यही भूमिका र अवस्थामा छन् ।
बादलको विगत कस्तो ?
तत्कालिन १० बर्षे शशस्त्र जनयुद्धका योजनकार तथा सैन्य कमाण्डर मध्यएका बादल विद्रोही नेताका रुपमा चिचिन्छन् । पार्टी भित्र नेतृत्वलाई तँगारो हाल्ने र जाल छोप्न माहिर खेलाडीका कला उनमा छ ।
माओवादीमा रहँदा प्रचण्डसँग जुहारी खेल्दै पार्टीबाट विद्रोह गरेका थिए । पछि पुनः माओवादी कित्तामा फर्किएका बादल २०७४ मा एमालेसंगको एकतापछि बनेको नेकपाका नेता ओली नेतृत्वको सरकारका गृहमन्त्री पनि थिए । ओली र प्रचण्ड बीच शक्तिको लुछाचुडी भयो र त्यसपछि बादल एमालेको कित्तामा जोडिएका हुन् ।
ओलीको भरपुर मन जितेका उनी अहिले पार्टी कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनेका छन् । समानुपातिक सांसद हुँदै प्रतिनिधिसभा सदस्यमा कमब्याक गरेका बादलले यतिबेला एमालेमा हलचल पैदा गरिदिएका छन् । यस्तो अवस्थामा प्रचण्डले थेक्न नसकेका बादललाई एमालेले कसरी थेग्ला त्यो भने हेर्न बाँकी छ ।
