News 24 Television
ठेकेदारको दादागिरीले सडक अलपत्र, जिम्मेवार निकायको जवाफमा स्थानीय दुखी

सप्तरी । सप्तरीको सदरमुकाम राजविराजलाई पूर्वका राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । तर यो सडक अझै निर्माण हुन सकेको छैन । ठेक्का लागेर पनि यो सडक निर्माण अलपत्र रहँदा सुगम तराईमा पनि यात्रुहरू दुर्गमको दुःख पाउन बाध्य बनेका छन् । यद्यपी सरोकारवाला निकायले यसमा गम्भीरता देखाएको छैन् । 

सप्तरीवासीको लागि अति महत्त्वपूर्ण सडक हो राजविराज–भारदह सडक । राजविराजस्थित अस्पतालमा उपचार पाउन नसकेका अति संवेदनशील अवस्थाका बिरामीलाई यही बाटो हुँदै नजिकको सुविधाजनक अस्पतालको लागि विराटनगर, धरान पुग्नुपर्ने हुन्छ । तर यो सडकको अवस्था जर्जर हुँदा १५ किमी सडक पार्न एक देखि सवा घण्टासम्म लाग्ने गरेको छ। २०७९ असारमै यो सडकको ठेक्का लागेपछि आवतजावत सहज हुने जनअपेक्षा थियो। तर साढे तीन बर्षमा ३० प्रतिशत पनि काम हुन सकेको छैन् । 

गत एक वर्षदेखि सो सडकको काम पूर्ण रूपमा अलपत्र नै छ । सडक ठप्प हुँदा सो सडक भएर जाने यात्रुहरुलाई असाध्यै समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय लहानमार्फत यस सडकको ठेक्का साह इन्जिनियरिङ कन्स्ट्रक्सन शम्भुनाथले पाएको थियो । 

२५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा सम्झौता भएको सो काम २०८१ असारसम्म सम्म सम्पन्न हुनुपर्ने थियो । तर त्यसपछि पटक–पटक म्याद थपिँदा पनि प्रगति भएको छैन । अन्तिम पटक थपिएको म्याद पनि यही चैतमा सम्पन्न हुन लाग्दा समेत काममा ठेकेदार कम्पनीले चासो दिएको छैन् । 

सडक डिभिजन कार्यालय लहानका तथ्याङ्क अनुसार ३० प्रतिशत भौतिक प्रगति भएको काममा २५ प्रतिशत भुक्तानी गरिएको छ । पटकपटक काम गर्न ताकेता गरिए पनि ठेकेदार कम्पनीले लापरबाही गर्दै आएको कार्यालयको भनाई छ ।

कार्यालयले यसअघि ठेकेदार कम्पनीलाई स्पष्टीकरण पनि सोध्दै आएको छ । तर कारबाही अघि बढाइएको छैन् । यस्तो वेथितिबारे प्रश्न गर्दा सडक डिभिजन कार्यालय भने ठेक्का रद्द गर्ने जिकिरबाहेक गर्न सक्दैन् ।

अहिले सडकमा थुपारेर राखिएको ग्राभेल सडकमा मिलाउने कार्य भइरहेको छ । पहिलाको जिर्ण कालोपत्रे माथि नै ग्राभेल राख्न थालिएको छ । ठेकेदार कम्पनीले प्रमुख जिल्ला अधिकारीले सडकमा थुपारेर राखिएकोले ग्राभेल मिलाउन भनेपछि अहिले त्यति मात्र गर्दै आएको ठेकेदार कम्पनीका प्रोप्रराइटर संजिव साह बताउँछन् । 

सप्तरी जिल्लाकै लागि अति महत्त्वपूर्ण उक्त सडक बन्न यति समय लाग्नुले जिम्मेवारी निकायको लापरबाही दर्शाउँछ । यसप्रति सरोकारवाला निकाय गम्भीर हुनु आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update