काठमाडौं । उपसभामुख चयनमा दुई दलबीचको विवाद चर्किएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको दुई ध्रुब प्रष्ट ढंगले अघि बढेको संकेत देखा परेका छन भने पार्टी सभापति रवि लामिछानेले दिएको वचन नै पुरा नभएको अभिव्यक्तिले तरङ्ग पैदा गरिदिएको छ । किन यस्तो हुन पुग्यो ? राप्रपा किन उपसभामुखमा सहकार्यका निम्ति अघि स¥यो ? तमाम प्रश्नहरु पेचिला बनेका छन् ।
उपसभामुखमा अन्ततः श्रम संस्कृति पार्टीले विजय प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतले समर्थन गरेपछि श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित भइन् । तर, यो क्रम भने पूर्णतः राजनीतिक दाउपेचमा अल्झिएको देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुखमा अघि सारिएकी सरस्वती लामाले पराजय व्यहोरिन । यस्तोमा राप्रपाले भनिरहेको छ, धोका भयो । राजनीतिक धोकाधडी भयो । रास्वपा सभापति रवि लामिछानेले नै उम्मेदवारी मनोनयनका लागि आग्रह गरेपछि अघि बढेका हौं ।
राप्रपाले राजनीतिक धोकाधडीको आरोप लगाएपनि राष्ट्रिय स्वतन्त्र पार्टी रक्षात्मक बन्न पुगेको छ । राप्रपाको आरोपलाई अन्य सहकार्यको प्रस्ताव गरिरहेको छ । आगामी राजनीतिक सहकार्य गर्न सकिने जवाफ दिइरहेको छ।
दुई दलबीचको सहकार्य कसरी टुट्यो ? के कारण रविले श्रम संस्कृतिलाई समर्थन गर्ने अवस्था बन्यो ? अनेक चर्चा चलिरहेको बेला प्रधानमन्त्री समेत रहेका रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले हस्तक्षेप गरेको चर्चा चलिरहेको छ । वालेनले श्रम संस्कृतिलाई नै उपसभामुख दिन चाहेपछि रविले आफ्नो वचनलाई ब्याक लिनुपर्ने स्थिति बनेको बताइन्छ । उसोतः रविले राजावादीसंगको हिमचिम बढाएको र वालेनले यसलाई अस्वीकार गरेको रुपमा समेत अर्थ लगाउनुपर्ने भनिरहेका छन् । जुन कुराको संकेत संसदमा राप्रपाका ज्ञानबहादुर शाहीले पनि गरेका छन् ।
यसरी संसदमा चलेको रोचक दृश्यले पनि राजनीतिक रुपमा रास्वपाभित्रको आन्तरिक द्वन्द्ध बढेको त होइन भन्ने चर्चा चलिरहेको छ। तर, संसदीय राजनीतिमा यो विषयलाई सामान्य रुपमा नै लिनुपर्ने बताउने गरिन्छ ।
उपसभामुखमा जेनजी रुबीकुमारी
उपसभामुखमा २५ वर्षीया रुबीकुमारी ठाकुरले विजय प्राप्त गरिन् । उपसभामुखजस्तो गम्भिर जिम्मेवारीमा पुगेकी रुबीले संवैधानिक परिषद्को सदस्यको रुपमा विभिन्न संवैधानिक नियुक्तिमा समेत सहभागीता जनाउनेछिन् ।
उनी आफैले पनि सानो उमेरमा ठूलो जिम्मेवारी प्राप्त भएको भन्दै यसलाई बहन गर्ने भनेकी छन्। उनको कार्यकाल कसरी अघि बढ्ला ? उपसभामुखको जिम्मेवारी कसरी निर्वाह गर्लिन ? यस्ता तमाम प्रश्न भएपनि जेनजी उमेरकी रुबीले पाएको जिम्मेवारीले युवा पुस्ताको माग सम्बोधन भने गरेको छ । तर, जिम्मेवारी निर्वाहले यसको सार्थकता भने थप प्रष्ट हुनेछ ।
संसद अधिवेशन अन्त्य
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि अन्त्य गरेका छन् । निर्वाचनपछिको पहिलो संसद बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले कुनै सम्बोधन भने गरेनन् । सरकारका तर्फबाट संसदलाई कुनै सम्बोधन नै नगरि सकिएको संसद बैठकको बजेट अधिवेशनको तयारी तीब्र गतिमा अघि बढेको बताइएको छ ।
